मुसिकोट गुल्मी, वामी विश्व सम्पर्क मञ्चद्वारा वितरण गरिने छात्रवृत्तिबाट ३१ जना विद्यार्थी लाभान्वित भएका छन ।सम्पर्क मञ्चद्वारा वितरण गरिने विद्यालय स्तरीय छात्रवृत्ति वितरण कार्यक्रम दुइ दिन लगाएर सम्पन्न गरिएको छ ।
साविक वामी गाविसको हाल मुसिकोट नगरपालिका वडानम्बर ७ र वडानम्बर ८ का प्रत्येक विद्यालयका सबभन्दा माथिल्लो कक्षाबाट उत्कृष्ट अङ्क प्राप्त गर्ने छात्र १ ,छात्रा १ र विपन्न परिवारका १ जना गरी प्रत्येक विद्यालयका ३ जना गरी ३० जना र महेन्द्र आदर्श नमुना माविको ११/१२ मध्येबाट थप १ जना विपन्न परिवारको विद्यार्थीसहित ३१ जनालाइ छात्रवृत्ति वितरण गरिएको वामी विश्व सम्पर्क मन्चका महासचिव रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।
वडानम्बर ७ र ८ भित्रका १० वटा विद्यालयबाट छनोट भएका ३१ जना विद्यार्थीहरुलाइ बुधबार र बिहिबार दुइ चरणमा गरिएको कार्यक्रममा ७५ हजार नगद वितरण गरिएको मन्चका अध्यक्ष डिलाराम खरेलले बताउनुभयो ।
वडानम्बर ७ र ८ भित्र दुइ वटा माध्यमिक विद्यालय र ८ वटा आधारभूत विद्यालय रहेका छन । आधारभूत विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाइ जनही २ हजार र माध्यमिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने विद्यर्थीलाइ जनही ५ हजारका दरले छात्रवृत्ति रकम हस्तान्तरण गरिएको अध्यक्ष खरेलले बताउनुभयो ।
प्रत्येक विद्यालयका विपन्न परिवारका विद्यार्थीलाइ विद्यालयले छनोट गरेको आधारमा जनही दुई हजारका दरले रकम प्रदान गरिएको छ भने महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका कक्षा १२ मा अध्ययनरत १ जना विद्यार्थीलाइ भने ५ हजार प्रदान गरिएको मन्चले जनाएको छ ।
उत्कृष्ट हुने विद्यार्थीलाइ थप प्रगतिको कामनासङ्गै हौसला प्रदान गर्न र विपन्न भएर अध्ययनमा बाधा नपुगोस भनेर विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति रकम वितरण गर्ने गरिएको बताइएको छ । प्रत्येक वर्ष वितरण हुने रकममा साविक वामी गाविसबाट विदेशका विभिन्न ठाउँमा पुगेर पेशा/व्यवसाय गरेका वामेलीहरुद्वारा ऐच्छिक रुपमा सहयोग गर्ने गरिएको छ ।
यस वर्ष वितरित रकम वडानम्बर ७ स्थित वामी परुवा निवासी हाल अमेरिकामा कार्यरत विश्व सम्पर्क मंच अमेरिका शाखाका अध्यक्ष रामकृष्ण सापकोटाले गर्नु भएको थियो । वितरण गरिएको रकम विशेष कारणले रोकिएको शैक्षिक सत्र २०८० का उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिएको र गत शैक्षिक सत्र २०८१ को रकम भने केहि समयपछि वितरण गरिने भएको छ ।
वामी विश्व सम्पर्क मंच मुल समितिद्वारा वितरित उक्त छात्रवृत्ति वितरण कार्यक्रममा मूल समितिका वरिष्ठ उपाध्यक्ष महेश्वर घिमिरे,महिला उपाध्यक्ष कल्पना घिमिरे,उपाध्यक्ष कृष्णमुरारि सापकोटा ,कोषाध्यक्ष कमल प्र खराल,सचिव सुमित्रा भन्डारी ,सदस्य फन व रायमाझी ,गोविन्द सापकोटा ,कृष्ण व थापा(जनक) लगायत अन्य सदस्यहरुको उपस्थितिमा सम्वन्धित विद्यालयहरुमै पुगेर गरिएको थियो।
मुल समितिका अध्यक्ष डिलाराम खरेलको अध्यक्षतामा संचालित छात्रवृत्ति वितरण कार्यक्रम महासचिव रामचन्द्र सापकोटाले संचालन गर्नुभएको थियो भने शारदा विद्यामन्दिर माविका प्र अ तथा मुलसमितिका पुर्व अध्यक्ष ज्ञानहरी सापकोटा एवं महेन्द्र आदर्श मा वि वामीटक्सारका प्रधानाध्यापक देवीराम शर्माले सहयोगी सँस्था र व्याक्तिलाइ धन्यवाद र छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाइ शुभकामना दिनुभएको थियो।