ओलीसँगै बसेका एमालेका ‘१० भाइ’ले टिकट पाउलान त ? यस्तो छ अवस्था

काठमाडौं । एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका नेताहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिस्ट, भीम आचार्य, रघुजी पन्त र अमृतकुमार बोहोरा ‘१० भाइ’को रूपमा चर्चामा थिए ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्दै राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका सांसदहरू संसद्मा विश्वासको मत दिन तयार नभएपछि माधव नेपालको साथ नदिने आकलनबाट उनीहरूको चर्चा सुरु भएको थियो । पछि माधव नेपालका तर्फबाट वार्ता गर्न गएर एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालसँग वार्ता गर्नेगरी फर्किएको भनेर पनि उनीहरूको चर्चा भएको थियो । माधव नेपालले पार्टी फुटाउँदा टिप्पणी गर्ने पनि यीमध्येकै धेरै थिए ।

एमालेलाई सुधार गर्ने, ओलीको एकाधिरको अन्त्य गर्ने र माधव नेपाललाई पश्चाताप गर्न बाध्य पार्ने घोषणासहितको तयारीमा जुटेका यी नेताहरूमध्ये भीम रावल र घनश्याम मात्र ओलीसँग बोल्नसक्ने अवस्थामा बाँकी छन् । अरू नेताहरू भने ओलीसँग भाग माग्नसमेत नसक्ने र आलोचना पनि गर्न नसक्ने अवस्थामा छन् । तत्कालीन समयका ‘१० भाइ’ १०औँ महाधिवेशनसम्म पुग्दा तितरबितर भइसकेका थिए ।

‘दस भाइ’मध्येका रावल एक्ला बनेका छन् । उनी एमालेमै छन् । तर, प्रतिपक्षीका रूपमा पनि उनको कु्नै स्थान छैन । रावल एमालेले लिएका निर्णय वा अध्यक्षसहितका व्यक्तिका अभिव्यक्तिलाई सामाजिक संजालमार्फत टिप्पणी गर्छन् । १०औँ महाधिवेशनमा ओलीसँगै ‘बिन्ती गरेर’ अध्यक्षमा प्रतिस्पर्धा गर्ने बाटो रोजेका थिए ।

त्यसयता उनी एमालेका गतिविधिसहित बैठकमा सहभागी हुने काम गरिरहेका छैनन् । ओलीबाट मनोनित हुने केन्द्रीय कमिटी सदस्य वा पोलिटब्युरो वा स्थायी कमिटी आफूलाई अस्वीकार्य हुने बताएपछि उनी सबै कमिटी भन्दा बाहिर छन् । अहिले उनको हैसियत एमाले नेता र सांसद मात्र छ ।

उपाध्यक्षमा प्रतिस्पर्धा गरेका घनश्याम भुसाल पार्टी र अध्यक्षको आलोचकको रूपमा चिनिन्छन् । पार्टी र दलको आलोचना गरिएको भन्दै उनलाई कारबाही गर्न अनुशासन आयोगले सिफारिससमेत गरिसकेको थियो । तर, उनी पार्टीभित्रको प्रतिपक्षीको भूमिकामा डगमगाएका छैनन् । अध्यक्षले अनिच्छा देखाएका विषयमा प्रस्ताव राख्नु, अध्यक्षको देवत्वकरण जारी रहँदा वास्तविक कुरा बोल्न नछोड्नु र आफ्ना अध्ययन र विवेकलाई लागेको कुरा मान्य नभए पनि पार्टी बैठकमा सुनाउनु उनको विशेषता बनेको छ ।

त्यसबाहेकका केही नेता ओली निकट भएर आफ्नो अस्तित्व रक्षा गर्दैछन् भने केही नेता हैसियतविहीन रूपमै ओलीलाई समर्थन गरिरहेका छन् । उनीहरू करिब गुमनामजस्तै भएका छन् । उनीहरूमध्ये कतिपय आगामी चुनावमा लड्ने/नलड्ने घोषणसमेत गर्न नसक्ने अवस्थामा छन् । केही भने चुनावको तयारीमा जुटेका देखिन्छन् ।

दोधारमा रावल – एमालेका पूर्वउपाध्यक्षसमेत रहेका भीम रावल अछाम क्षेत्र नम्बर–१ बाट सिफारिसमा परेका छन् । उनी एकल रूपमा सिफारिस भएका छन् । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट २४ हजार ८९३ मतसहित निर्वाचित भएका थिए । आगामी निर्वाचनका लागि एकल सिफारिसमा परेपनि रावल आफैँ भने चुनाव लड्ने कि नलड्ने भन्ने निर्णयमा पुगिसकेका छैनन् । पार्टी केन्द्रबाट निर्णय भइसकेपछि मात्रै आफू निष्कर्षमा पुग्ने उनको भनाइ छ ।

“जिल्लाबाट निर्णय भयो । त्यो त प्रदेशमा आउँछ । केन्द्रमा आउँछ । अब ती सबै कुरा स्पष्ट नहुँदै अहिले नै यसो हुन्छ भन्ने कुरा त भएन् । त्यसपछि निश्चित बिन्दुमा पुग्छु,” उनले बाह्रखरीसँग भने । पार्टीका कमिटीमै नबस्ने, नेतृत्वको आलोचना गर्ने कुारले टिकटको समस्या हुन्छ भन्ने त हैन नि ? भन्ने प्रश्नमा उनी सत्य, न्यय र राष्ट्रका पक्षमा बोल्दा विपक्षी ठानियो भने आफूसँग त्यसको जवाफ नभएको बताए ।

“देशको पक्षमा बोल्दा, विधिको पक्षमा बोल्दा प्रतिपक्षी ठान्ने हो भने अब त्यसको जवाफ त के दिनु ?,” रावलले भने, “नभए म त पार्टीको नीति, विधि, पद्धति, कार्यक्रमको पक्षमा दृढतापूर्वक उभिएको छु । तर, राष्ट्रियतामाथि आँच पुर्‍याउने जस्तासुकै नीति हुन्, जस्कासुकै हुन्, त्यसलाई मैले त्यसो नगरौँ यसौ गरौँ भन्दै आएको छु, भनिरहन्छु । त्यसो गर्दा प्रतिपक्ष ठानिन्छ भने मलाई कुनै पनि चिन्ता छैन ।”

शाक्य चुनाव नलड्ने – उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि चुनाव नलड्ने निष्कर्षमा पुगिसकेकी छन् । वाग्मती प्रदेशमा पूर्वमुख्यमन्त्रीसमेत बनेकी शाक्यले आफू चुनाव नलड्ने निष्कर्षमा पुगेको बताइन् । “म चुनाव नलड्ने पक्षमा छु । केही साथीहरूलाई म चुनाव लड्दिनँ भनेर भनिसकेको पनि छु,” शाक्यले बाह्रखरीसँग भनिन्, “पार्टी अध्यक्षसँग चाहिँ भेटेर कुरा गर्न बाँकी छ ।”अब युवाहरूलाई अघि बढाउनुपर्ने उनको भनाइ छ । “म मन्त्री मुख्यमन्त्री भइसकेँ । अब नयाँलाई स्थान दिनुपर्छ । युवाहरूलाई अघि बढाउनुपर्छ भन्ने पक्षमा छु,” उनले बाह्रखरीसँग भनिन् ।

अन्यौलमा ज्ञवालीे – एमालेका उपाध्यक्ष युवराज ज्ञवाली प्रतिनिधिसभा निर्वाचनका लागि दाङ–३ बाट सिफारिस भएका छन् । तर, उनी चुनाव लड्ने कि नलड्ने भन्ने निचोडमा पुगिसकेका छैनन् । “मलाई दाङको क्षेत्र नम्बर–३ बाट सिफारिस गरिएको छ । तर, म के गर्ने भन्ने निष्कर्षमा पुगिसकेको छैन,” ज्ञवालीले बाह्रखरीसँग भने, “चुनाव लड्छु भने टिकट नपाउने त प्रश्न आउँदैन । आफैँ टुंगोमा नपुगेकाले हो । चुनाव लड्न पैसा पनि त चाहियो ।” उनी अघिल्लोपटक पनि चुनाव महँगो भएको भन्दै नलड्ने बताएर समानुपातिकतर्फ बसेका थिए । तर, यसपटक एमालेले समानुपातिकमा नदोहोर्‍याउने नीति लिएको छ । “पहिल्यै एकपटक समानुपातिक भइसकेकाले समानुपातिक बस्ने कुरा नहोला,” उनले भने ।

चितवन–१ मा चुनावी तयारी गर्दै पाण्डे – एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन क्षेत्रनम्बर–१ बाट उमेदवारमा सिफारिस भएका छन् । तर, उनी एकल ।रूपमा भने सिफारिस भएएका छैनन् । उनीसँगै नेता जगन्नाथ थपलिया पनि सिफारिस भएका छन् । अघिल्लो निर्वाचनमा उनी चितवन १ बाटै ५१ हजार ८० मत ल्याएर निर्वाचित भएका थिए । यसपटक उनी सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । तर, माधव नेपालले पार्टी फुटाउने तयारी नहुँदै नेतृत्वविरुद्ध अभियान चलाएको भन्दै चितवन–१ मा उनी विरुद्ध कार्यकर्ताले नारा लगाएका थिए ।

भुसाल दुई ठाउँबाट सिफारिस – स्थायी कमिटी सदस्यसमेत रहेका घनश्याम भुसाल प्रतिनिधिसभा निर्वाचनका लागि दुई क्षेत्रबाट सिफारिसमा परेका छन् । तर, उनी क्षेत्रीय कमिटीबाट एकल सिफारिसमा भने परेका छैनन् । रूपन्देही क्षेत्र नम्बर ३ बाट भुसालसहित चारजना सिफारिस भएका छन् । सो क्षेत्रबाट वासुदेव घिमिरे, यज्ञजित शाह र दुर्गा भुसाललाई पनि उमेदवार सिफारिस गरिएको छ । भुसालको घर क्षेत्र नम्बर १ मा पर्छ । त्यहाँबाट उनीसँगै एमाले सचिव छविलाल विश्वकर्मा पनि सिफारिस भएका छन् । उनी अघिल्लो चुनावमा पनि क्षेत्र नम्बर ३ बाटै निर्वाचित भएका थिए ।

ताप्लेजुङ १ को तयारीमा भट्टराई – एमाले केन्द्रीय सचिव योगेश भट्टराई ताप्लेजुङ–१ बाटै चुनाव लड्ने तयारीमा छन् । उनी जिल्ला कमिटीबाट एकल सिफारिसमा पर्न भने सकेनन् । जिल्ला कमिटीले बुधबार उनीसँगै नेताहरू दिलकुमार मेनेङबो, पासाङ शेर्पा, टंक आङबुहाङ र राम सुवेदीलाई सिफारिस गरेको छ । सिफारिसमा परेका पासाङ र टंक भने पूर्वमाओवादी हुन् । भट्टराईले सोही निर्वाचन क्षेत्रबाट लड्नेगरी दाबी प्रस्तुत गरेको उनी निकट नेताहरू बताउँछन् । भट्टराई यसअघि ताप्लेजुङ–१ बाटै २९ हजार ४७९ मतसहित निर्वाचित भएका थिए ।

गुल्मी–२ बाटै लड्ने तयारीम बिस्ट – एमालेका सचिव गोकर्ण बिस्ट गुल्मी क्षेत्र नम्बर २ बाट सिफारिसमा परेका छन् । ०७४ को निर्वाचनमा पनि क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उनी भने एकल सिफारिसमा परेका छन् । उनी चुनावी तयारीमा जुटिसकेका छन् ।

सुनसरी–२ को तयारीमा आचार्य – प्रदेश नम्बर–१ मा सबैभन्दा छोटो कार्यकाल मुख्यमन्त्री भएका भीम आचार्य यसपटक प्रतिनिधिसभामा जाने तयारीमा छन् । उनी सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उमेदवारका लागि सिफारिस भएका छन् । ०७४ सालको निर्वाचनमा सुनसरी प्रदेश सभा १ को ‘ख’बाट निर्वाचित भएका उनी अहिले १ नम्बर क्षेत्रबाटै प्रतिनिधिसभा आउन चाहेका थिए । तर, २ नम्बर क्षेत्रका नेता कार्यकर्ताहरूको दबाबका कारण २ बाट सिफारिस भएको उनले बताए । “क्षेन नम्बर १ को तयारीमा थिएँ । क्षेत्र नम्बर २ का साथीहरूको आग्रहका कारण उता छाड्न तयार भए,” उनले बाह्रखरीसँग भने । एकल सिफारिसमा नपरेपनि आफू नै एमालेबाट त्यहाँको उमेदवार हुने उनको दाबी छ ।

के गर्लान् रघुजी ? – एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्त काठमाडौं–७ मा सिफारिस भएका छन् । उनी एकल सिफारिसमा भने परेका छैनन् । यो क्षेत्रबाट विद्यासुन्दर शाक्य, इन्दिरा पन्त, बीपी ढकाल र श्याम घिमिरे पनि सिफारिस भएका छन् । चुनावबारे अहिले आफू केही नबोल्ने उनले बताए । “अहिले केही बोल्दिनँ । पछि कुरा गरौँला,” पन्तले यतिमात्र भने ।

कुनै तयारीमा छैनन बोहोरा – एमाले नेता बोहोरा लामो समय माधव नेपाल पक्षमा थिए । पार्टी विभाजनमा हुँदा नेपालको साथ छोडेर एमालेमै बसेका उनी आसन्न चुनावका लागि कुनै तयारी गरेका छैनन् । एमाले सल्लाहकार परिषद्का अध्यक्षसमेत रहेका बोहोरा चुनाव लड्ने मनस्थितिमा नरहेको नेताहरू बताउँछन् ।

के ‘१० भाइ’लाई टिकट पाउन सकस छ ? – पहिले नेपालसँग भएकाहरूलाई टिकट पाउन अफ्ठ्यारो हुने चर्चा पनि एमालेमा हुँदै आएको छ । तर, नेताहरू सार्वजनिक रूपमा भने दसौँ महाधिवेशन भएर छुट्टै ठाउँमा आसकेकाले अब त्यो अघिको पक्ष विपक्ष भन्नु आवश्यक नरहेको बताउँछन् । हुन त यी ‘१० भाइ’ महाधिवेशनमा पनि सामूहिक रूपमा उभिएका होइनन् । कुनै नेतालाई नजिताउनु भनेर एमालेमा सर्कुलर जारी भएको थियो भने कतिपयलाई जिताउनका लागि । त्यसैले उनीहरूबीच साझा धारणा र साझा कार्यक्रम पनि छैनन् ।

एमाले उपाध्यक्ष ज्ञवाली टिकट पाउनै गाह्रो छ भन्ने कुरालाई अस्वीकार गर्छन् ।“टिकट नपाउने त समस्या नै छैन । मेरो हकमा त मैले निर्णय गर्न मात्रै बाँकी हो,” ज्ञवालीले भने, “कसैलाई फरक व्यवहार छैन । पार्टीमा त्यस्तो कुनै समस्या छैन ।” माधव पक्षमा पहिले रहेका नेता भीम आचार्य पनि टिकट पाउन अफ्ठ्यारो नरहेको बताउँछन् । बाह्रखरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय