ओली निवासमा रवीन्द्र मिश्रको १५० मिनेट : काठमाडौं–१ मा पाउलान् एमालेको समर्थन ?

काठमाडौं । पछिल्लो समय राजसंस्थाको पक्षमा खुलेर नयाँ राजनीतिक तरंग सिर्जना गरिरहेका विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा देखापरे । ओलीको बहुचर्चित बालकोट निवासमा मिश्रको यो पहिलो पाइला टेकाइ थियो भने ओलीसँग पहिलो वान टु वान भेट पनि ।

बेलुका ७ बजे निवासमा आइपुगेका मिश्रसँग ओली करिब अढाई घन्टा गफिए । उक्त गफगाफको मुख्य विषय राजनीतिक नै थियो । यद्यपि, ‘राष्ट्रवादी’ छविका दुई नेताहरुबीच राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरुमा पनि विमर्श हुने नै भयो । ओलीले आफ्नो सरकारका पालामा चुच्चे नक्शासहित छपाएका सिक्काहरु अर्को सरकारले सार्वजनिक गर्न रोकेको दावी गरेका थिए । उनले केही उपहारका रुपमा आफूलाई केही सिक्काहरु दिएको मिश्रले फेसबुकबाटै सार्वजनिक गरिसकेका छन् ।

राजनीतिक विषयको कुराकानी चाहिँ आगामी निर्वाचनमाथि नै केन्द्रित थियो । स्रोतका अनुसार मिश्रले आगामी निर्वाचनमा एमाले र विवेकशीलबीच तालमेलको अनौपचारिक प्रस्ताव राखेका थिए । त्यसमा ओली सकारात्मक सुनिए । गठबन्धनका कारण देशको दलीय प्रणालीमै आघात परिरहेको भन्दै ओलीले आगामी चुनावमा आफ्नो पार्टी स्थानीयस्तरमा तालमेलका लागि खुला रहेको संकेत गरे ।

अघिल्लो चुनावमा मिश्र काठमाडौं १ मा उम्मेदवारी दिएर कांग्रेसका हस्ती प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएका थिए । उक्त चुनावमा सो क्षेत्रमा एमाले-माओवादी गठबन्धनबाट माओवादीका अनिल शर्मा उम्मेदवार थिए । सिंहले ८१९ मतान्तरले मिश्रलाई पराजित गरेका थिए । सिंहले १० हजार ९३७ मत पाउँदा मिश्रको १० हजार ११८ मत आयो । माओवादीका शर्माले ५ हजार ३३५ मतमात्र ल्याएका थिए । मिश्रले यसपालि पनि यही क्षेत्रबाट चुनाव लड्ने मनस्थिति बनाएका छन् ।

काठमाडौं–१ यो चुनावमा पनि एमालेको मजबुत क्षेत्र होइन । कांग्रेसले प्रकाशमानलाई नै उम्मेदवार बनाउने बलियो सम्भावना छ र उनलाई गठबन्धन दलहरुको समर्थन रहनेछ । त्यसो भएमा प्रकाशमान नै जीतका बलियो दावेदार बन्नेछन् । तर, यदि एमालेले आफूलाई समर्थन गरेको खण्डमा नतिजा उल्टाउन सक्ने आशा मिश्रमा छ । सोही सम्भावनाको खोजी गर्न उनले एमाले अध्यक्षलाई भेटेका हुन् ।

बालकोटनिकट स्रोतका अनुसार मिश्रले ओलीलाई आफूलाई एमालेले काठमाडौं-१ मा सघाएमा एमालेले झिनो मत ल्याएर हारेका केही क्षेत्रमा विवेकशील साझाले सघाउने प्रस्ताव गरेका थिए । मिश्रको प्रस्तावलाई ओलीले गम्भीर रुपमा लिएका थिए । उनले अघिल्लो चुनावमा सहयोग मागेको भए मिश्रलाई जिताउन सक्ने संकेतसमेत गरेका थिए ।

‘मैले एकपटक काठमाडौं १ मा भाषण नगरेको मात्र भए पनि नतिजामा फरक पर्न सक्थ्यो’, ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

यसपालि मिश्रलाई समर्थन गर्ने विषयमा उनले ठोस जवाफ त दिएनन् । तर, पार्टीगत तालमेलको सम्भावनालाई उनले नकारेनन् ।

मिश्र विवेकशील साझाको अध्यक्षबाट हटे पनि पार्टीमा उनको पकड यथावत छ । अहिले अध्यक्ष बनेकी समीक्षा बास्कोटाले विगतमा मिश्रलाई बलियो साथ दिँदै आएकी थिइन् । त्यसैले यदि एमाले सकारात्मक भएको खण्डमा विवेकशीललाई तालमेलका लागि तयार पार्न सक्ने विश्वास मिश्रले लिएका छन् । यद्यपि यसको निर्णय पार्टीको केन्द्रीय समितिले लिनुपर्ने हुन्छ ।

मिश्रले काठमाडौं १ मा उम्मेदवारी दिने औपचारिक घोषणा गरिसकेका छैनन् । तर, अघिल्लो चुनावको लिगेसी र आफ्नै निर्वाचन क्षेत्र पनि रहेकाले उनले यही क्षेत्र रोज्न सक्ने बलियो सम्भावना छ । यद्यपि, उनले पार्टीबाट लड्छन् या स्वतन्त्र भन्ने चाहिँ अझै निधो भएको छैन ।

राजसंस्थाबारे चर्चा – ओली र मिश्रबीचको भेटमा नेपालमा राजसंस्था पुनःस्थापनाको औचित्य र सम्भावनाको विषयमा पनि चर्चा भएको थियो । मिश्रले आफू गणतन्त्रको लाइन छोडेर राजसंस्था पुनःस्थापनाको पक्षमा उभिनुपर्नाको कारणबारे स्पष्ट पार्ने कोसिस गरेका थिए । आफू सैद्धान्तिक रुपमा गणतन्त्रवादी नै भए पनि नेपालको भूराजनीतिक अवस्थाका कारण राजसंस्थासहितकाे प्रजातन्त्र नै सबैभन्दा उपयुक्त व्यवस्था भएको निष्कर्षमा पुगेको उनले बताए ।

मिश्रले एमालेले पनि जनमतको कदर गर्दै कथित परिवर्तनका एजेन्डाहरुमाथि पुनर्विचार गर्न सुझाएको स्रोतको दावी छ ।

‘राजसंस्थाको पक्षमा उभिनुभयो भने नसोचेको जनसमर्थन प्राप्त गर्न सक्नुहुनेछ’, उनले भने, ‘तपाईंले गणतन्त्रमा जानु भनेको बयलगाडा चढेर अमेरिका जानुजस्तै हो भन्नुभएको थियो । त्यो भनाइ अहिले पनि उत्तिकै सान्दर्भिक छ ।’

यद्यपि, राजसंस्थाबारे ओलीको सकारात्मक प्रतिक्रिया आएन । आफूले राजसंस्थाकै विरुद्धमा लामो संघर्ष गरेको र गोलघरमा कठिन बन्दी जीवनसमेत बिताएको स्मरण गर्दै ओलीले गणतन्त्रको विकल्प नभएको बताए ।

मिश्रले भने बीपी कोइरालाले पनि राजाबाट अनेक दुःख खेप्नुका बाबजुद कहिल्यै राजा हटाउने कुरा नगरेको सन्दर्भ उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय