एमालेका मुख्य नेताहरुमा कम्युनिष्ट चरित्र नभएको, पार्टीमा व्यक्तिवाद मौलाएको, गुटबन्दी बढेकोलगायत दर्जनौँ आरोप लगाउँदै कँडेल हिजोदेखि सो पार्टीबाट निस्किएका हुन् । यस्तो प्रवृत्ति र पात्रकाविरुद्ध अहिलेसम्म पार्टीभित्रै रहेर संघर्ष गरेको तर, सुध्रिने अवस्था नदेखेपछि विद्रोह गर्न बाध्य भएको उनको भनाइ छ ।
‘नेकपा एमालेको जुन पात्र र प्रवृत्तिको खिलापमा मेरो संघर्ष थियो, अहिले त्यही पात्र र प्रवृत्ति अझ झाँगिएर असल नेता र कुशल नेतृत्वको सट्टा प्रभुत्वशाली अभिजात्य वर्गका रुपमा मृतसागर झैँ पसारिएर बसेको छ’, उनले भनेका छन् ।एमालेमा इमान्दार कार्यकर्तालाई भन्दा नेताको चाकडी गर्नेलाई जिम्मेवारी दिने गरेको र त्यसैलाई योग्यताको मापदण्डका रुपमा व्याख्या गरेको उनको आरोप छ ।
पछिल्लो समय दोरम्बा शैलुङ गाउँपालिका कमिटी र प्रदेश कमिटीमा नेतृत्व चयन गर्दा त्यसैगरी योग्यताको मापदण्ड बनाएर इमान्दार नेता–कार्यकर्तालाई पाखा लगाइएको उनले बताएका छन् । आफूले ३२ वर्षसम्म पार्टीमा गरेको योगदानमाथि हिलो छ्याप्ने र अपमान गर्ने काम भएकाले विद्रोह गरेको पनि उनले प्रष्ट्याएका छन् ।
‘पूराना र पार्टीका नाउँमा जीवन अर्पिएका इमान्दार कार्यकर्ताहरुलाई पछाडि पार्ने, गुट र गुटका नेताको चाकडीलाई नै जिम्मेवारी पाउने योग्यताका रुपमा व्याख्या गर्दै व्यवहार भएकाले सच्याउन सम्बन्धित कमिटीमा पटक पटक अनुरोध गर्दा योगदान र इतिहासको स्वस्थ मूल्यांकन गर्न बेवास्ता गरी नेकपा एमालेको नेतृत्व भनेकै गुटमा आवद्ध
र गुटको पूजक हुनुपर्छ भन्ने संकेत र प्रत्यक्ष व्यवहार भएकाले र न्यायपूर्ण सम्बोधन गर्न पूर्ण बेवास्तासमेत भएको छ’, कँडेलले हिजो विज्ञप्ति निकालेर भनेका छन्, ‘अतः पार्टीको मूल नेतृत्व र त्यसको गलत प्रवृत्तिलाई सच्याउन नसकेको स्वीकार गर्दै र दोरम्बा–शैलुङ र रामेछापका हजारौं प्रिय कमरेडहरुको सल्लाह र आग्रहसमेतलाई सम्मान गर्दै आफू नेकपा एमालेबाट अलग भएको घोषणा गर्दछु ।’
एमाले छाडेको घोषणा गर्दै कँडेलले त्यहाँ रहेका इमान्दार नेता–कार्यकर्ताहरुलाई पनि विद्रोहमा उत्रन आग्रह गरेका छन् ।एमालेबाट कम्युनिष्ट आन्दोलनको रक्षा नहुने भन्दै उनले असल पार्टी निर्माणका खातिर एकीकृत समाजवादीमा लामबद्ध हुन आह्वान पनि गरेका छन् ।
’राजनीतिक रुपमा थप सक्रिय हुँदै न्यायपूर्ण, लोकतान्त्रिक, समतामूलक समाज र सबल राष्ट्र निर्माणका लागि नीति र विचार मिल्ने नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भई अगाडि बढ्ने प्रण गर्दछु’, उनले भनेका छन् ।कँडेल पूराना वामपन्थी नेता हुन् । उनी २०४७ सालमा एमालेमा संगठित भएर निरन्तर क्रियाशील छन् ।
२०५४ सालमा गाविस उपाध्यक्ष, विभिन्न गाउँ, इलाका कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीमा रहँदै हालै सम्पन्न अधिवेशनबाट उनी रामेछाप जिल्ला कमिटीमा निर्वाचितसमेत भएका थिए ।कँडेल रामेछापमा लोकप्रिय नेताका रुपमासमेत परिचित नाम हो ।
विवादित छबिका खत्रीलाई माओवादी केन्द्रको प्रदेश उपाध्यक्षको जिम्मेवारी
नेकपा (माओवादी केन्द्र) लुम्बिनीले विवादित छबिका वीरबहादुर खत्रीलाई प्रदेश उपाध्यक्षको जिम्मेवारी सुम्पेको छ ।अनियमिततादेखि दुई वटा फरक नामबाट नागरिकता लिएको आरोप लागेका उनी पार्टीको प्रदेश उपाध्यक्ष चुनिएका हुन्।
खत्रीले फरक नामबाट दुई वटा नागरिकता लिएको भन्दै २०७४ सालमा स्थानीय हरिबहादुर पुनले जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी हालेका थिए ।उनै खत्रीलाई पार्टीभित्र चर्काे विरोधका बीच माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले उपाध्यक्ष बनाएको रोल्पाकै माओवादीहरुले बताएका छन् ।
उजुरीमा २०४२ मंसिर १० गते भिउदे खत्रीको नामबाट ३८९२ नम्बरको र २०४६ वैशाख १५ गते वीरबहादुर खत्रीको नामबाट १८६ नम्बरको नागरिकता लिएकाले छानबिन गरि कारबाहीको माग गरिएको छ ।
स्थानीय पुनको उजुरीपछि जिल्ला प्रशासन कार्यालयले आवश्यक अनुसन्धान गरेर २०७५ असोज २६ गते दुवै नागरिकतासँग सम्बन्धित सम्पूर्ण सक्कल कागजात परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो ।स्रोतकाअनुसार प्रयोगशालाले एउटै व्यक्तिका नामबाट दुई वटा नागरिकता लिएको पुष्टि गर्दै २०७५ कात्तिक ५ गते जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो ।
तर, उजुरी परेको चार वर्ष बितिसक्दासमेत छानबिन प्रक्रिया अघि नबढेपछि स्थानीयहरूले गुनासो गरेका हुन् । सत्ता र राजनीतिक प्रभावका कारण छानबिन रोकिएको गंगादेववासीले आरोप लगाएका छन् ।
खत्रीले जिल्ला प्रशासन कार्यालय रोल्पाबाट दुई फरक–फरक नामबाट नागरिकता लिएको यसअघि नै पुष्टि भएको छ ।कार्यालयको रेकर्डमा उल्लेख भएअनुसार खत्रीले प्रशासन कार्यालयबाटै भिउदे खत्रीको नामबाट पहिलो नागरिकता लिएका छन् ।
जसमा जन्म मिति २०४४ साउन १४ गते उल्लेख छ । दोस्रो नागरिकता २०४६ बैशाख २५ गते नागरिकता टोलीमार्फत लिएको रेकर्डमा देखिन्छ ।मृत्यु भएका साईंला भाइ वीरबहादुरको नामबाट जन्म मिति २०२७ भदौ १ गते राखेर उनले अर्को नागरिकता लिएको रेकर्डमा देखिन्छ ।
नेपाल नागरिकता ऐन २०६३ तथा नेपाल नागरिकता नियमावली २०६३ मा र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका २०६३ अनुसार झुठो विवरण दिएर दुई वा दुईभन्दा बढी नागरिकता लिएको भए पहिले लिएको नागरिकतालाई कायम गरी पछिल्लो नागरिकता प्रमुख जिल्ला अधिकारीले रद्ध गर्ने व्यवस्था छ ।