पाँच बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन, नमाने साधारण सदस्यबाटै हटाउने चेतनावी

काठमाडौं । नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा पार्टी निर्णयविपरीत उम्मेदवारी दिएकालाई आज साँझ पाँच बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

बागी उम्मेदवारी फिर्ता नलिए उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई समेत पार्टी साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने कांग्रेसले चेतावनी दिएको छ । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रस विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् ।

उनले बागी उम्मेदवारी फिर्ता लिएर पार्टीका आधिकारिक उम्मेदवालाई जिताउन पनि आग्रह गरेका छन् । बागी उम्मेदवारी फिर्ताबारे छलफल गर्न सत्तागठबन्धनको बैठक पनि बस्दैछ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । स्थानीय तह निर्वाचनका लागि वीरगञ्जबाहेक मुलुकभरका पाँच महानगरपालिकामा सबै पदका लागि गरी तीन हजार सात सय ७२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार ७९ राजनीतिक दल र स्वतन्त्रबाट विभिन्न पदमा उम्मेदवारी परेको छ । काठमाडौं महानगरपालिकामा माओवादीका सबैभन्दा कम उम्मेदवार

विवरणअनुसार मुलुकभरका ६ महानगरपालिकामध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिकामा २९ राजनीनिक दल र स्वतन्त्रबाट प्रमुखदेखि वडा सदस्यसम्म आठ सय ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा सबैभन्दा धेरै उम्मेदवारी नेकपा (एमाले)ले दर्ता गराएको छ । एमालेबाट एक सय ५७ जनाको परेको छ । दोस्रोमा नेपाली कांग्रेसले एक सय ५५ जनाको उम्मेदवारी दर्ता गराएको छ ।

तेस्रोमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सय ४० जनाको र चौथो नम्बरमा नेकपा (एकीकृत समाजवादी)बाट एक सय दुईजनाले उम्मेदवारी दर्ता गराएको छ । प्रमुख राजनीतिक दलमा नेकपा (माओवादी केन्द्र)ले भने पाँचौ नम्बरमा ९१ जनाको मात्रै उम्मेदवारी दर्ता गराएको छ । स्वतन्त्रतर्फ एक सय १७ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

पोखरा महानगरपालिकामा नेकपा एस पाँचौ -आयोगको विवरण अनुसार पाँच महानगरपालिकामध्ये दोस्रोमा सबैभन्दा धेरै पोखरा महानगरपालिकामा २४ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरी आठ सय ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।यहाँ सबैभन्दा धेरै नेकपा (एमाले)बाट एक सय ६७ जना, दोस्रोमा नेपाली कांग्रेसबाट एक सय ५८ जना र तेस्रोमा नेकपा (माओवादी केन्द्र)बाट एक सय ४७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

चौथोमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक सय ३५ जनाको उम्मेदवारी दर्ता भएको छ । पाँचौँमा भने नेकपा एकीकृत समाजावादीबाट ७३ जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । स्वन्त्रबाट ४९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

विराटनगरमा कांग्रेस र एमालेबाट बराबर उम्मेदवार -विराटनगर महानगरपालिकामा २२ राजनीतिक दल तथा स्वतन्त्रबाट गरी सात सय ४६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ एमाले र कांग्रेसले ९६–९६ जना उम्मेदवार उठाएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ९१ जनाको उम्मेदवारी दर्ता भएको छ भने तेस्रोमा जनता समाजवादी पार्टीबाट ७८ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा (माओवादी केन्द्र)ले ७२ जनाको दर्ता गराएको छ भने नेकपा (एकिृकृत समाजवादी)बाट ७० जनाको उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्रबाट भने ५८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

भरतपुरमा पनि एमालेकै उम्मेदवार धेरै – भरतपुर महानगरपालिकामा २३ राजनीतिक दल र स्वतन्त्रबाट गरेर सात सय १७ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा सबैभन्दा धेरै नेकपा (एमाले)बाट एक सय ३८ जनाको उम्मेदवारी दर्ता भएको छ भने दोस्रोमा नेपाली कांग्रेसबाट नेकपा (एमाले) को भन्दा दुई जनाले कम अर्थात एक सय ३६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

तेस्रोमा नेकपा (माओवादी केन्द्र)बाट एक सय २३, चौथोमा नेकपा (एकीकृत समाजवादी)बाट एक सय चार र पाँचौमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ७५ जनाको उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्रबाट भने ५२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको हो ।

ललितपुरमा कम उम्मेदवार – ललितपुर महानगरपालिकामा सबैभन्दा कम १६ राजनीतिक दल र स्वतन्त्रबाट गरेर ६ सय ३७ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये सबैभन्दा धेरै नेकपा (एमाले)बाटै एक सय ३४ जनाको उम्मेदवारी परेको छ भने दोस्रोमा नेपाली कांग्रेसबाट नेकपा (एमाले)भन्दा दुई जना कम अर्थात् एक सय ३२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

तेस्रोमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक सय पाँच जना, चौथोमा नेकपा (माओवादी केन्द्र)बाट एक सय चार र पाचौँमा नेकपा (एकीकृत समाजवादी)बाट ५४ जनाको उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्रबाट भने ५३ जनाको उम्मेदवारी दर्ता भएको जनाइएको छ । निर्वाचन आयोगले वीरगञ्च महानगरको भने उम्मेदवारको विवरण सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय