गुल्मीमा तरकारी बिक्रीमा  मनपरि ,तम्घासमै फरक फरक मुल्य

सन्तोष महतरा गुल्मी
गुल्मीमा अनुगमन र नियमन गर्ने निकाय आँखा चिम्लेर बस्दा उपभोक्ता मारमा परेका छन् ।

जिल्लाको सदरमुकाम तम्घासमा दैनिक उपभोग्य वस्तुको मूल्य व्यापारीले मनपरि रूपमा राखेपनि अनुगमन र नियमन गर्ने निकाय आँखा चिम्लेर बस्दा उपभोक्ता मारमा परेका हुन् ।

सदरमुकाम तम्घासका चोकचोकमा तरकारी तथा अन्य दैनिक उपभोग्य समानको मूल्य आ–आफ्नै रहेको छ । पुतलीबजारमा प्याजको मूल्यप्रति किलोग्राम ७० रुपैयाँ छ ।

खानीगाउँमा उही प्याजको मूल्य प्रतिकिलोग्राम ६० रुपैयाँ छ । उदिनढुङ्गामा प्रति किलोग्राम ७० पर्ने प्याज फेरि क्याम्पसरोडमा ६५ रुपैयाँ छ । सामान्य प्रकारको तरकारी घिरौला पुतलीबजारमा प्रतिकिलोग्राम ९० रुपैयाँ, खानीगाउँमा १ सय रुपैयाँ र उदिनढुङ्गामा ७० रुपैयाँ किलोग्राम छ ।

तोरीको तेल प्रतिलिटर २ सय ३५ रुपैयाँदेखि २ सय ५० रुपैयाँसम्म छ । यस्ता त केही सामान्य उदाहरण मात्र हुन् । जिल्लामा हरेक प्रकारका खाद्यान्नका समानमा ब्यापरीले मनपरि मूल्य तोकेका छन् । यसरी सामान्य प्रकारका तरकारी तथा अन्य उपभोग्य वस्तुमा व्यापरीको मनपरी मूल्यले उपभोक्ता चर्को मूल्यमा तरकारी किन्न बाध्य छन् ।

तरकारी उत्पादन हुने सदरमुकाम आसपासका क्षेत्रबाट सस्तो मूल्यमा तरकारी खरिद गरेर बिचौलीयाका रूपमा व्यापरीले मनपरि मूल्य बढाएका छन् ।

नियमनकारी निकायको उदासिनताका कारण व्यापरीले जसलाई जति मन लाग्छ त्यति मूल्यमा वस्तुको बिक्री गरिरहेका छन् । जिल्लाका अनुगमन र नियमकारी संस्था गुल्मी उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स र जिल्ला तरकारी तथा फलफूल व्यवसायी संघ गुल्मी हुन् ।

हरेका प्रकारका खाद्यान्नहरूको मूल्य निर्धारण गर्ने यी संघ–संस्थाले अनुगमन र नियमन नगर्नाले उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् । “हामीले खाद्यान्नको मूल्य निर्धारण गरेका छौँ ।

” गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले भने, “हामीले गरेको मूल्य निर्धारणभन्दा माथि ब्यापरी जानु हुँदैन साथमा हामीले अनुगमन पनि गरिरहेका छौँ ।

त्यस्तै चेम्बर अफ कमर्सका उपाध्यक्ष बिरेन्द्र भुषालले पछिल्लो समय समानको खरिद मूल्य बढेकाले स्वाभाविक रुपमा तम्घासमा पनि मूल्य बढेको बताए । “हाम्रो संस्थाको तर्फबाट हामीले मूल्य निर्धारण गरी अनुगमन र नियमन गछौँ ।” उपाध्यक्ष भुषालले भने, “मनपरि रूपमा मूल्य तोकिएको छैन ।” जिल्ला तरकारी तथा फलफूल व्यवसायी संघ गुल्मीका अध्यक्ष यमलाल बेलबासेले तरकारी तथा फलफूलको मूल्यको बारेमा बुझेर नियमन गर्ने बताए ।

“हामीले अहिलेसम्म अनुगमन नगरेको स्विकार गछौँ ।” अध्यक्ष बेलबासेले भने, “चर्को मूल्यमा बेच्ने तरकारी तथा फलफूल पसलेलाई संस्थामा जानकारी गराएर अनुगमन गछौं ।”

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्ला प्रशासन कार्यालय गुल्मीले आफै तत्काल अनुगमन गर्ने बताइन् । “नियमनकारी संस्था गुल्मी उद्योग वाणिज्य संघसहित अरुपनि छन् ।”

प्रमुख जिल्ला अधिकारी शर्माले भनिन्, “सबै संघसंस्थानको प्रतिनिधत्व हुनेगरी जिल्ला प्रशासन कार्यालय गुल्मीले अनुगमन गर्छ । नियमनकारी संघ–संस्थाले अनुगमन गर्न सक्ने भए पनि उनीहरूले तदारुकता नदेखाएपछि जिल्ला प्रशासन कार्यालयले उनीहरूसहित बजार अनुगमन गर्ने भन्दै प्रमुख जिल्ला अधिकारी शर्माले अहिले कोभिडका कारण गरिएको लकडाउन खुकुलो भएकोले अनुगमन गर्न सहज हुने बताइन् ।

तम्घासका व्यापरीले भैरहवा र बुटवलबाट आउने समान डिजेल महँगिएका कारणले सवारी भाडामा बढी खर्च हुने गुनासो गर्दै आएका छन् । तर, जिल्लामा यसभन्दा पहिले धेरै पटक बजार अनुगमन भए पनि यसको दीर्घकालीन फाइदा देखिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय