कांग्रेसलाई एमालेको गर्‍यो यस्तो प्रस्ताव !

काठमाडौं । सीट बाँडफाँटमा भइरहेको सकसले सत्तारूढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस तनावमा छ । ‘अनुकुल’ परिस्थितीमा बहुमत आउनेगरी निर्वाचनमा जाने चाहनामा रहेको कांग्रेसका लागि निर्वाचनमा जानुअघि नै सीट बाँडफाँट टाउको दुखाईको विषय बनेको छ ।

यसबीचमै प्रमुख विपक्षी एमालेले सिंगल सिंगल चुनाव लडौं भन्ने प्रस्ताव अनौपचारिक रुपमा विभिन्न च्यानलबाट कांग्रेसलाई राखिसकेको छ । एमालेले कांग्रेसलाई सीट बाँडफाँटका कारण गठबन्धन टुट्यो भने पनि एमालेले माओवादी र नेकपा एसलाई नबोक्ने आश्वासन समेत दिएको छ । कांग्रेसको केन्द्रीय समिति बैठकले ‘आफ्नो एकल बहुमत आउनेगरी गठबन्धन दलबीच चुनावी तालमेल गर्ने’ निर्णय गरेको थियो । यसका लागि प्रत्यक्षतर्फ कम्तिमा १०० सीटमा उम्मेदवारी हुनुपर्ने कांग्रेसको समिक्षा थियो ।

तर, गठबन्धनका अन्य दलहरू नै कांग्रेसलाई बहुमतप्राप्त गर्नबाट रोक्न खोजिरहेका छन् । यसका लागि सीट बाँडफाँटमै ‘लगाम’ लगाएर चुनावमा जाने उनीहरूको रणनीति छ । यही कारण सीट बाँडफाँटको विषय कांग्रेसका लागि टाउको दुखाई बनेको छ । यसमा सबैभन्दा बढी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भूमिका खेलिरहेका छन् ।

माओवादी केन्द्रले कांग्रेसलाई ८० सीटमा रोक्न चाहेको छ । त्यसो हुँदा कांग्रेसले ७० सीटमै जितेपनि आफू निर्णायक शक्ति हुने उसको बुझाई छ ।अर्कातिर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल कांग्रेसलाई ७० सीटभन्दा बढी छाड्न नसकिने अडानमा छन् । उनको पार्टीले पनि ४० सीट मागिरहेको छ ।

यस्तै कांग्रेसको बलियो जनाधार रहेको मधेसमा जनता समाजवादी पार्टीले ३२ मध्ये २० सीटसहित देशका अन्य ठाउँबाटगरी समग्रमा ३२ सीट मागिरहेको छ । एक्लै लड्दा ८० सीट जित्न सकिने आँकलन गरेको कांग्रेस गठबन्धनमा त्यति सीटमा उम्मेदवार उठाउन बार्गेनिङ गर्नुपर्ने ठाउँमा पुगेको छ । यही कारण सत्तारूढ गठबन्धन दलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनाएको ११ सदस्यीय सीट बाँडफाँट कार्यदलले आफूलाई प्राप्त जिम्मेवारी पूर्ण गर्न नसकी अधुरो प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ ।

कांग्रेसले भोगिरहेको यो सकसकाबीचमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो ‘गेम’ जारी राखेको छ । एमाले गठबन्धन टुटाउन चाहान्छ,त्यहि भएर शेरवहादुर देउवाले शुक्रवार पनि गठबन्धन भत्काउने षडयन्त्र जारी रहेको भन्दै गठबन्धन टुटे कांग्रेस पनि सिद्धिने बताए । कम्युनिस्टको भर हुन्न भन्दै देउवा गठबन्धन टुट्यो भने माओवादी एमालेको शरणमा जाँदैन भन्ने ग्यारेन्टी नरहेको बताएर पार्टीमा आफ्नो मत हाबी गराइरहेका छन् ।

एमालेले भने कांग्रेसका विभिन्न तहका नेताहरुलाई गठबन्धन तोडियो भने माओवादी र एमाले जोडिन्छन् भन्ने आशंका नगर्न आश्वस्त पार्न खोजिरहेका छन् । एमाले अध्यक्ष केपी ओलीदेखि विभिन्न तहका नेताहरुले कांग्रेसका नेताहरुसँग एक्ला एक्लै प्रतिस्पर्धा गरौं भनिरहेका छन् । तर देउवालाई कन्भिन्स गर्न नसकिएको कांग्रेस नेताहरु बताउँछन् ।

एमालेले भनेको छ–एक्लाएक्लै भिडौं, माओवादी केन्द्र र नेकपा एसलाई कोही नबोकौं । यदि कांग्रेसलाई कतै एमालेले माओवादीसँग तालमेल गर्छ कि भन्ने आशंका छ भने लिखित रुपमै हामी दिन पनि तयार छौं । कम्तिमा यो एक चुनाव एमाले र माओवादीबीच तालमेल वा गठबन्धन हुँदैन । एमालेले कांग्रेसभित्रको भयलाई बुझेरै यो प्रस्ताव राखेको स्रोत बताउँछ ।

‘उहाँहरू(कांग्रेस नेता)मा एक डर अहिले पनि के जीवित देखिन्छ भने, माओवादीलाई कांग्रेसले छाड्दा एमालेले बोक्छ र फेरी २०७४ कै जस्तो आफ्नो हार हुन्छ भन्ने,’ एमाले स्रोतले भन्यो‘हामीले प्रस्ट भनेका छौं–हामी पनि बोक्दैनौं । तपाईहरू पनि नबोक्नुस् ।’ कांग्रेस र एमालेबीचमा रहेको यही त्रासको फाइदा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उठाइरहेको र देशलाई अपस्थिरता तर्फ धकेलिरहेको एमालेको बुझाइ छ । कांग्रेसले यति भाग नदिए एमालेतिर लाग्छु भनेर प्रचण्डले दङ्ग्याइरहेको एमलेले बुझेको छ ।

‘यही कुरा कांग्रेसलाई भनिरहेको छौं । प्रचण्डले एमाले देखाएर कांग्रेसलाई त्रासमा राखेको डर अहिल्यै समाप्त पारौं । यो घाडो अब नबोकौं । एक्लाएक्लै लड्दा कांग्रेस–एमालेलाई नै फाइदा हुन्छ,’ एमाले नेताहरुले कांग्रेसका नेताहरुलाई भनेका छन् । ओलीलाई भेटेका नेता शेखर कोइरालाले एमालेबाट एक्ला एक्लै लडौं भन्ने प्रस्ताव आएको बताए ।

यो कुरामा कांग्रेस नेताहरू सकारात्मक रहेपनि सभापति देउवा एमालेले माओवादी केन्द्रलाई बोक्दैन भन्ने कुरामा अझै आश्वस्त हुन सकेका छैनन् । जापान जानुअघि ओलीलाई भेट गरेका मिनेन्द्र रिजालले पनि देउवालाई कन्भिन्स गर्न सकेका छैनन् । यसबीचमा ओली आर्फैले पनि देउवालाई आफूले माओवादीसँग मिलेर चुनाव नलड्ने आश्वासन दिएका थिए ।

‘माधवकुमार नेपाललाई एमालेले बोक्दैन भन्नेमा त हामी विश्वस्त छौं । तर माओवादीको हकमा अझैं विश्वस्त हुन नसकिरहेको अवस्था हो । के थाहा भोलि तलको आवश्यकता भन्दै भटाभट तलतलै एमाले र माओवादी मिल्न सक्छन्,’ कांग्रेस नेताहरु भन्छन ।

कांग्रेस र एमालेबीचको यस्तो संवादमा एमाले र कांग्रेसका दोस्रो तहका नेताहरू सक्रिय रहेको स्रोत बताउछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै कांग्रेसका नेता शेखर कोइराला,मिनेन्द्र रिजाल लगायत देउवाका निकटस्थ नेताहरुलाई पनि यस्तो प्रस्ताव राखिसकेका छन् । गठबन्धन नै हुने अवस्थामा कांग्रेसले सोचेजस्तो नतिजा नआउने र आफ्नो पनि सोहीअनुसारको ‘गेम’ हुने मनोवैज्ञानिक त्रास पनि एमालेले कांग्रेस नेताहरूलाई तेस्र्याएको छ ।

गठबन्धन हुँदा कांग्रेसका देशभरी नै विद्रोही उठ्ने अवस्था देखिन्छ । यस्तोमा एमालेले आफू नजित्ने ठाउँमा तीनै विद्रोहीलाई बोक्ने, आफू जित्ने ठाउँमा उनीहरूलाई उक्साउने र मत काट्न लाउने रणनीतिको डर कांग्रेसलाई नभएको होइन । केही जिल्लाका कांग्रेस नेताहरुले यसबीचमा एमालेको साथ लिएर विद्रोही बन्ने तयारी समेत गरिसकेका छन्े ।

गठबन्धन दलमा सीटको किचलो बढ्दै जाँदा कांग्रेस तालमेलको निर्णयबाट ब्याक भएर एमालेकै रणनीतिअनुुसार एक्लाएक्लै चुनावमा जाने अवस्थामा आउन सक्यो भने माओवादी र नेकपा एसको ‘बिल्लीबाठ’ हुने आशा एमालेको छ । एमालेको चाहना भनेको कांग्रेसले प्रचण्ड माधवलाई नबोकेस् र उनीहरु चुनावमा परास्त हुन् भन्ने नै हो ।

कांग्रेस र एमाले एकल प्रतिस्पर्धामा उत्रिदा पहिलो पार्टी बन्न सकिने विश्वास एमालेमा छ । त्यतिमात्र होइन एमालेले आफ्नो विगतको साइजमै पुग्ने अनुमान गरेको छ । गठबन्धन हुँदा प्रत्यक्षतर्फ हुने क्षति आँकलन गरेरै उसले कांग्रेसलाई एक्लै लड्न प्रेरित गरिरहेको छ ।

एमाले उपाध्यक्ष सुवास नेम्वाले भने–गठबन्धन गर्ने नगर्ने उहाँहरुको कुरा हो । यो गठबन्धन मुलुकको हितमा छैन भनेर एमालेले भनिरहेकै छ । जहाँसम्म कांग्रेसको आशंकाको कुरा हो,हामीले त पहिले नै भनिसकेका छौं उहाँहरुलाई कि हामी यो चुनावमा माओवादीसँग कुनै किसिमको सहकार्य गर्दैनौं । अब एमाले देखाएर माओवादीले कांग्रेसलाई त्रासमा राख्छ भने त त्यो उहाँहरुको समस्या हो ।

सीट बाँडफाँट पेचिलो बन्दै जाँदा सय सीटको बटमलाइन लिएको कांग्रेस ८५ मा झरिसकेको छ । तर पनि गठबन्धन दलहरुको चित्त बुझेको छैन । जसपा नेपाल गठबन्धनबाट बाहिरिने चेतावनी दिइरहेको छ । सीट बाँडफाँट अन्तिम चरणमा पुगेर असफल हुने र मिलेका केही शीर्ष नेताको ठाउँबाहेक अन्य मित्रवत प्रतिस्पर्धा गरौं भन्ने ठाउँमा गठबन्धनल ाई पुर्याउनका लागि कांग्रेसकै केही नेताहरुको प्रयास जारी छ ।

स्थानीय तहको निर्वाचन नतिजा अनुसार १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ७६ मा कांग्रेस, ७१ मा एमाले, ८ मा माओवादी केन्द्र, जसपा ५, लोसपा २, नेकपा एस १, नेमकिपा १ र नागरिक उन्मुक्ति पार्टी १ सीटमा जित्ने तथ्यांक देखिन्छ । यो भनेको वडाको मतको आधारमा निकालिएको तथ्यांक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय