विश्व प्रकाशको सर्तले प्रधानमन्त्री देउवा तनाबमा

काठमाडौं–आगामि महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले गृह जिल्ला झापा पगेर पार्टीको मार्गचित्र घोषणा गरे ।

शर्माले गृह जिल्ला झापामा ‘हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन; शीर्षकको अवधारणापत्र सार्वजनिक गर्दै उनले राष्ट्रपति पदमा दोहो¥याएर र प्रधानमन्त्रीमा २ पटक भन्दा बढी शपथ लिन नपाइने व्यवस्था गरेका हुन् । वान, टु, थ्री, फोरको नारा दिँदै उनले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा सांसदको शपथ लिन नपाउने प्रस्ताव गरेका हुन् ।

आँफैले प्रवक्ता नियुक्त गरेका शर्माले दुई पटक भन्दा प्रधानमन्त्री बन्न नपाइने घोषणा गरे पछि देउवा दबाबमा छन् । आम कार्यकर्ता माझ लोकप्रिय रहेका शर्माले देउवाले महामन्त्रीमा साथ नदिए सभापतिका आकांक्षी विमलेन्द्र निधिसँग उम्मेदवारी दिने संकेत गरिसकेका छन् ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी र सत्ता गठबन्धनबाट बिस्तारै एक्लिन थालेका छन् । कांग्रेसको १४औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र गठबन्धन दलहरूलाई साथमा लिएर सरकार सञ्चालन गर्नुपर्ने दोहोरो दबाबमा रहेका देउवालाई पार्टीका निकट नेताहरूले बिस्तारै साथ दिन छाडेका छन्। र, गठबन्धन दलका शीर्ष नेताहरूबाट पनि असहयोग सुरु भएको छ ।

पार्टीका पूर्वउपभापति गोपालमान श्रेष्ठले पनि आफूलाई सभापतिको उम्मेदवारका रुपमा अघि सारेका छन्। महामन्त्री नबनाएपछि असन्तुष्ट बनेका नेता ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँणलाई देउवाले सरकारमा सहभागी गराएर उनीहरूको साथ लिने प्रयास गरेका छन्। सरकारमा सहभागी कार्की र खाँणलाई आगामी महाधिवेशनमा पनि देउवाले त्यसैमा चित्त बुझाउने रणनीति लिएको निकट स्रोतको दाबी छ। तर, दुवै नेता महाधिवेशनमा कम्तीमा महामन्त्रीको प्रत्यासी बन्ने रणनीतिमा जुटेका छन्।

सहमहामन्त्री बनाउने आश्वासनमै सीमित भएको भन्दै नेता मानबहादुर विश्वकर्मा पनि देउवासँग सन्तुष्ट छैनन्। देउवाले विकलाई सरकारमा सहभागी गराउन चाहेको भए पनि पार्टीको भागमा सीमित मन्त्रालयमात्र पर्ने भएकाले उनको सम्भावना कमजोर भएको निकट स्रोतको दाबी छ।

नेता प्रदीप गिरी, चित्रलेखा यादव, रमेश रिजाल, महालक्ष्मी उपाध्यायको सामिप्यता पनि देउवासँग पछिल्ला दिनमा पातलो बन्दै गएको छ। नेता रमेश लेखकलाई सभापति देउवाले बढी च्यापेको भन्दै अर्का नेता एनपी साउद केही टाढिएको निकटहरूको दाबी छ।

१३औं महाधिवेशनमा देउवालाई साथ दिएका अर्जुननरसिंह केसीदेखि चन्द्र भण्डारीसम्मले यसअघि नै साथ छाडिसकेका छन्। आफ्नै गृहजिल्लाका सभापतिको पनि साथ लिन नसकेका देउवालाई अहिले पार्टी र सरकार सञ्चालनमा महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महतको बलियो सहयोग छ। उपसभापति विजयकुमार गच्छदार र अर्का सहमहामन्त्री सुनिल थापा भने अहिलेसम्म देउवाकै पक्षमा देखिएका छन्।

महामन्त्री खड्का र सहमहामन्त्री महतबीच पनि प्रधानमन्त्रीको सचिवालय गठनमा एकमत नरहेको स्रोतको दाबी छ। दुई नेताबीचको फरक बुझाइ र प्रस्तावका कारण प्रधानमन्त्री देउवाले प्रमुख स्वकीय सचिवबाहेक अन्य नियुक्त गर्न ढिलो भएको निकट स्रोतको दाबी छ।

देउवा प्रधानमन्त्री नियुक्त भएलगतै बाहिरिएका उनको भिडियोलाई लिएर खड्का र महतबीच पार्टी बैठकमै भनाभनको अवस्था आएको थियो। उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएको र देउवाका भिडियो सार्वजनिक भएकाप्रति सार्वजनिकरूपमै खड्काले देउवाको आलोचना गरेका थिए।

‘प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापतिलाई उहाँ (पूर्णबहादुर खड्का) ले अहिलेसम्म सक्दो सहयोग गरिरहनुभएको छ,’ एक नेताले भने,‘ उहाँले प्रधानमन्त्रीसमक्ष राखेका केही प्रस्ताव अहिलेसम्म कार्यान्वयन नहुँदा केही संशय भने भएजस्तो देखिन्छ।’

आगामी महाधिवेशनमा खड्का उपसभापतिको उम्मेदवार बन्ने पक्षमा छन् भने महतले महामन्त्री वा उपसभापति मध्य एकमा उम्मेदवारी दिने बताउँदै आएका छन्। तर, सभापति देउवा महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न अघिल्लो महाधिवेशनमा जस्तै संस्थापन इतरका एक प्रभावशाली नेतालाई आफ्नो पक्षमा खडा गर्ने रणनीतिमा छन्। – आर्थिक संदेश असोज ४, २०७८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय