रवीन्द्र मिश्र प्रवेश नगर्दै राप्रपामा भाँडभैलो, विवेकशील साझा त्यागे

काठमाडौं – कांग्रेस, एमालेको विकल्पमा नयाँ पार्टी बनाउने भन्दै पत्रकारिता छाडेर राजनीतिमा होमिएका रवीन्द्र मिश्रले अन्ततः विवकेशील साझा पार्टी त्यागेका छन् ।

दुई महिनाअघि सो पार्टीको अध्यक्षबाट राजीनामा दिएर बसेका मिश्र पूर्वपञ्चहरूको पार्टी राप्रपा प्रवेश गर्न विवेकशील साझा त्यागेका हुन् । मिश्रले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन् ।

सोमबार साँझ अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा बुझाउँदै मिश्रले आफूले उठाउँदै आएको विषयलाई प्राप्त गर्न पार्टी नै परिवर्तन गर्नुपर्ने भएकाले राजीनामा दिएको बताएका छन् ।

उनले राप्रपा प्रवेश गरेर काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेको समेत बताएका छन् । ‘झन्डै एक वर्षदेखि नेपालमा बृहत् र विश्वासिलो ‘नरम संवर्द्धनवादी ‘मडरेट कन्जरभेटिभ’ राष्ट्रवादी शक्तिको निर्माणका लागि म राजनीतिक ध्रुवीकरणको प्रयासमा लागेको यहाँलाई विदित नै छ ।

अन्ततोगत्वा सो प्रयासको पहिलो महत्त्वपूर्ण पाइलाले मूर्त रूप लिने देखिएको छ,’ मिश्रले राजीनामा पत्रमा लेखेका छन्‚ ‘त्यसका लागि मैले पार्टी नै परिवर्तन गर्नुपर्ने भएकाले आजकै मितिदेखि लागू हुने गरी मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’

उनले विवेकशील साझा पार्टी छाड्ने निर्णय जीवनकै सबैभन्दा कठिनतम भएको बताउँदै दुई वटा ध्रुवको तीन वटा राजनीतिक दल मात्रै रहने दाबी गरेका छन् । ‘नेपाली राजनीतिमा अब दुई ध्रुवमा, तीनवटा प्रमुख पार्टी रहने छन्।

‘बायाँ ध्रुव’ मा नेपाली काँग्रेस र नेकपा एमाले रहने छन्, जसको प्रणालीगत दृष्टिकोणमा समानता रहे पनि कार्यनीतिहरूमा केही अन्तर हुने छ,’ उनले भनेका छन्‚ ‘यी दुईबीचमा केही वर्ष माओवादी पेण्डुलम झैँ कहिले यता, कहिले उता गरिरहने छ ।

तर समय क्रममा त्यो कि साँघुरिँदै जानेछ कि राजनीतिबाटै हराउने छ ।’ उता मिश्र राप्रपा प्रवेश नगर्दै सो पार्टीमा भाँडभैलो उत्पन्न भएको छ । मिश्रलाई अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयता उपाध्यक्ष दिइने भएको छ । जसलाई लिएर बुद्धिमान तामाङलगायतका नेताले असन्तुष्टि जनाएका छन् ।

यस्तै, समानुपातिक बन्दसूचीमा राख्ने नामलाई लिएर पार्टीका दुई बुढानेता पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीको नाममा मतदान नै गर्नुपरेको छ । यसलाई नेपाली राजनीतिमा पदका लागि वृद्ध नेताहरू जे पनि गर्न सक्दा रहेछन् भन्ने पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय