एमाले र गठबन्धनको प्रतिस्पर्धामा राप्रपाका दिपक सिंहको आक्रामक इन्ट्री

हेटौंडा । वागमती प्रदेशको एकमात्र उपमहानगरपालिका र नेकपा एसले गठबन्धनमा पाएको एकमात्र मेयरको चुनावी रेसमा एकाएक राप्रपाका दिपकबहादुर सिंहको आक्रामक इन्ट्रीसँगै यहाँको चुनावी माहोलमा उथलपुथलका संकेत देखिएका छन् ।

स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार मनोनयनको अन्तिम दिन वैशाख १२ गतेसम्म हेटौंडामा एमाले र गठवन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको थियो । तर एकाएक हेटौंडाका लिजेन्ड भन्दा हुने राप्रपाका पुराना नेता दिपकबहादुर सिंहले मेयरमा उम्मेदवारी दिएसँगै त्यो आँकलन फेल खाने अवस्थामा पुगेको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाको साथ छोडेर सिंहले योपटक राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट हेटौँडाको मेयरमा उम्मेद्वार भएसँगै यहाँ प्रतिस्पर्धा एमाले र राप्रपाको हुने विश्लेषण गरिँदैछ ।

नेकपा एमालेले योपटक प्रभावशाली नेता तथा संविधानसभा सदस्य अनन्तप्रसाद पौडेललाई मेयरको उम्मेदवार बनाएको छ । एमालेका लाल किल्लाको रुपमा रहेको हेटौंडामा अबको भिडन्त २०७० सालमा भएको दोश्रो संविधानसभाको निर्वाचनको झल्को दिनेगरी अघि बढेको छ ।

दोस्रो संविधानसभामा हेटौंडा नगरपालिका रहेको तत्कालीन मकवानपुरको क्षेत्र नंबर ३ मा अहिले मेयरको प्रतिस्पर्धामा रहेका पौडेल र सिंहको चर्को प्रतिस्पर्धा भएको थियो । सो प्रतिस्पर्धामा पौडेल (१४२५६) मतसहित विजयी बन्दा सिंहले (११४६१) मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका थिए ।

२०७० सालको निर्वाचन ताका ११ वडाको हेटौंडा नगरपालिका हाल १९ वडा रहेको उपमहानगरपालिकामा रुपान्तरण भएको छ । यहाँ मतदाताको पनि उल्लेख्य वृद्धि भएको छ । निर्वाचन आयोगले दिएको तथ्यांकलाई हेर्दा अहिले हेटौँडा उपमहानगरपालिकामा १ लाख ४ हजार ५ सय १३ जना रहेका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा आएको मतपरिणमलाई विश्लेषण गर्ने हो भने हेटौँडाको पहिलो शक्ति एमाले, देश्रोमा कांग्रेस देखिएको छ । माओवादी र राप्रपा करिब बराबरीको अवस्थामा देखिन्छ ।

हेटौंडामा एमालेका लागि गठबन्धको सामना गर्नुपरेको यो पहिलोपटक होइन । २०७४ मा पनि कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो । त्यसबेला एमालेले प्रमुख–उपप्रमुखसहित १२ वटा वडामा विजयी हुँदा कांग्रेसले ५ वटा वडा र माओवादी केन्द्रले २ वटा वडामा जित हासिल गरेको थियो ।

त्यसबेला कमल थापा नेतृत्वको राप्रपा नेपाल भने ६५ सय मत ल्याएर तेस्रो स्थानमा खुम्चिएको थियो ।

गठवन्धनमा बेमेल – योपटक एमालेविरुद्ध गठबन्धन गरेका पाँच दल छरपस्ट अवस्थामा देखिन्छन् । कांग्रेस र माओवादीले प्रमुख पदको दाबी गरिरहेको सन्र्दभमा केन्द्रीय भागबण्डाले नेकपा (एकीकृत समाजवादी)लाई प्रमुख पद दिने निर्णयसँगै यहाँका कांग्रेस–माओवादीमा असन्तुष्टि प्रकट भइरहेका छन् ।

केन्द्रले आम कार्यकर्ताको भावना नबुझेको, बढीमा ३ हजार मतदाता रहेको अनुमान गरिएको समाजवादीलाई मेयर दिएको भन्दै कांग्रेसमा चरम असन्तुष्टि छ । कांग्रेसको बहुमत जिल्ला पदाधिकारी, १९ वटै वडा सभापतिसहित नगर समितिले पत्रकार सम्मेलन नै गरेर आफूहरुले मेयर नपाए गठबन्धन तोड्ने चेतावनी दिएका थिए ।

केन्द्रले तलको कुरा नसुनेको भन्दै कार्यकर्तामा निरासा छाएको अवस्थामा सिंहको इन्ट्रीले कांग्रेसका कार्यकर्ताको भोट कम्युनिष्ट र राप्रपालाई जाने आँकलन भइरहेको छ । त्यसो भएको अवस्थामा एमालेका पौडेल र राप्रपाका सिंहबीच तीव्र प्रतिस्पर्धा हुनेछ ।

गठबन्धनमै आबद्ध नेकपा माओवादी केन्द्र पनि केन्द्रीय गठबन्धनको निर्णयमा सन्तुष्ट छैन् । कम्तिमा उपमेयरसहित बहुमत वडा दाबी गरेको माओवादीले प्रमुख–उपप्रमुख दुवै पद प्राप्त गर्न सफल भएन । माओवादीमा अर्को पीडा पनि छ– वडा तहमा गठबन्धन गर्दा आफूले नेपाली कांग्रेसलाई १० वटा वडाध्यक्षमा समर्थन गर्दा कांग्रेसले जम्मा एउटा वडामा मात्र माओवादीलाई छाडेको छ ।

यसअघि माओवादीले जितेको वडा पनि कांग्रेसले नछाड्दा गठबन्धन नाम मात्रको रहेको माओवादी कार्यकर्ताले खुल्ला रुपमै बताइरहेका छन् । माओवादी हेटौँडा उपमहानगरपालिकाका अध्यक्ष तिर्थबहादुर थापा कांग्रेस नेता कार्यकर्ता ‘चेनअफ कमाण्ड’मा नबस्दा समस्या भएको बताउँछन् ।

मेयर–उपमेयर दुवै पदमा आफ्नो उम्मेदवार नहुँदा माओवादी मतदान गर्न स्वतन्त्र रहेको नेताहरु बताउँछन् । यसअघि कांग्रेससँगको गठबन्धनबाट उपमेयरमा हारेका बलराम बलसहितको एउटा समूह माओवादी छाडेर एमालेमा गइसकेको छ ।

पौडेल र सिंह दुवै ढुक्क, गठबन्धनलाई दबाब – गठबन्धनमा देखिएको बेमेल, आरोप–प्रत्यारोप तथा शंका–उपशंकाले योपटक हेटौँडा उपमहानगपालिकामा एमाले र राप्रपाबीच नै प्रतिस्पर्धा हुने आँकलन गर्न थालिएको छ । एमाले एक्लैले गठबन्धनलाई हराएको इतिहास छ र सोही इतिहास दोहरिनेमा एमाले ढुक्क छ ।

एमालेबाट मेयर पदका उम्मेदवार पौडेल भन्छन्– टालाटुली झुम्रा बटुलेर बनाइएको गठबन्धन योपटक पत्तासाफ हुनेवाला छ, हेटौँडामा सहजै ढंगबाट एमालेले विजयको झण्डा गाड्नेमा हामी विश्वस्त छौं । सकिएका पन्चहरु फेरि उठ्न सक्दैनन् ।

तर राप्रपाबाट मेयरका उम्मे्वार बनेका सिंह पनि आफू जित्नेमा विश्वस्त छन् । दुईपटक संसदीय निर्वाचन तथा एकपटक मेयरमा पराजित भएका सिंहले योपटक आफूलाई सबै पार्टीका मान्छेको सहयोग हुने बताउँछन् । उनको यो भनाइबाट पनि योपटकको निर्वाचनमा गठबन्धनको असन्तुष्ट मत सिंहले पाउने संभावना देखिन्छ ।

एमालेको १९ वटै वडामा रहेको मजवुत संगठन, सर्वसम्मत मेयर–उपमेयर उम्मेदवार छनोट, गठबन्धनलाई समेत पराजित गरेको इतिहास र पछिल्लो समय युवापुस्तामा एमालेप्रति बढेको क्रेजले एमाले उत्साहित छ । त्यसमाथि पनि नेकपा एस जिल्ला अध्यक्ष श्रीधर पोखरेलसहित तीन दर्जन बढी प्रभावशाली नेता निर्वाचनको मुखैमा एमाले प्रवेश गर्दा गठबन्धनकी उम्मेदवार मिना लामालाई थप संकट परेको छ ।

थोरै मत मात्र रहेको आरोप खेप्दै आएको समाजवादीले मतदातालाई प्रभाव पार्नसक्ने नेतालाई चुनावको मुखैमा गुमाउनु परेको छ । राप्रपा र एमाले जति आक्रामक र उत्साही छन्, गठबन्धनमा त्यो देखिन्नँ । अझ कतिपयले त मेयरमा राप्रपा र उपमेयरमा कांग्रेस जिताउन इन्द्र बानियाँ र दिपक सिंहबीच भित्री गठबन्धन हुने अनुमान पनि लगाइरहेका छन् ।

उपमेयरमा रोचक प्रतिस्पर्धा -उपमेयरमा भने एमाले र गठबन्धनकै प्रतिस्पर्धा हुने देखिएको छ । उपमेयरमा एमालेबाट अखिल नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष समेत रहेकी सुमित्रा काफ्ले र हेटौँडा–५ का वडाध्यक्ष सम्हालीसकेका राजेश बानीयाँबीच प्रतिस्पर्धा हुने देखिएको छ । बानियाँ गठवन्धनबाट उम्मेदवार बनेका हुन् । उपमेयरमा भने राप्रपा कमजोर हुने संभावना देखिएको छ ।

कांग्रेसको मत दोस्रो रहेको हेटौंडामा उपमेयरमा आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने हुँदा एमालेकी काफ्लेसँग बानियाँको भिडन्त करिब पक्कापक्की नै हो । तर उपमेयरको सन्र्दभमा पनि कांग्रेसमा विवाद भने नभएको हैन । कांग्रेसले उपमेयरको लागि सिफारिस गरेका तीनै जना महिलालाई टिकट नदिएर नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानीयाँले आफ्नो भाइलाई टिकट दिएको आरोप छ ।

यसअघिको स्थानीय तहको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन हुँदा आफूहरुले कांग्रेस उम्मेदवारलाई इमान्दारपूर्वक मत हालेको तर कांग्रेसले एमालेलाई सघाएको आरोप माओवादीको थियो । निर्वाचनको परिणामले पनि त्यहीं देखाएको थियो ।

एमालेसँग जम्मा ६१५ मतान्तरले मेयरमा कांग्रेस पराजित भएको अवस्थामा हाल गठबन्धनबाटै मेयरकी उम्मेदवार मिनाकुमारी लामा भने तत्कालीन अवस्थामा माओवादीको उपमेयरका उम्मेदवारभन्दा ६ हजार ४ सय २६ मत धेरै ल्याएर विजयी भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय