ठूलो चुनावका लागि गठबन्धनमा मोटामोटी सिट बाँडफाँडको सहमति ! एमाले फेरी एक्लिँदा कांग्रेसले यति सिट जित्ने! 

काठमाडौं । सत्तारुढ गठबन्धनमा आबद्ध दलहरू आगामी संसदीय निर्वाचनमा पनि तालमेलको तयारीमा छन् । गठबन्धनका नेताहरू संसदीय चुनावी तालमेलको खाका कोर्न व्यस्त छन् । प्रतिनिधिसभाको १ सय ६५ प्रत्यक्ष निर्वाचन क्षेत्रको भागबण्डा कसरी गर्ने भन्नेमा पाँचदलीय गठबन्धन पुगिसकेको छैन ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी निर्वाचनमा पनि तालमेल हुने बताइसकेका छन् । 

माओवादी एक्लैले ४० प्रतिशत सिटमा दाबी नछाड्ने अवस्था छ ।  अघिल्लो संसदीय निर्वाचनमा वामगठबन्धनबाट माओवादीले ६२ स्थानमा प्रतिस्पर्धा गरेको थियो । यसपटक त्यसलाई जोगाउने माओवादी रणनीति छ । अर्कोतिर निर्वाचनपछि सत्ता समीकरणमा आफू निर्णायक हुने माओवादी चाहना छ । त्यसैले कांग्रेसलाई जतिसक्दा कम सिटमा रोक्ने प्रचण्डको प्रयत्न हुनेछ ।

उता कांग्रेस भने बढीभन्दा बढी सिट लिने पक्षमा छ । स्थानीय निर्वाचनमा प्राप्त लोकप्रिय मतको आधारमा झण्डै १ सय २० सिटमा दावी गर्ने कांग्रेसको तयारी छ । एक सय सिट भन्दा तल नझर्न दबाब पनि छ ।

पाँचदलीय गठबन्धन स्थापनाका बेला कांग्रेसले १ सय र अन्य दलले ६५ सिटमा प्रतिस्पर्धा गर्ने अनौपचारिक सहमति शीर्ष तहमा भएको थियो । यद्यपि अहिले माओवादी र नेकपा एसको दाबी बढेको छ । माओवादी र नेकपा एसका नेताहरूका पछिल्ला प्रस्ताव कार्यान्वयन हुने हो भने तालमेल गर्दा कांग्रेसले ८० सिटभन्दा धेरै नपाउने देखिन्छ । विगतमा प्रत्यक्षमा जितेको सिट सबै दलले सुरक्षित गर्ने र एमालेले जितेका सिटमा बाँडफाँट गर्ने प्रस्ताव कांग्रेसबाहेक दलको रहेको छ ।

हाल गठबन्धनमा रहेका सांसदहरूमध्ये ८७ जना प्रत्यक्ष निर्वाचित भएका हुन् । माओवादीले ३७, कांग्रेसले २३, नेकपा एसले १४, जसपाले ११ र राष्ट्रिय जनमोर्चाले १ सिट प्रत्यक्षतर्फ जितेको ताजा तथ्यांक रहेको छ ।

माओवादीले गठबन्धनको अनौपचारिक छलफलमा गठबन्धन दलबाहेकले जितेका क्षेत्रहरूमा सम्मानजनक बाँडफाँट गर्नुपर्ने प्रस्ताव राखेका छ । यो प्रस्ताव अनुसार कांग्रेसले ७० प्रतिशत नै सिट पाउँदा पनि कांग्रेसको भागमा थप ५५ सिट पर्न जान्छ । यस्तो अवस्थामा कांग्रेसले प्रत्यक्षतर्फ ७८ सिटमा मात्रै प्रतिस्पर्धा गर्ने अवस्था बन्नसक्छ ।

सत्ता गठबन्धनमा कुनै कारणले समस्या सिर्जना भएर कांग्रेसविरुद्ध पुनः वामगठबन्धन हुने खतरा टरिसकेको छैन । यही खतरा नटरेका कारण कांग्रेसमाथि दवाव बढ्दो छ । अब गठबन्धनभित्र मुख्य रस्साकस्सी १६५ सिटको बाँडफाँटमै हुनेछ । कांग्रेसलाई प्रत्यक्षतर्फ जति बढी सिट छाड्यो उसको एकल वा अर्को कुनै सानो दलको समर्थनमा सरकार बन्न सक्ने खतरा प्रचण्डहरूले देखेका छन् । अघिल्लो चुनावमा माओवादीसँग तालमेल गरेको एमाले एक्लैले प्रत्यक्षतर्फ ८० सिट जितेको थियो । ९७ सिट लिएको एमालेले एक्लै ८० सिट जितेको विगत हेर्ने हो भने कांग्रेसले एक सय सिट लियो भने कम्तिमा ९० सिट जित्ने डर गठबन्धनका अन्य दललाई छ ।

स्थानीय तह निर्वाचनको लोकप्रिय मतलाई हेर्दा समानुपातिकमा कांग्रेस र एमालेको हाराहारी मत आउने देखिन्छ । समानुपातिकमा कांग्रेसले कम्तीमा ४० देखि ४२ सिट जित्दा पनि उसले प्रत्यक्षमा ८० सिटमात्र जित्यो भने पनि माओवादीबिनाको सरकार बनाउने हैसियत हुन्छ । प्रचण्डलगायतका गठबन्धनका नेताहरू कांग्रेसलाई प्रत्यक्षतर्फ ७० को आसपासमा जित्नेगरी सिट बाँडफाँट गर्न चाहन्छन्, जसले गर्दा आउने संसदमा पनि माओवादीबिना कसैको सरकार नबनोस् । यसप्रति कांग्रेस पनि सचेत छ । देउवा गठबन्धनमा जतिसुकै लचिलो भएर पनि जान तयार छन् । – मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय