काठमाडौं- पाँच वर्षअघि एमालेको जस्तो दबदबा थियो, अहिले त्यो हराएको छ । अध्यक्ष केपी ओलीको राष्ट्रवादी छवि स्खलित भएको छ । आफ्नै पार्टी विभाजन भएपछि ओलीको साख नराम्ररी गुमेको छ । उनलाई एमाले विभाजन गरेको कलंकको टीका लागेको छ । एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि भएको निर्वाचनमा हिजोसम्म एमालेको गढ र किल्ला भनिएका जिल्ला तोडिएका छन् । भत्किएका छन् । कतिपय ठाउँमा नेपाली कांग्रेसले आफ्नो विरासत फेरि फर्काएको छ । स्थानीय निर्वाचनको परिणामले नै त्यो पुष्टि गरिसकेको छ ।
ओलीकै सन्कीपाराको शासकीय शैलीका कारण स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार हाबी भएका छन् । स्वतन्त्रकै कारण आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कस्ता कस्ता हस्तीहरूको हरिबिजोग हुने हो ? त्यो अहिले नै अनुमान गर्न गाह्रो छ । एमालेका अहिले उठेका ५० प्रतिशत नेता पराजित हुने स्थिति देखिएपछि सनसनी मच्चिएको छ ।
स्थानीय तहको निर्वाचनमा एमालेकै गढ मानिने बागमती प्रदेश भने अहिले अन्य दलले कब्जा गरेका छन् ।

विगतमा दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, काठमाडौं, नुवाकोट, धादिङ, मकवानपुर र चितवनमा एमालेकै वर्चश्व थियो । अहिले त्यो वर्चश्व ढलेको छ । अहिलेसम्मको प्रारम्भिक सर्वेक्षणमा एमाले आफैंले दोलखा, काभ्रे, भक्तपुरलाई जितको सूची राखेको छैन । ललितपुर र नुवाकोट त पर्ने कुरै भएन । काठमाडौंमा माओवादी र एकीकृत समाजवादीले पाएका सिटमा जित्ने एमालेको दाउ छ । तर कांग्रेस उम्मेदवार भएका ठाउँमा एमालेको केही सीप नचल्ने देखिएको छ ।
सिन्धुपाल्चोकको १ र २ दुवै क्षेत्र यसपटक सत्तारुढ गठबन्धनले जित्ने अनुमान गरिएको छ । एमालेले १ मा सरेश नेपाल र २ मा शेरबहादुर तामाङ उठाएको छ । कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको राप र ताप शेरबहादुरले झेल्न नसक्ने अनुमान गरिएको छ । किनभने सिन्धुपाल्चोक २ कांग्रेसको पहिल्यैदेखिको गढ हो । राम्रा नेता नभएकाले कांग्रेसले हार्दै आएको थियो । १ मा पनि माओवादीका माधव सापकोटा बलिया देखिएका छन् ।
दोलखामा माओवादीका गंगाराम कार्की, रामेछापमा कांग्रेसका कान्छाराम तामाङ, सिन्धुली १ मा कांग्रेसका श्याम घिमिरे, २ मा माओवादीका राजन दाहाल, काभ्रे १ मा माओवादीका सूर्यमान दोङ र २ मा कांग्रेसका शिव हुमागाई एमाले उम्मेदवारको तुलनामा बलिया देखिएका छन् । काभ्रे २ मा एमालेका गोकुल बासकोटालाई यसपटक चुनाव जित्नु फलामको चिउरा चपाउनुसरह हुने भएको छ ।
ललितपुर १ मा कांग्रेसका उदयशमशेर राणा, २ मा एकीकृत समाजवादीका कृष्णलाल महर्जन र ३ मा माओवादीकी पम्फा भुसालको मत एमालेको भन्दा धेरै रहेको स्थानीय तहको मत परिणामले देखाएको छ । भक्तपुर १ नेमकिपा र २ मा कांग्रेसका दु्र्लभ थापाले एमालेका महेश बस्नेतलाई पराजित गर्ने विश्लेषण गर्न थालिएको छ । रसुवा, नुवाकोट, धादिङ र मकवानपुरमा त एमालेको हरिविजोग नै हुने भएको छ । एमालेलाई चितवन २ मा कृष्णभक्त पोखरेलमाथि अलिकति विश्वास भए पनि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको लोकप्रियता बढ्दै गएको छ । १ मा कांग्रेसका बागी राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी फिर्ता लिएकाले विश्वनाथ पौडेललाई निकै सहज भएको छ । ३ मा एमालेले राम्रोसँग साथ दिएमा कांग्रेसका बागी दिनेश कोइरालाले जित्ने देखिएको छ ।
काठमाडौमा भने एमालेले २, ८, ५ र ९ मा जित्न सकिने प्रक्षेपण गरेको छ । १, ३, ४, ६ र १० भने कांग्रेस उम्मेदवार अगाडि देखिएका छन् । यद्यपि १० मा माओवादीले बागी उम्मेदवार अञ्जना विशंखेलाई अघि सारेकाले कांग्रेस नेता कार्यकर्ता चिन्तित बनेका छन् । यदि माओवादीले विशंखेलाई फिर्ता लिन नलगाएमा काठमाडौंमा माओवादीले एक सिट पनि नजित्ने निश्चित छ । किनभने काठमाडौंमा माओवादीको जनाधार निकै खस्किएको छ ।- मिडिया डबली