ग्रामिण क्षेत्रमा अवस्था भयावह बन्दै, मानवीय लापरवाहीले कोरोना नियन्त्रणमा कठिनाई

अनिष पाठक , बागलुङ । मानवीय लापरवाही कै कारण ग्रामिण क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्न कठिनाई देखिएको छ । अनावश्यक हिडडुल गर्ने, लक्षण देखिदाँसमेत परीक्षण नगर्नुका साथै स्वास्थ्य सुरक्षाका उपाय नअपनाउँदा अवस्था भयावह बन्दै गएको छ ।

कोरोनाबाट बागलुङ जिल्लामा सबैभन्दा बढी प्रभावित बनेको बडिगाड गाउँपालिकामा जिल्ला, पालिका तथा वडाले कोरोना नियन्त्रणको लागि विभिन्न पहल गरिरहेतापनि मानवीय लापरवाहीका कारण त्यो सफल हुन नसकेको सरोकारवालाको बुझाई छ ।

पहिला लकडाउन हुन्थ्यो र जो मान्छे आउनुपर्ने हो, कुन सवारी साधनबाट आउँछन् उसले अनुमति लिएर आउने जाने क्रम हुन्थ्यो । तिनीहरुलाई गाउँपालिकाले क्वारेन्टिनमा राख्थ्यो । पिसिआर परीक्षण भएपछि मात्रै घर पठाइन्थ्यो ।

अहिले यातायातमा त्यति सतर्कता, सचेतना, त्यसको अभिलेखीकरण छैन । कहाँबाट आउँछन् जान्छन् भन्ने कुरा नभएको कारण मानिसहरु घर आउने बस्ने क्रम चलेको छ । बिरामी भइसकेपछि मात्रै जनप्रतिनिधीलाई जानकारी आउने हुँदा नियन्त्रणमा थप जटिलता देखिएको छ ।

सरकारको सकेसम्म होम क्वारेन्टिन या होम आइसोलेशन बस्ने र कडा लक्षण देखिएका कठिन भएका मात्रै अस्पताल आउ नत्र नआउ भन्ने नीतिले पनि कोरोना नियन्त्रणका प्रयास प्रभावकारी हुन नसकेको जनप्रतिनिधी बताउँछन् ।

विभिन्न समयमा गरिएका एन्टिजेन परीक्षणबाहेक जेठ २० गते बडिगाडले गरेको ५४ जनाको पिसिआर परीक्षणमा शनिबार र आईतबार (आज) प्राप्त नतिजा अनुसार वडा नम्बर २ का १४ जना र वडा नम्बर ५ का एक जना गरी १५ जनामा कोरोना पुष्टि भएको छ । यो संख्या विगतमा गरिएको परीक्षणमा कोरोना पुष्टि हुनेको संख्या भन्दा केही कम भने हो ।

दोस्रो भेरियन्टको कोरोना लहरमा पालिकामा आजसम्म ४ सय १४ जनामा कोरोना परीक्षण गरिएको छ, जसमध्ये १ सय ४९ जनामा कोरोना पुष्टि भएको छ भने ६ जनाको कोरोना कै कारण ज्यान गएको छ ।

२ सय ३२ जनाको पिसिआर परीक्षणमा १ सय १० जना र १ सय ८२ जनाको एन्टिजेन परीक्षणमा ३९ जनामा कोरोना पुष्टि भएको र संक्रमित मध्ये ५ जना बडिगाड २ स्थित त्रिभुवन नमुना मावि खर्वाङमा रहेको कोरोना अस्थायी अस्पतालमा उपचारत रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरिक्षक चुडाँमणि कंडेलले जानकारी दिए ।

पछिल्लो समय पालिकाले सबै वडामा विभिन्न समयमा परीक्षण गरिरहेको भएतापनि परीक्षणमा सहभागी हुने मानिसको संख्या भने निकै कम रहेको उनले बताए । रोगभन्दा समुदायको डर, सचेतनाको कमी र सुचना नपाउँदा समेत परीक्षणमा मानिसहरु कम सहभागी भएको उनको बुझाई छ ।

“हामीसँग पिसिआर र ऐन्टिजेन्ट दुबै गर्न सक्ने किट पर्याप्त मात्रामा छ” कंडेलले भने, “१/२ जनाको मात्र स्यामपल लिन कठिन होला तर कोरोनाको शंकास्पद लक्षण देखिएका व्यक्तिहरुकै इच्छाअनुसार हामी पिसिआर र ऐन्टिजेन्ट परीक्षण गर्न तयार छौँ । त्यसैले परीक्षणमा सहभागी भईदिनुहोस ।”

कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएका बिरामी समेत परीक्षण नगरी घरमै बस्ने, जथाभावी हिड्डुल गर्ने र कोरोना परीक्षणका लागि स्वाब दिएकाहरु परि रिपोर्ट नआउँदै घरमै आईसोलेट भएर नबसि जथाभावी हिडडुल गर्दा संक्रमण नियन्त्रणमा कठिनाई भएको कंडेलले बताए ।

गाउँपालिका प्रवेश गर्ने नाकाको रुपमा रहेको बडिगाड–२ मा पछिल्लो समय संक्रमण बढ्दो छ । विभिन्न समयको एन्टिजेन्ट परीक्षण र पछिल्लो पिसिआर रिपोर्टको नतिजाले बडिगाड–२ को खर्वाङ, दनियाँ, सिमलचौर, रातडाँडा, राक्से, सक्न्यारलगाएयको क्षेत्रमा कोरोना भाइरस व्यापक रुपमा फैलिएको देखाएको छ ।

बडिगाड–२ का वडाध्यक्ष ढाल प्रसाद शेरचनले देशका विभिन्न शहर र भारतबाट गाउँ फर्किएकाहरु होम क्वारेन्टाईनमा नबस्नु र व्यवसायीहरुले नियमित पसल खोल्नुले पनि गाउँमा संक्रमण बढिरहेको बताए ।

उनले वडामा एन्टिजेन परीक्षण तथा कन्ट्रयाक टे«सिङलाई तीव्र पारिएको र देशका विभिन्न शहर र भारतबाट गाउँ फर्किएकाहरुलाई जनप्रतिनिधी परिचालन गरेर होम क्वारेन्टाईनमा बस्न आग्रह गरिएको बताए ।

शेरचनले धौलागिरी आयुर्वेद औषधालय खर्बाङ शाखासँगको समन्वयनमा वडाका टोल–टोलमा पुगेर रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधी समेत वितरण गरिएको बताए ।

जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिएमसी) को बैंक तथा सहकारीलगायतका वित्तीय संस्था हप्तामा दुई दिन (आईतबार र बुधबार) खोल्न दिने निर्णयले भीडभाड बढने र यसले समस्या निम्त्याउने उनको भनाई छ । गाउँपालिकाले विहान ९ बजेदेखि १२ बजेसम्म पसल खोल्न दिने निर्णय गरेकाले यसलाई थप कडाई गरिने उनले बताए ।

जिल्ला कोभिड संकट व्यवस्थापन समितिले बागलुङ जिल्लाभर कोरोना नियन्त्रण नभएको भन्दै यही जेठ ३१ गतेसम्म केही खुकुलो गरी लकडाउन थप गरेको छ ।

आजदेखि हप्तामा २ दिन आइतबार र बुधबार वित्तिय संस्था खुलाउने समितिको निर्णयले बजारमा भीड बढेको छ । आइतबार बिहान बागलुङका चोक–चोकमा सामान्य समय जस्तै सयौं मानिसको भीड देखिएको थियो ।

टोल टोलमा भईरहेको यस्ता भीडले संक्रमण रोकथाम गर्न कठिन हुने स्थानीयको भनाई छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिले बैंक तथा वित्तिय संस्था आइतबार र बुधबार विहान ७ बजे देखि १० बजे सम्म खुला गर्न पाईने जनाएको हो ।

शनिबार जिल्ला प्रशासन कार्यालय बागलुङका साहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जारी गरेको सुचनामा घरदैलोबाहेक कार्यालयबाट सञ्चालन गरिने सेवा एक चौथाई कर्मचारीबाट गर्न भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय