शैक्षिक सत्र असोजसम्म पुर्‍याउनु पर्छ : शिक्षाविद् डा. वाग्ले

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समय शैक्षिक संस्था बन्द रहेपछि सरकारले आउँदो शैक्षिक सत्र आगामी असारबाट सुरु गर्ने भएको छ ।

सरकारको यो निर्णयबारे विभिन्न टिप्पणी भइरहेका छन् ।चालु शैक्षिक सत्र जेठ मसान्तसम्म र असारदेखि अर्को शैक्षिक सत्र शुरु गर्नु कत्तिको उचित हो ? यो लगायत प्रश्न लिएर अनलाइनखबरले शिक्षाविद् डा. मनप्रसाद वाग्लेसँग गरेको संक्षिप्त कुराकानी :

यो वर्षको शैक्षिक सत्र असारबाट सुरु गर्ने निर्णय सही छ ?विद्यार्थीलाई पढाएको, सिकाएको कुरा सबै सिकुन्, जानुन् भनेर बनाएको समय हो शैक्षिक सत्र ।

कोरोना महामारीले प्रभावित पारेको यो वर्ष विद्यार्थीले पाठ्यक्रममा भएको कुरा सिक्न पाउन्, सकुन् भनेर निर्धारित गरेको समय हो ।

यो वर्ष विद्यार्थीले पढ्न, सिक्न पाएकै छैनन् । माघसम्म पनि सबै विद्यार्थी शिक्षासँग नजोडिएको अवस्थामा जेठसम्म विद्यार्थीले कसरी सिक्छन् ? त्यसमा पनि सार्वजनिक विदाहरू कटौती गरिएका छैनन् ।

शिक्षकले लेखेको कुरा भट्याउने मात्रै अनि विद्यार्थीले सिक्ने समय खै ? त्यसैले यो निर्णय गलत हो । यो निर्णयले त झनै समस्या बढाउँछ ।

कस्तो समस्या उत्पन्न हुन्छ ?
शिक्षकले कक्षाकोठामा भट्याउने अनि तिम्रो पढाइ पूरा भयो भनेर सक्ने । अनि अर्को कक्षा चढाउने देखिन्छ । यसले शैक्षिक सत्रको अर्थ नै अर्को कक्षामा चढाउने मात्रै जस्तो देखिन्छ । मैले अघि पनि भनेँ शैक्षिक सत्र भनेको पढाएको कुरा विद्यार्थीले सिकुन् भनेर दिइने समय हो ।

अहिले दुई महिना पछाडि धकेलिएको छ । विद्यार्थीले पढेको कुरा सिक्ने समय नै दिइएको छैन । पाँच महिनामा शिक्षकले भट्याउन मात्रै सक्छ ।

त्यसमाथि सार्वजनिक विदाहरू यथावत राखिएको छ । त्यसले गर्दा सिक्ने समय रहेन । विद्यार्थीले सिक्ने कुरा नसिकेपछि स्वतः समस्या हुन्छ । अहिलेको कमजोर सिकाइले अर्को वर्ष असर गर्छ । अझ भनौं वार्षिक रुपमा कमजोर बनाउदै लैजान्छ ।

त्यसो हो भने यो वर्षको शैक्षिक सत्रलाई के गर्न सकिन्थ्यो ?

विद्यार्थीलाई पढाउने मात्र होईन, सिकाउनुपर्छ । पाठ्यक्रममा भएको विषयलाई पढाउँदै सिकाउनुपर्छ । त्यसको लागि समय आवश्यक पर्छ । यो वर्ष विद्यार्थीले त्यो समय पाएका छैनन् ।

सरकारले तीन वर्षको शैक्षिक सत्र–योजना बनाउनुपर्थ्यो । मैले भन्दै आएको छु–यो वर्षको शैक्षिक सत्र असोजमा, अर्को वर्षको शैक्षिक सत्र साउनमा र त्यसपछिको वर्ष बैशाखमा ल्याउनुपर्छ । त्यसरी तीन वर्षे शैक्षिक सत्र–योजना बनाउँदा ठीक हुन्थ्यो ।

माघमा विद्यालय खोलेर जेठमा पढाइ सक्छु भनेर हुँदैन । सार्वजनिक विदा पनि यथावत राखेर दुई महिनापछि धकेल्नुको अर्थ छैन ।

शैक्षिक सत्र लगातार दुई वर्ष पछाडि धकेल्दा विदेश जाने विद्यार्थीहरू कसरी जाने ?

पहिलो कुरा त यो महामारीको असर हामीलाई मात्रै होइन । अमेरिका लगायत देशहरूले पनि शैक्षिक सत्र पछाडि धकेलेका छन् । दोस्रो कुरा, हामीले नेपालमा नै पढ्न मन लाग्ने वातावरण बनाउने हो । हाम्रो शिक्षा स्तरीय बनाउने हो ।

तेस्रो, विदेश पढ्न जानेहरूलाई पनि हामीले त्यहाँ सिक्नयोग्य बनाएर पठाउनुपर्छ । हामीले यहाँ पढाउने, सिकाउने नाममा भट्टयाउने मात्र गरेर त हुँदैन ।

व्यवहारिक सिकाइमा जोड दिएको भए जेठ वा चैत्रमै शैक्षिक सत्र सकिने सम्भावना थियो ?

त्यस्तो गर्न सकेको भए सम्भव थियो । तर, हाम्रोमा त्यो पद्दति छैन । कक्षा ११, १२ मा जीवनपयोगी शिक्षालाई अनिवार्यबाट हटाएर विकल्पको रुपमा ल्याएको छ ।

सरकारले उल्टो काम गरेको छ । विद्यार्थीलाई पढाउने मात्रै काम हुन्छ । सिकाउन त शैक्षिक सत्रको समय थपिनै पर्छ ।
श्रोत अनलाइनखबर्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय