नेकपा एसलाई बोक्दा सिन्धु माओवादीमा विद्रोह

सिन्धुपाल्चोक । नेपालीमा एउटा उखान छ, भूईंको टिप्न खोज्दा, खल्तीको नझरोस् । पछिल्लो समय नेपालको राजनैतिक दलहरुमा यो उखान झनै चर्चा हुने गर्दछ ।

यही उखान अहिले माओवादी केन्द्र सिन्धुपाल्चोकले भोगेको छ । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये २०७४ को चुनावमा माओवादी केन्द्रले चौतारा साँगाचोकगढी नगरपालिका र भोटेकोशी गाउँपालिका जितेको थियो । ती दुवै पालिकामा अहिले पनि माओवादीले जित्ने धेरैले आँकलन गरेका छन् । माओवादीले पनि यो दुवै पालिकालाई जित्ने लिस्टमा राखेको छ ।

तर उम्मेदवार मनोनयनको बेला दुवै पालिकामा माओवादी केन्द्रले नसोचेको क्षति व्यहोर्न परेको छ । सभामुख अग्निप्रसाद सापकोटाको गृह नगरपालिका र माओवादी केन्द्रका पाँच जना केन्द्रीय सदस्यसमेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गर्दा कार्यकर्ताहरु आक्रोशित भए । उम्मेदवारसहित नेताहरुमाथि आक्रमणको प्रयास गरे । निर्वाचन कार्यालय तोडफोड भयो ।

माओवादी र एकीकृत समाजवादीले गठबन्धन गर्दा वडा नम्बर १ र १४ लाई कार्यकर्ताहरुले मुख्य आधार बनाएर असन्तुष्टि पोखे । यी दुवै वडामा एकीकृत समाजवादीलाई वडा अध्यक्ष भाग दिएपछि ती वडाका माओवादी कार्यकर्ताहरु आक्रोश पोखेका हुन् । कार्यकर्ताहरुको आक्रोश र असन्तुष्टि तोडफोड र आक्रमणमा बदलियो ।

दुवै वडाका माओवादी कार्यकर्ताको भनाइ थियो, वडामा ३० मत पनि नभएको पार्टीलाई वडाध्यक्ष हामी कसरी स्वीकार गर्न सक्छौं ? मनोनयनको अन्तिम समयमा ती दुवै वडामा माओवादीले उम्मेदवार मिलाए पनि त्योभन्दा अगाडि नै ठूलो क्षति भइसकेको थियो । एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् पूर्वसांसद सुवास कर्माचार्यको पनि यही नगरपालिका भएकाले उनको पनि यो नगरपालिकामा इन्ट्रेस्ट जोडिएको थियो । एकीकृत समाजवादीलाई सम्बोधन गर्न उपमेयरसहित दुई वडा दिएको छ । एकीकृत समाजवादीले उपमेयरमा सीता थापालाई अघि सारेको छ । थापाविरुद्ध नेकपा एसका यज्ञराज सापकोटाले वागी उम्मेदवारी दिएका छन् ।

यसै पनि चौतारा साँगाचोकगढी नगरपालिकामा निर्वतमान मेयर अमानसिं तामाङका कारण माओवादीलाई समस्या सुरु भइसकेको थियो । पार्टी परिवर्तन गर्न लागेका तामाङलाई रोक्न माओवादी अध्यक्ष प्रचण्डले टिकटको आश्वासन दिए पनि माओवादीले तामाङलाई टिकट नदिएर माओवादी केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटालाई उम्मेदवार बनाएपछि उनले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् । उनीसँग व्यक्तिगत रुपमा २५ सय मत रहेको धेरैको अनुमान छ ।

माओवादी नेता कार्यकर्ताहरुको असन्तुष्टि सामाजिक सञ्जालमा छरपस्ट छ । दुई वडा अध्यक्षसहित अन्य धेरै नेता कार्यकर्ताहरुले पार्टी छाडेको घोषणा गरेका छन् । तर माओवादी नेताहरुले उम्मेदवार मनोनयनको दिन भएको घटना स्वतन्त्र समूहबाट निर्वाचन कार्यक्रम बिथोल्ने गरेर भएको र यो घटनाले आफूहरुलाई कुनै समस्या नहुने दाबी गर्दै आएका छन् ।

भोटेकोसीमा पनि समस्या – २०७४ मा चुनाव जितेको भोटेकोसी गाउँपालिकामा पनि पुरानै उम्मेदवारलाई टिकट दिँदा माओवादीमा चरम समस्या सिर्जना भएको छ । हालका अध्यक्ष राजकुमार पौडेललाई उम्मेदवार बनाएपछि पालिका कमिटीका अध्यक्ष आङछिरीङ शेर्पा, वर्तमान उपाध्यक्ष दादबुटी शेर्पा, वडा अध्यक्ष दीपेन्द्र श्रेष्ठसहित ५० बढी माओवादीका स्थानीय नेताहरुले पार्टी छाडेका छन् ।

पार्टी छाडेको समूहले दीपेन्द्र श्रेष्ठलाई स्वतन्त्र उम्मेदवारसमेत उठाएका छन् । माओवादीले यसअघि चुनाव जितेका दुवै पालिकामा ‘ग्राउण्ड रियालिटी’लाई बुझ्न नसक्दा समस्या सिर्जना भएको माओवादीका स्थानीय नेताहरु बताउँछन् ।- श्रोत- दिनेश थापा ( नेपाल प्रेस )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय