एमालेको चुनावी मनोविज्ञान : कांग्रेससँग त्रास, कांग्रेसकै मतदातासँग आश !

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको दिन आउन ६ दिन मात्रै बाँकी रहँदा देशभर राजनीतिक दलहरू चुनावी तालमेल र उम्मेदवार चयनको रस्साकस्सीमा लागेका छन् ।

स्थानीय सरकारको नेतृत्व आफ्नो पक्षमा पार्नका लागि राजनीतिक दलहरू मत विश्लेषण, चुनावी रणनीति र उम्मेदवार चयनसम्मका कामको चटारोमा छन् ।

निर्वाचनमा गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेका पाँच राजनीतिक दललाई तालेमलेको हिसाब मिलाउन असिनपसिन छ ।

संघीय सरकारको बागडोर समेत सम्हालेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावमा मोर्चाबन्दी गर्ने सैद्धान्तिक सहमति गरेका छन् । तर, स्थानीयस्तरमा सिट बाँडफाँटमा उनीहरूका लागि महाभारत जत्तिकै कठिन छ । उनीहरू नेकपा एमालेकाविरूद्ध गठबन्धन बनाइरहेका छन् ।

वैशाख ३० मा हुने निर्वाचनबाट एमालेलाई ‘साइजमा ल्याइदिने’ हुंकारसहित मोर्चाबन्दी गरेको पाँच दललाई सिट बाँडफाँडले हैरानी दिएको छ ।

एक्लै चुनावमा भिड्ने बताउँदै आएको एमाले पनि चुनाव नजिकिँदै गर्दा पाँच दल बाहिरका ससाना दललाई समेट्ने प्रयासमा लागेको छ ।

देशभर कहीँ पनि स्थानीय तहको नेतृत्वमा नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल परिवार दलले एमालेसँग चुनावी सहकार्य गर्ने भएका छन् । उनीहरू एमालेकै चुनाव चिह्नमा चुनावी मैदानमा खडा हुन सहमत भएका छन् ।

यसले राजनीतिक दलहरू चुनावी चेपुवामा कसरी पेलिएका छन् भन्ने बताउँछ । २०७४ को स्थानीय तहको चुनावमा स्थानीय तहमा २९४ स्थानमा जितेर प्रमुख दल भएको एमाले पनि अहिले पाँच दलीय गठबन्धनसँग तर्सिरहेको छ ।

एमालेको मुख्य प्रतिस्पर्धी कांग्रेस र भर पनि कांग्रेसकै मतदाताको 

सशक्त चुनावी प्रचार अभियान चलाइरहेको नेकपा एमालेले देशभर स्थानीय तहको निर्वाचनमा मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुने विश्लेषण गरेको छ । एमालेका उपाध्यक्ष युवराज ज्ञवाली देशभर कांग्रेससँग नै चुनावी प्रतिस्पर्धा हुने बताउँछन् ।

‘एमाले सरकारमा हुँदा गरेको काम जनताले बुझेका छन् । जनता एकताको पक्षमा पनि छन् । विभाजनको पक्षमा छैनन् । त्यसो हुँदा विभाजित भएर गएका पार्टीलाई मत दिँदैनन् । एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग हो’, ज्ञवालीले भने ।

यसअघिको स्थानीय तहको चुनावमा कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गर्दा पनि स्थानीय तहमा एमाले नै पहिलो दल बन्न सफल भएको थियो । त्यसबेला एमालेले २९४ स्थानीय तहका जित्दा कांग्रेसले २६६ स्थानीय तहमा जित हात पारेको थियो । उक्त चुनावमा एमाले २४५ स्थानीय तहमा दोस्रो भएको थियो । कांग्रेस भने २९० स्थानीय तहमा दोस्रो भएको थियो ।

यसपटकको चुनावमा पनि देशव्यापीरूपमा एमाले र कांग्रेसको बीचमा नै मुख्य प्रतिस्पर्धा हुने एमालेको विश्लेषण छ ।

अनौपचारिक छलफलका क्रममा एमाले नेताहरू भन्छन्, ‘चुनावी गठबन्धन हुँदा कांग्रेसका कार्यकर्ताहरू गठबन्धनप्रति इमान्दार नहुने देखिएको छ । कांग्रेसले माओवादीलाई भोट हाल्दैनन् । त्यसको फाइदा एमालेलाई हुन्छ ।’

एमाले र माओवादीका कारण भोट काटिने चिन्ता

कुल ७५३ स्थानीय तहमध्ये कम्तिमा पनि ६० प्रतिशत अर्थात ४५० स्थानीय तहमा जीत निकाल्ने एमालेका नेताहरूको दाबी छ । जुन असाध्यै महत्वाकांक्षी आकलन हो । २०७४ को स्थानीय तहको निर्वाचनका बेला देशभर एमालेको माहोल थियो । नाकाबन्दीसँग ओली नेतृत्वको सरकार जुधेको, चीनसँग पारवहन सम्झौता गरेको लगायतको राष्ट्रियताको मुद्दा एमालेले देशव्यापीरूपमा स्थापित गरेको थियो ।

त्यस्तो अवस्थामा पनि एमालेले बल्लतल्ल ४० प्रतिशत स्थानमा जित हासिल गरेको थियो । तर, अहिले एमाले विभाजन भएको छ भने पाँच राजनीतिक दलले एमालेलाई घेराबन्दी गरेका छन् ।

केन्द्रीय नेताहरूले ६० प्रतिशत स्थानमा एमालेको जित आउने दाबी गरिरहँदा स्थानीय तहका नेता कार्यकर्ताको मनोविज्ञान भने अर्कै छ । एमालेको चुनावी जीतमा माओवादी केन्द्र र एकीकृत समाजवादी अवरोधक बन्न सक्ने स्थानीय नेता कार्यकर्ताको विश्लेषण छ ।

एमाले उदयपुरका जिल्ला तहका एक नेता केन्द्रीय नेताहरूले दाबी गरेजस्तो एमालेको चुनावी जीत सजिलो नभएको बताउँछन् ।

‘नेताहरूले चुनावी माहोल बनाउन ठूला तथ्यांकसहितको भाषण गर्नु स्वभाविक हो । तर, स्थानीय चुनावी अवस्था त्यति सजिलो छैन,’ उनले भने ।

पाँच दलीय गठबन्धनको तालमेल कसरी हुन्छ भन्ने आधारमा एमालेको चुनावी नतिजा कस्तो रहन्छ भन्ने निर्क्यौल हुने उनी बताउँछन् ।

 

‘पाँच दलीय गठबन्धन भयो भने एमालेलाई फाइदा हुन्छ । गठबन्धन हुँदा माओवादी केन्द्र र एकीकृत समाजवादीले नेतृत्व पाएको ठाउँमा कांग्रेसका कार्यकर्ता भोट हाल्न जाँदैनन् । ती स्थानमा जित्न एमालेलाई सजिलो हुन्छ’, जिल्ला तहका ती नेताले भने ।

तर, कांग्रेसले प्रमुख उम्मेदवारको टिकट पाएको ठाउँमा एमालेले जित्न कठिन हुने उनको विश्लेषण छ ।

‘कांग्रेसले टिकट पाएको ठाउँमा माओवादी र एकीकृत समाजवादीले एमालेकै भोट काट्ने हुन् । कांग्रेसको भोट बिग्रिँदैन । त्यसको बेफाइदा एमालेलाई हुन्छ’, उनले भने ।

२०७४ को तुलनामा अहिले एमालेको भोट बिग्रिएको स्थानीय तहका नेता कार्यकर्ताको विश्लेषण छ । तर, एमालेको नेतृत्व भने यसलाई स्वीकार गर्न तयार छैन । एमालेमा प्रवेशको लहर चलेको र हरेक दिन हजारौँ मानिस एमाले प्रवेश गरिरहेकाले जनतामा एमालेको आकर्षण रहेको नेताहरूको दाबी छ । एमाले अध्यक्ष केपी शर्मा ओली देश दौडाहामा रहेर चुनावी प्रचार गरिरहेका छन् ।

नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरू भने स्थानीय तहमा चुनाव नजिते पनि मूल उद्देश्य एमालेलाई चुनावमा हराउने नै हुने बताउँछन् ।

 

दोलखा जिल्लाका एमाले नेतामा पनि स्थानीय चुनावमा एकीकृत समाजवादीसँग संशय छ । अघिल्लो चुनावमा एमालेले जितेको दोलखाको भीमेश्वर नगरपालिका एमाले विभाजन भएकै कारण यसपटक जित्न मुश्किल पर्ने दोलखाका एमाले नेताहरू बताउँछन् ।

‘कांग्रेसको भोट बिग्रिएको छैन बरू बढेको छ । एमालेको भोट कम्युनिस्ट पार्टीहरूले नै काट्ने हुँदा नजिता प्रभावित हुने सम्भावना छ । तर, हामी अघिल्लो जीतलाई कायम गर्ने गरी तयारी गरिरहेका छौं’, दोलखाको जिल्ला तहको एक नेताले बताए ।

कांग्रेससँग गठबन्धन नभएको अवस्थामा माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर चुनावमा जाने अवस्था छ । एमाले र कांग्रेस एक्लाएक्लै प्रतिस्पर्धा गर्ने र माओवादी केन्द्रसँग समाजवादीले सहकार्य गर्ने अवस्थामा पनि बेफाइदा भने एमालेलाई हुने स्थानीय राजनीतिक कार्यकर्ताको विश्लेषण छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय