कृष्णहरि रुद्रावती सापकोटा आँखा उपचार केन्द्रबाट एक वर्षमा झण्डै ३ हजार बिरामी लाभान्वित 

 

 

बिष्णुप्रसाद आचार्य, चकित

मुसिकोट गुल्मी,

 

कृष्णहरि रुद्रावति सापकोटा आँखा उपचार केन्द्र मुसिकोट नगरपालिका ७ वामीटक्सार गुल्मीबाट एक वर्षमा दुइ हजार, छ सय अडतिस जना आँखाका बिरामी लाभान्वित भएका छन ।

आर्थिक वर्ष २०८१/८२ को साउनदेखि असार मसान्तसम्म दुइ हजार छ सय अडतिस जनाले सेवा लिएको उपचार केन्द्रका अपथाल्मिक टेक्निसियन दिपेन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।

 

बिं सं २०६९ सालदेखि सेवा दिन सुरु गरेको आँखा उपचार केन्द्रमा गुल्मीको मुसिकोट नगरपालिका, चन्द्रकोट गाउँपालिका, बाग्लुङ्गको बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, र गल्कोट नगरपालिकाबाट सेवाग्राही आउने गरेको कार्यालयमा कार्यरत मन बहादुर रानाले जानकारी दिनुभयो ।

आँखा उपचार केन्द्रमा दैनिक चौबिसै घण्टा आकस्मिक सेवा प्रवाह भैरहेको र नियमित रुपमा बिरामी चेकजाँच, औषधी तथा चस्मा वितरण र आवश्यक परामर्श सेवा प्रदान गर्दै आइरहेको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा फागुन महिनाको ४ र ५ गते निशुल्क आँखा उपचार शिविर सन्चालन भएको थियो जसमा २०७ जनाले सेवा लिएकोमा ३४ जनाको सफल शल्यक्रिया गरी औषधी र चस्मा निशुल्क वितरणसमेत गरिएको साथै विविध कारणले ७ जनालाइ अन्यत्र रेफर गरिएको बताइएको छ ।

गत आर्थिक वर्षमा मुसिकोट नगरपालिका भित्रका विद्यार्थीको आँखा चेकजाँच, नगरपालिका भित्रका प्रत्येक विद्यालयका प्रतिनिधि शिक्षकलाइ आँखा चेकजाँच सम्बधि तालिमसमेत दिइएको उपचार केन्द्रका सन्चालन समितिका अध्यक्ष अग्निधर लोहनीले बताउनुभयो ।

आँखा उपचार केन्द्रमा अहिले नेत्र सहायक १ जना, आइ हेल्थ वर्कर १ जना र आइ हेल्पर १ जना गरी ३ जनाको दरबन्दि रहेको छ । केन्द्र सन्चालनको लागि सेवा फाउन्डेसनको आर्थिक अनुदान , मुसिकोट नगरपालिकाको आर्थिक सहयोग र आन्तरिक श्रोतबाट कार्यालय सन्चालन गरिएको टेक्निसियन ज्ञवालीले बताउनुभयो ।

आँखा उपचार केन्द्र सन्चालनको लागि २०७३ सालमा मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सार निवासी समाजसेवी कृष्णहरी सापकोटा र उहाँको सपरिवारले जग्गा र भवन गरी तत्कालिन समयमा एक करोड सत्तरी लाख बराबरको जग्गा र भवन निशुल्क प्रदान गर्नुभएको स्थानियले बताउने गरेका छन ।

उपचार केन्द्रले उच्च बसाइसराइले बिरामीको सङ्ख्यामा कमी, अत्यावश्यक , अत्याधुनिक उपकरणको अभाव, स्थानिय स्वयमसेविका लगायतलाइ उचित तालिमको अभाव, भौगोलिक विकटता, रुढिवादि परम्परा , बिरामीहरुमा जनचेतनाको कमी लगायतलाइ समस्या मानेको छ ।

केन्द्रले आगामी दिनहरुमा बैठक कक्षको सजावट , अप्रेशन कक्षमा सबै आवश्यक अत्याधुनिक उपकरणको जडान, कम्तिमा वर्षको दुइ पटक निशुल्क मोतियाबिन्दु अप्रेशन शिविर सन्चालन गर्ने , गरिबिको रेखामुनि रहेका कम्तिमा २० जनालाइ चस्मा र औषधि निशुल्क वितरण गर्ने, लुम्बिनी प्रदेश सरकारबाट बिनियोजित दश लाख रकमले कार्यालय घेराबार तथा तटबन्ध गर्ने लगायतका लक्ष्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय