मुसिकोट गुल्मी, यस वर्ष पनि वामीटक्सारमा कृष्णजन्माष्टमी मेला धुमधामसङ्ग मनाइने भएको छ । कृष्णजन्माष्टमीको भोलिपल्ट अर्थात यसपाली भदौ १ गतेको जन्माष्टमी मेलाको लागि तयारीमा जुटेको नेवा वर्जु पुचका अध्यक्ष मोहनलाल श्रेष्ठले बताउनुभयो ।
जस अन्तरगत बजार परिक्रमा गरि बिभिन्न रोचक दृश्यहरु प्रर्दशन गरिने छ । बजार परिक्रमा गर्दा ३ वटा रथहरु सँगसँगै परिक्रमा गराइनेछ । जसमा श्रीकृष्ण राखिएको रथ, रामसिता र हनुमान राखिएको रथ,रहने रथ यात्राका संयोजक सन्तोष शाक्यले बताउनुभयो ।
ससाना बालबालिकालाइ उनीहरुको रुपको शृङ्गार गरेर रथमा राख्ने गरिन्छ ।रथयात्रामा बाजा बजाउने समुह, नेवारी र ब्राह्मण भजन, जनजातिहरुको भैलो नाच, रोपाइ जात्रा, भोटे शिलो, युगल नाच लगायतका दृश्यले वातावरण रोमान्चक बनाउने प्रचलन रहिआएको छ ।
बिं सं १७१६ देखि वामीमा जात्रा सुरु भएको जानकारहरुले बताउने गरेका छन । अहिले बिस्तारै पुस्तान्तरण भएको मेला युगौंसम्म चल्ने अपेक्षा नेवार समुदायले गरेको छ ।
यस वर्ष ३ देखि ४ हजार मानिसहरुको घुईंचो हुने अनुमान गरिएको छ ।
पहिला, १५ देखि १६ हजार मानिसहरुको उपस्थिति हुने भएपनि पछिल्ला वर्षमा त्यो सङ्ख्या व्ह्यात्तै घटेको बताउने गरेको पाइन्छ।
सोहि दिन वामीटक्सारको परुवादेखि पल्टारसम्म रथ यात्रासङ्गै पूजा गरि विभिन्न झाँकिहरु प्रस्तुत गरेर मेला सम्पन्न गर्ने गरिन्छ ।
नेवार समुदायको जात्रा गठेमङ्गलदेखि सुरु भएर कृष्णजन्माष्टमीको जात्रा सन्चालन गरेपछि जात्रा समापन हुने गरेको पाइन्छ ।
गठेमङ्गलको दिन लाखे निकाली कृष्णजन्माष्टमीको भोलिपल्ट त्यसको अन्त्य भएपछि बिधिवत रुपमा समापन गर्ने गरिन्छ ।