राष्ट्रपतिमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्बाङमध्य कसले मार्ला बाजी ?

काठमाडौं ।आगामी फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ताको काम सम्पन्न भएको छ । राष्ट्रपति पदमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता भएको हो । आज नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर दुवैजना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो । उम्मेदवारी दर्ता गरिसकेपछि उहाँहरुले आफुहरु विजयी भएर संविधानको रक्षा र परिपालना गर्ने बताउनुभएको छ ।

कांग्रेसले आज बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका नेता अशोक राई र जनमत पार्टीका नेता मोहम्मद अब्दुल खान रहनुभएको छ ।

त्यस्तै समर्थकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे हुनुहुन्छ ।राष्ट्रपतिको उम्मेदवारी दर्ता गराएपछि पौडेलले राष्ट्रपतिमा निर्वाचित भएपछि आफ्नो प्रमुख कार्यभार संविधानको रक्षा गर्नु रहेको बताउनुभएको छ । पौडेलले आफूलाई नेकपा एमालेले पनि सहयोग गर्ने विश्वास रहेको पनि बताउनुभयो ।

यसैगरि नेकपा एमालेको तर्फबाट राष्ट्रपति निर्वाचनका लागी सुवासचन्द्र नेम्बाङले उम्मेदवारी दर्ता गर्नुभएको छ। नेम्बाङको प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिव गोकर्णराज विष्ट, रघुवीर महासेठ र छविलाल विक रहनुभएको छ।समर्थकमा सचिवद्वय योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के हुनुहुन्छ।

एमालेबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङले आफ्नो नाममा राष्ट्रिय सहमति हुने विश्वासका साथ आफू राष्ट्रपतिको उम्मेदवार भएको प्रतिक्रिया दिनुभएको छ । राष्ट्रपतिमा नेम्बाङको उम्मेदवारी दर्तापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलको उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने दाबी गर्नुभयो । ओलीले पुस १० गते भएको सम्झौताअनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्ने दाबी गर्नुभएकोे छ ।

नेपाली कांग्रेसभित्रकै मध्यमार्गी नेताकारूपमा परिचित पौडेललाई समर्थन गर्ने निर्णय गरेका ८ दलहरूको मतभार जोड्दा स्पष्ट बहुमत पुग्छ । कांग्रेसले आफ्नो पार्टीका उम्मेदवार पौडेलको विजयी निश्चीत भएको दावी गरेको छ । कांग्रेस नेता कृष्ण प्रसाद सिटौला सबै ८ दलको समर्थन हुने भएकाले पौडेलको विजयी निश्चीत भएको बताउनुहुन्छ ।

राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुनुहुन्छ । कांग्रेस उम्मेदवार पौडेललाई सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसहित ८ दलको साथ छ । उहाँ आवद्ध नेपाली कांग्रेसका साथै माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ छ ।एमाले उम्मेदवार नेम्वाङको समर्थनमा अहिलेसम्म अरु कुनै पनि दल खुलेका छैनन् । एमाले नेताहरुले भने पुस १० मा भएको सहमतिअनुसार नै नेम्बाङलाई उम्मेदवार बनाएकाले त्यो बेला एक ठाउँमा भएका दलहरुको समर्थन पाउने विश्वास व्यक्त गरेका छन् ।

जनताको प्रतिनिधिमूलक सर्वोच्च संस्थाको नेतृत्व गरिसकेका पौडेल र नेम्वाङबीचको प्रतिस्पर्धा भने नेपाली राजनीतिको सबैभन्दा माथिल्लो पदमा विराजमान हुनका लागि हो । नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्राध्यक्षको रुपमा प्रस्तुत गरेको छ । उसले राष्ट्रिय एकताको प्रवर्धन गर्ने र संविधानको पालना र संरक्षण गर्नु प्रमुख कर्तव्य हुने भनिएको छ । अब फागुन २५ मा हुने निर्वाचनले दुईमध्ये एक उम्मेदवारलाई शीतल निवासको यात्रा गराउने छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय