मध्यपहाडी लोकमार्गको काममा ढिलाइ ५४ प्रतिशत मात्र काम सकियो

काठमाडौं जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ ।

तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको काम अहिलेसम्म ५४ प्रतिशत मात्रै सकिएको छ ।

जब कि सुरुमा ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगेको छ । वर्ष ०६४र६५ मा सुरु भएको आयोजना ०७३र७४ मा सक्ने सुरुवाती लक्ष्य थियो ।

तर, निर्माणमा ढिलाइ भएपछि ६ वर्ष म्याद थपेर ०७९र८० निर्माण सक्ने भनिएको छ । तर, म्याद थपिएको तीन वर्षमा पनि कामले तीव्र गति समातेको छैन । त्यसैले

आगामी तीन वर्षमा आयोजना सम्पन्न हुने लक्षण छैन । आयोजना सुरु गर्दा कुल लागत ३३ अर्ब ३६ करोड लाग्ने अनुमान गरिएको थियो ।

तर, आर्थिक वर्ष ०७०र७१ मा आयोजनाको रेखांकन परिवर्तन गरियो । त्यसपछि लागत बढेर अहिले एक खर्ब एक अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

पहिले सिन्धुलीको खुर्कोटदेखि पोखरासम्म सञ्चालनमा रहेकै राजमार्ग प्रयोग गर्ने भनिएको थियो । तर, पछि रुट परिवर्तन गरेर ओखलढुंगाबाट रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ हुँदै पोखरा जोड्ने नयाँ रेखांकन भयो ।

त्यस्तै, अन्य जिल्लामा पनि सानातिना रेखांकन परिवर्तन भएको सडक विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले बताए । ‘झन्डै चार सय किलोमिटर नयाँ सडक निर्माण गर्नुपर्दा लागत बढेको हो । आयोजना ढिलाइले लागत थोरै मात्र बढेको हो,’ उनले भने ।

धुलिखेलदेखि पोखरासम्म हाल सञ्चालनमा रहेको राजमार्गलाई नै मध्यपहाडी राजमार्गका रूपमा प्रयोग गर्दा काठमाडौंमा ट्राफिक जाम अझ बढ्ने र झन् अव्यवस्थित हुने भन्दै सरकारले रुट परिवर्तन गरेको हो ।

त्यस्तै, अर्को कारण राजमार्गलाई धेरै पहाडी जिल्लासँग सञ्जाल विस्तार गर्न पनि रुट परिवर्तन गरिएको थियो ।

ओखलढुंगा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोटलगायतका २२ सांसदले तत्कालीन विकास समिति, भौतिक पूर्वाधार मन्त्रालय, राष्ट्रिय योजना आयोगमा पैरवी गरेका थिए । त्यसैले यो राजमार्ग ती जिल्लामा समेत पारिएको हो ।

थालनीमा १७ सय ७६ किलोमिटर भनिएको आयोजनाको लम्बाइ अहिले १८ सय ७९ किलोमिटर पुगेको छ । रुट परिवर्तन गर्दै जाने हो भने आयोजनाको लम्बाइ अझै बढ्नेछ ।

अहिले पनि लमजुङको सुन्दर बजार र बेंसीसहर, कास्की र लमजुङको सीमा जोडिने हेम्जा क्षेत्रलगायतमा समस्या रहेको छ ।

२०८० मा सम्पन्न हुने टुंगो छैन

थपिएको म्यादअनुसार आयोजना ०८० मा सम्पन्न गर्ने लक्ष्य छ । तर, अहिलेसम्मको प्रगति विवरण हेर्दा तोकिएको समयमा आयोजना सम्पन्न हुने देखिँदैन ।

आयोजना निर्माण थालिएको १२ वर्ष पूरा भइसकेको छ र अहिलेसम्म ५४ प्रतिशत मात्र प्रगति भएको छ । विभागका अनुसार बढीमा तोकिएको समयावधिभन्दा १ वर्ष थप हुन सक्नेछ ।

आयोजना निर्देशनालयले भने अपवादबाहेक तोकिएको समयमा आयोजना सम्पन्न हुने दाबी गरेको छ । आयोजना समयमा सम्पन्न हुन मुख्य दुई चुनौती छन् ।

पहिलो, पूर्वदेखि पश्चिमसम्म सडकको विषयमा मुआब्जा नै वितरण भएको छैन । धादिङ, लमजुङ, कास्कीजस्ता जिल्लामा यस्तो समस्या देखिएको छ ।

स्थानीय तहमा देखिएका समस्या समयमा समाधान नभए आयोजना तोकिएको समयमा पूरा हुनेछैन । दोस्रो, मध्यपहाडी राजमार्गको दुई ठाउँमा जलाशययुक्त आयोजना निर्माण गर्ने भनिएको छ ।

बुढीगण्डकी आयोजना र सुनकोसी जलविद्युत् आयोजना निर्माण भएमा राजमार्गका लागि रेखांकन गरिएको ठाउँ डुबानमा पर्नेछ ।

यसले पनि आयोजना सम्पन्न हुन ढिलाइ हुनेछ । तर, अहिलेसम्म यी जलविद्युत् आयोजना बन्ने–नबन्ने, कत्रो बन्ने भन्ने अनिश्चित छ । जलाशययुक्त ती जलविद्युत् आयोजना निर्माण प्रक्रियामा लैजानेबारे अहिलेसम्म सरकार अनिर्णीत छ ।

सडक विभागले भने सुनकोसीमा जलाशय रहने ठाउँभन्दा सडक केही माथि नै रहने गरी रेखांकन गरेको छ । तर, बुढीगण्डकीमा भने १५ किलोमिटरजति डुबान क्षेत्रमा पर्ने देखिएको छ । त्यसको समाधान निकाल्न ढिलाइ भइसकेको छ ।

आयोजनामा १२३ ठेक्का चालू अवस्थामा

अहिले आयोजनासँग एक सय २३ ठेक्का कार्यान्वयनमा रहेका छन् । यीमध्ये ६७ ठेक्काको म्याद सार्वजनिक खरिद नियमावली नै संशोधन गरेर थपिएको हो । १६ ठेक्का भने रुग्ण अवस्थामा छन् ।

चालू आवमा तीन सय किलोमिटर कालोपत्रे र १५ पुल सक्ने लक्ष्य

चालू आर्थिक वर्षमा तीन सय किलोमिटर सडक कालोपत्रे गर्ने र १५ वटा पुल निर्माण सक्ने लक्ष्य निर्धारण गरिएको छ । त्यसका लागि १२ अर्ब ३२ करोड खर्च लाग्ने अनुमान छ । चालू वर्षका लागि अपुग बजेट माग गर्ने निर्देशनालयको तयारी छ ।

निर्देशनालयका अनुसार विनियोजित बजेट खर्च गर्नेबित्तिकै थप रकम उपलब्ध गराउने अर्थ मन्त्रालयले प्रतिबद्धता गरेको छ । त्यस्तै, आगामी आर्थिक वर्षहरू ९०७८र७९ र ७९र८००मा कुल ६ सय ६६ किलोमिटर कालोपत्रे गर्ने र ३१ पुल निर्माण सक्ने योजना छ ।

गत आर्थिक वर्ष ०७६र७७ मा पनि आयोजनाले साढे तीन सय किलोमिटर कालोपत्रे गर्ने र १६ वटा पुल सम्पन्न गर्ने लक्ष्य थियो । तर, वर्षको अन्त्यमा एक सय सय १२ किलोमिटर कालोपत्रे भयो भने १५ वटा पुल सम्पन्न भए ।

आयोजना ढिलाइ किन ?

मध्यपहाडी राजमार्गका कैयौँ ठाउँमा अहिले पनि जग्गा अधिग्रहण हुन सकेको छैन । त्यस्तै, लोकमार्गकै रेखांकनमा पर्ने वैदेशिक सहायताका अन्य सडकमा भने मुआब्जा वितरण गरिएको छ । सँगै जोडिएका दुई कित्तामध्ये एउटाको मुआब्जा वितरण भएको छ भने अर्काको भएको छैन ।

त्यस्तै, बजार क्षेत्रबाट सडक लैजानुपर्ने अवस्थामा घर भत्काउन तथा जग्गा उपलब्ध गराउन समस्या भएको छ । लमजुङको सुन्दर बजार, भोर्लेटार र रामबजार, धदिङको कटुन्जे र सेमजोङ क्षेत्रलगायतमा यो विवाद छ । जग्गा प्राप्तिको प्रक्रिया पूरा नगरी ठेक्का व्यवस्थापन गर्न नमिल्ने कानुनी प्रावधान छ ।

तर, मुआब्जा वितरणका लागि यथेष्ट बजेट नभएको हुँदा जग्गा प्राप्ति र साइट क्लियर हुन नसकी ठेक्का व्यवस्थापनमा कठिनाइ भएको छ । ‘त्यस्तै, रूख कटानको प्रक्रिया लामो र झन्झटिलो भएको छ । विद्युत्का पोल, खानेपानीका पाइप व्यवस्थापनमा सम्बन्धित निकायले सहयोग नगर्दा पनि निर्माणमा ढिलाइमा भएको हो,’ सडक विभागका उपमहानिर्देशक नेपाल भन्छन् ।

धेरै ढिला भयो, तर ०८० सम्म बन्छ- शिवप्रसाद नेपाल उपमहानिर्देश कसडक विभाग

आयोजना धेरै ढिला भइसकेको छ । मुख्यतः पूर्वनिर्धारित रेखांकन परिवर्तन भएकाले आयोजनाको लागत वृद्धि भएको हो । पहिले एक हजार सात सय किलोमिटर रहेको सडक अहिले झन्डै एक हजार नौ सय किलोमिटर पुगेको छ ।

समयमा काम सम्पन्न नहुँदा मूल्यवृद्धिका कारण पनि लागत वृद्धि भएको हो ।

स्थानीय इस्युले पनि ढिलाइ भएको हो, स्रोतको अभाव पनि भएको हो । केही ठाउँमा ठेकेदारको कमजोरी पनि भयो । ढिलाइ जेसुकै कारणले भएको होस्, अब तोकिएकै समयमा सम्पन्न गर्नुपर्नेछ । तर, अझै दुई सय ३५ किलोमिटरजतिको ठेक्का लाग्न नै बाँकी छ । ०७८ पुससम्ममा सबै ठाउँमा ठेक्का सम्पन्न भयो भने ०८० को मध्यसम्ममा आयोजना सम्पन्न हुनेछ । तर, यसका लागि सबै पक्षले उत्तिकै महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ ।

जाजरकोटमा मध्यपहाडी लोकमार्गका तीन पुल आठ

वर्षदेखि अलपत्र, लमजुङमा नौ किलोमिटर सडक सर्भेसमेत भएन जाजरकोटरमध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटमा भेरी नदीको पुल आठ वर्षदेखि अलपत्र छ । ठेकेदारको लापरबाहीले रुकुम पश्चिमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने पुलको जगसमेत पूरा भएको छैन ।

अन्य दुई पुल पनि अलपत्र भएकाले यातायात सञ्चालन हुन सकेको छैन । तीन वर्षभित्र पुल निर्माण सक्ने गरी वाइपी कन्स्ट्रक्सन, ललितपुरले मध्यपहाडी आयोजना कार्यालयसँग ०६९ सालमा सम्झौता गरेको थियो । १३ करोड ४७ लाख रुपैयाँको लागतमा निर्माणाधीन पुलको अहिलेसम्म टावर जगसमेत पूरा भएको छैन ।

पुल निर्माण नहुँदा रुकुम र जाजरकोट सडक सञ्जालमा जोडिन सकेका छैनन् भने स्थानीय झोलुंगेपुलबाट आवतजावत गर्न बाध्य छन् । पुल निर्माणका लागि ल्याएका एक्स्काभेटर, टिपर, मिक्स्चरलगायत मेसिन निर्माणस्थलवरिपरि अलपत्र अवस्थामा छन् ।

गत आर्थिक वर्षमा ठेकेदार नै नदेखिएको भेरी नगरपालिका– १३ का वडाध्यक्ष गोपाल बटालाले बताए । म्याद पटकपटक थपिए पनि पुल निर्माण नभएको मध्यपहाडी लोकमार्ग, योजना कार्यालय दैलेखले जनाएको छ ।

कार्यालयका अनुसार चौरजहारीतर्फ पिलर तथा फाउन्डेसनको काम पूरा भए पनि कुदुतर्फको काम अझै हुन सकेको छैन ।

लोकमार्गअन्तर्गतकै कुदुदेखि दैलेखको सुयाँडा–जाजरकोटखण्डको छेडागाड थलहलगायत खोलाका पुल पनि अलपत्र परेको आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङखण्डमा करिब नौ किलोमिटर सडकको भविष्य अन्योलमा छ ।

जिल्लामा पर्ने ४५ किलोमिटर सडकमध्ये सुन्दर बजारमा आठ किलोमिटर र मध्यनेपालको एक किलोमिटर सडकखण्डमा आयोजना र स्थानीयबीच सहमति हुन नसकेकोले सर्भेसमेत भएको छैन । जिल्लाभित्र पर्ने लोकमार्गको ३६ किलोमिटर सडकको निर्माण

भइरहे पनि सुन्दर बजार र भोर्लेटार क्षेत्रमा विवाद समाधान भएको छैन । लमजुङमा ०७२ बाट निर्माणकार्य सुरु भएको मध्यपहाडी लोकमार्गमा हालसम्म ४५ किलोमिटर सडकखण्डमध्ये ३६ किलोमिटर सडकको ५० प्रतिशत काम सकिएको छ । सुन्दर बजार संघर्ष समितिका संयोजक

उत्तम गुरुङले अहिलेको सडकबाट लोकमार्ग बनाउन नदिने बताए । ‘लोकमार्गको मापदण्डअनुसार दायाँबायाँ ३१–३१ मिटर फराकिलो बनाएमा बजार ध्वस्त हुन्छ, विकासका नाममा बस्ती उठाउन पाइँदैन,’ उनले भने । लोकमार्गको मापदण्ड लागू गरिए सार्वजनिक संरचनासहित आठ सय १३ घर विस्थापित हुनेछन् ।

सुन्दर बजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले बस्तीभित्र सडक पार्न खोजिएकाले सहमति नभएको बताए । नगरसभाले मानवबस्ती नभएको पाउँदी खोलाको तीरैतीर सडक निर्माण गर्न सुझाब दिएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजना गोरखाका प्रमुख रामबहादुर गुरुङका अनुसार लोकमार्गअन्तर्गत लमजुङमा पर्ने चेपेनदी–पाउँदीखण्डमा कालोपत्रे भइसकेको छ ।

पटकपटक म्याद थप्दा कामै नगरी समय गुजार्दै ठेकेदार

लोकमार्गको एक सय ४२ किलोमिटर सडक बाग्लुङमा पर्छ । जसमध्ये जिल्लाको पश्चिम खण्डमा सडक कालोपत्रे भएर सवारी आवागमन सहज भएको छ । तर, सदरमुकामसँग जोडिएकै घोडाबाँधेतर्फको २५ किलोमिटर सडक कालोपत्रे नहुँदा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएर यात्रा गर्नुपर्ने बाध्यता छ ।

बुर्तिबाङबाट ६७ किलोमिटर सडक दुई घन्टामा पार गरेर घोडाबाँधेसम्म आएका सवारीसाधनलाई त्यहाँबाट २५ किलोमिटरको दूरी पार गर्न थप दुई घन्टा सास्ती व्यहोर्नुपर्छ ।

लोकमार्गको बाग्लुङ बजारदेखि–अक्षेतेखण्डको १३ किलोमिटर सडक सिद्धिसाई कन्स्ट्रक्सन र अक्षेतेदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर

सडक सूर्य कन्स्ट्रक्सनले निर्माण जिम्मा लिएका थिए । तर, दुवै कम्पनीले पटक–पटक म्याद थप गर्दै कामै नगरी समय गुजार्दै आएका छन् ।

दैनिक सयौँ सवारीसाधन चल्ने र हजारौँ नागरिक यात्रा गर्ने सडक अलपत्र अवस्थामा हुँदा संघ, प्रदेश र स्थानीय सरकारको कुनै भूमिका नदेखिएको स्थानीय नरेन्द्र कँडेल बताउँछन् ।

‘निर्माण सुरु भएको १३ वर्ष बितिसक्यो । सडक कालोपत्र गर्ने भनेर निर्माण कम्पनीले जिम्मा लिएको पनि चार वर्ष बितिसकेछ ।

काम नहुँदा हामीले दैनिक सास्ती व्यहोर्नुपरेको छ,’ कँडेलले भने, ‘हामीले हरेक निकायमा गुनासो गरेका छौँ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय