गुल्मीका ६ स्थानीय तहमा सबै दल मिल्दा पनि एमाले नै बलियो, बाँकी ६ वटामा कडा प्रतिस्पर्धा

रुपन्देही । नेकपा एमालेका दुई केन्दीय सचिव तथा पूर्वमन्त्रीहरु प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृहजिल्ला गुल्मीमा रहेका १२ स्थानीय पालिकामा गत निर्वाचनमा एमालेले ७ वटामा प्रमुख तथा ९ वटामा उपप्रमुख जितेर बर्चश्व जमाएको थियो ।

कांग्रेस माओवादी गठबन्धन बनेर जाँदा पनि केही पालिकामा जीत निकालेको एमालेले अहिले त्यो विरासत कायम राख्न सक्छ वा सक्दैन भन्ने विषयमा अड्कलबाजी सुरु भएका छन् ।

गुल्मीका केही पालिकामा सबै दल एकातिर भएपनि एमालेलाई जित्न कठिन नहुने देखिन्छ । एमाले एक्लै लडे पनि गठबन्धनलाई टक्कर दिनसक्ने स्थानीय तहमा मदाने, इस्मा, छत्रकोट, मालिका, चन्द्रकोट र रुरुक्षेत्र गाउँपालिका रहेका छन्््् । अघिल्लो निर्वाचनमा काँग्रेस–माओवादी गठबन्धनलाका बाबजुद एमालेले जितेको र अहिले माओवादीको पनि धेरै शक्ति एमालेमा आएकाले पार्टी विभाजनको खासै असर यी पालिकामा देखिँदैन ।

पार्टी विभाजन गरेर नेकपा एसमा बनेपनि यति धेरै जनप्रतिनिधि कुनैले पनि त्यो पार्टी नरोजेका कारण र दुई प्रभावशाली नेताहरु एउटै मोर्चामा रहेका कारण जिल्लामा पार्टी कमजोर नभएको एमाले लुम्बिनीका सल्लाहकार देवराज खनाल तर्क गर्छन् । तर केही पालिकामा नेकपा एसले केही मत काट्ने र सत्तारुढ सबै दल एमालेविरुद्ध तालमेलका लागि अगाडि बढेकाले एमालेलाई विरासत जोगाउन चुनौती छ ।

अघिल्लो निर्वाचनमा मदानेमा एमालेका दानबहादुर केसीले ४ हजार ४२३ मत प्राप्त गरी जित हासिल गरेका थिए भने उनका निकटनम प्रतिस्पर्धी नेपाली काँग्रेसका महेन्द्र कुँवरले २ हजार २६६ मत ल्याएका थिए । यस्तै, माओवादी केन्द्रका बेगमबहादुर चन्दले ७२५ मत हासिल गरेका थिए । यो पालिकामा एमालेका उम्मेदवार केसी २२६६ मतान्तरले विजयी भएका कारण पनि यहाँ गठबन्धन भएमा पनि एमाले नै बलियो रहेको आँकलन गरिएको हो । तर नेकपा एकीकृत समाजवादीमा लागेकी सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको जन्मस्थान समेत रहेको यो पालिकामा रहेकाले एमालेलाई प्रभावित पार्ने दावी सो पार्टी निकटतस्थहरुले गरेका छन् ।

त्यस्तै इस्मा गाउँपालिकामा एमालेका लक्ष्मण बिष्टले ५ हजार ५५ मतका साथ जित हासिल गरेका थिए । यहाँ काँग्रेसका चन्द्रबहादुर महतले ४ हजार मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका उम्मेदवार दुर्गाचन्द्र बोहराले ५६९ मत पाएका थिए ।

रुरुक्षेत्र गाउँपालिकामा अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादीबीच तालमेल हुँदा पनि एमालेले जित हासिल गरेको थियो । एमालेबाट निलकण्ठ गौतमले ५ हजार २२२ मतका साथ जित हासिल गर्दा काँग्रेस–माओवादी गठबन्धनका उम्मेदवार यदु ज्ञवालीले ३ हजार ७६३ मतमात्र हासिल गरेका थिए ।

छत्रकोट गाउँपालिकामा पनि अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादीबीच गठबन्धन हुँदा पनि एमालेले प्रमुख र उपप्रमुख दुबै पद जितेको थियो । प्रमुख पदमा काँग्रेसका उम्मेदवार अनन्त पौड्यालले ५ हजार १५४ मत ल्याउँदा एमालेका उम्मेदवार मधुकृष्ण पन्तले ५ हजार ५५१ मत ल्याएर जित हासिल गरेका थिए ।

तर अघिल्लो चुनावको मत परिणामलाई आधार मानेर हेर्ने हो भने रेसुङ्गा र मुसिकोट नगरपालिका तथा गुल्मीदरबार गाउँपालिका, सत्यवती गाउँपालिका, चन्द्रकोट गाउँपालिका, कालीगण्डकी गाउँपालिका, धुर्कोट गाउँपालिका र मालिका गाउँपालिकामा एमालेलाई गठबन्धनका अगाडि आफ्नो विरासत जोगाउन चुनौती छ ।

सत्यवती र कालीगण्डकी गाउँपालिकामा अघिल्लो निर्वाचनमा एमाले र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको थियो । अर्कोतिर काँग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।

यी दुई गठबन्धनमध्ये सत्यवतीमा एमालेले उपाध्यक्ष पद जितेको थियो भने काँग्रेस–माओवादी गठबन्धनबाट काँग्रेसका पारिश्वर ढकालले पालिका अध्यक्ष पदमा जित हासिल गरेका थिए । पालिका अध्यक्ष पदमा एमाले उम्मेदवार अमरसिंह सिंजापति जम्मा ४४ मतान्तान्तरले पराजित भएका थिए ।

ढकालले ५ हजार १९७ मत प्राप्त गर्दा सिंजापतिले ५ हजार १५३ मत प्राप्त गरेका थिए । गठबन्धन हुँदा यस्ता पालिकामा असर पर्ने देखिन्छ । यस्तै, कालीगण्डकी गाउँपालिकामा पनि यी दुई गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुँदा एमाले उम्मेदवार टिकाराम ढकाललाई ५१९ मतान्तरले पराजित गर्दै काँग्रेसका बेद थापा मगरले पालिका प्रमुख पद जितेका थिए । थापाले ४ हजार २८९ मत प्राप्त गरेका थिए भने ढकालले ३ हजार ७७० मत र राप्रपाले ४१ मत प्राप्त गरेको थियो ।

चन्द्रकोट गाउँपालिकामा काँग्रेसका द्रोणबहादुर खत्री ३ हजार ३४० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका मिनलाल श्रेष्ठले ३ हजार ६२ मत ल्याएका थिए । यहाँ माओवादी केन्द्रका युवराज केसीले २ हजार २३८ मत हासिल गरेका थिए ।

त्यस्तै मालिका गाउँपालिकामा एमालेका रितबहादुर थापाले ४ हजार ४२ मत प्राप्त गरी जित हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका ज्ञानबहादुर कार्कीले ३ हजार ४४७ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार देवीराम अर्यालले २ हजार ४० मत प्राप्त गरेका थिए ।

अघिल्लो निर्वाचनमा जिल्लाका दुई नगरपालिका रेसुङ्गा र मुसिकोटमा तीन प्रमुख दल एक्लाएक्लै लडेका थिए । एमालेबाट मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले नेपाली काँग्रेसका कृष्णहरि सापकोटालाई एक हजार ८१ मतले पराजित गरेका थिए । सोमनाथले ६ हजार ६६८ मत प्राप्त गर्दा कृष्णहरिले ५ हजार ५८७ प्राप्त गरेका थिए । माओवादी केन्द्रका उम्मेदबार खुमबहादुर थापाले ७१३ मत ल्याएका थिए

तर अहिले त्यहाँका युवा नेता श्रीराम महतसहितका केही एमाले कार्यकर्ता एकीकृत समाजवादीमा लागेकाले केही मत उनले काट्ने आंकलन छ ।

रेसुुङ्गा नगरपालिकामा अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार भुवनप्रसाद श्रेष्ठलाई एमालेका डिल्लीराज भुसालले जम्मा १८७ मतान्तरले पराजित गरेका थिए । भुसालले ६ हजार ४०५ मत प्राप्त गरेका थिए भने श्रेष्ठले ६ हजार २१८ मत र माओवादी केन्द्रका उम्मेदवार अशोक थापाले ४४३ मत ल्याएका थिए ।

यो नगरपालिकामा तीन प्रमुख दल एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गरेको अवस्थामा पनि एमालेलाई पराजित गर्न नेकपा एसले काट्ने केही मत र गठबन्धनका मत जोड्दा एमालेलाई धेरै चुनौती छ ।

गुल्मीदरबार गाउँपालिकामा काँग्रेसका अशोककुमार थापाले ५ हजार ५७५ मत ल्याएर जित हासिल गरेका थिए । यहाँ एमालेका कृष्ण भुसालले ४ हजार ७५० मत ल्याएका थिए । एमाले विभाजन भइसकेका कारण अहिले यो पालिकामा आफू एक्लै लडे पनि सहजै जित्ने काँग्रेसको आँकलन छ ।

गठबन्धनलाई भाग मिलाउनै सकस

गुल्मीमा एमालेविरुद्ध सबै दल गठबन्धन बनाएर चुनावै मैदानमा जान तयार भएर संयन्त्र त बनाएका छन् तर उनीहरु बीच भागवण्डा मिलाउनै नसक्दा चुनौती थपिएको छ ।

गठबन्धनमा बलियो शक्ति मानिएको कांग्रेसले आफ्नो जित्ने निश्चित मानेका पालिका र गठबन्धन बन्दा जित्न सकिने पालिकामा दावी छोडेको छैन भने माओवादी र नेकपा एसले पनि सोही अनुसारको दावी गरेको छ ।

गत निर्वाचनमा एमालेसँग केही पालिकामा गठबन्धन गरेको जनमोर्चाले पनि आफ्नो बलियो उपस्थिति खोजेको छ । सबै दलका दावी आवश्यकताभन्दा बढी देखिएका कारण समस्या परेको छ, कांग्रेसका एक जिल्ला नेताले भने, एउटा वडा पनि जित्न नसक्ने पार्टीलाई पालिकाको जिम्मेवारी दिन कसरी सकिन्छ अनि जनाधार नै नभएपछि सबै अरुका मत ल्याएर जित्छु भनेर हुन्छ अनि पछि गठबन्धनमा बैमानी भयो भन्ने उनीहरु नै हुन्छन् ।

स्थानीय निर्वाचनमा दलहरुले पाएको मत परिणाम

 

१.इस्मा गाउँपालिका– एमाले(५०५५), कांग्रेस(४०००), माओवादी(५६९)

२.कालीगण्डकी गाउँपालिका– कांग्रेस(४२८९), एमाले(३७७०),राप्रपा(४१)

३.गुल्मीदरवार गाउँपालिका– कांग्रेस(५५७५), एमाले(४७५०), माओवादी(२४४)

४. चन्द्रकोट गाउँपालिका– कांग्रेस(३३४०), एमाले(३०६२), माओवादी(२२३८)

५. छत्रकोट गाउँपालिका– एमाले(५५५१), कांग्रेस(५१५४)

६. धुर्कोट गाउँपालिका– माओवादी(५११६), एमाले(४७५३ )

. मदाने गाउँपालिका– एमाले(४४२३), कांग्रेस(२९५७), माओवादी(७२५)

८. मालिका गाउँपालिका– एमाले(४०४२), कांग्रेस(३४४७), माओवादी(२०४०)

९.मुसिकोट नगरपालिका– एमाले(६६६८), कांग्रेस(५५८७), माओवादी(७१३)

१०. रुरु गाउँपालिका– एमाले(५२२२), माओवादी(३७६३)

११. रेसुङ्गा नगरपालिका– एमाले(६४०५), कांग्रेस(६२१८), माओवादी(४४३)

१२. सत्यवती गाउँपालिका– कांग्रेस(५१९७), एमाले(

५१५३)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय