‘आफु भोकै बस्न सक्छु तर छोरी भोकले तडपिएको देख्न सक्दिन

सप्तरी । हावाहुरी आए भत्किएला झैँ झुप्रो छ ।

पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ । त्यसैमा भान्सा रहेको कोठामा दुई जना सरस्वती नाम गरेकी महिला बस्छन् । एउटीको थर दास हो भने अर्कीको चौधरी । दुबैको मुहार हिजोआज मलिन छ । सस्तोमा पाइएकाले सप्तरीको राजविराज–४ भलुवाही खोला किनारमा एउटा सानो कोठा डेरा लिएका उनीहरूसँगै दासकी १२ वर्षीया छोरी प्रियंका पनि बस्छिन् ।

एउटा खाटमा सुत्न ठाउँ नपुगेपछि खाटसँग जोडेर बेञ्च लगाइएको छ । प्रियंका पनि निन्याउरो र चिन्तित मुद्रामा आमाको छेउमा सँगै देखिन्छिन् । राजविराज नगरपालिका–६ माइत भएकी सरस्वती दासको १६ वर्षकै उमेरमा सप्तरीको हनुमाननगर बजारका उमेश दाससँग मागी विवाह भयो । विवाह भएर घर गएपछि मात्र उनलाई थाहा भयो कि त्यो घर आफ्नो नभई सासुको माइती रहेछ ।

केही महिनापछि सासुलाई उनका माइतीले घरबाट निकालेपछि सरस्वतीको परिवार घरवारविहीन भयो । सासुले त उनको अर्को भाइकोमा शरण पाईन । तर नवविवाहिता उनले सहारा पाईनन् ।

श्रीमान सन्तोष साहुजीको पसलमा मिठाइ बनाउथ्ये र केही रकम हात लाग्थ्यो । दासका अनुसार उनी पनि मादकपदार्थ र नशालु पदार्थ सेवनकर्ता भएकाले त्यसैमा पैसा सक्थे । दासले भनिन्, “श्रीमानले त्यतिबेला छाडनु भयो, जतिबेला सबैभन्दा बढी सहाराको जरुरी थियो ।’’

गर्भवती भएका बेलामा श्रीमानले छाडेर बेपत्ता भएको घटनालाई उनी सबैभन्दा अप्ठ्यारो समयको रूपमा सम्झिन्छिन् । गर्भवती भएका बेला घरपरिवारबाट कुनै पनि सहयोग नपाएपछि माइती घरमा नै गएर छोरीलाई जन्म दिएको उनले सुनाईन् ।

सानै उमेरमा विवाह गरी आमा बनेकी दासले रोजीरोटीका लागि तरकारी पनि बेचिन् । रोजगारी तथा कमाइखान तरकारी बेच्ने व्यवसाय उनको लागि सुरक्षित भएन । तरकारी कुहिने र पर्याप्त पुँजी नभएपछि गुजारा चलाउन उनलाई समस्या भयो । पछिल्लो समय उनी होटलमा भाँडा माझ्ने काम गर्छिन् ।

तरकारी बिक्री गर्दा दासको चिनजान भवन निर्माणमा मजदूरी गर्दै आएकी सरस्वती चौधरीसँग भयो । एउटै नाम भएका उनीहरूको चिनजान मित्रतामा परिणत भयो । सुनसरीको भोक्राहा गाउँपालिका–६ नरसिंह घर भएकी चौधरीका श्रीमान् दमका रोगी थिए ।

श्रीमानको मृत्यु र एक मात्र छोरीको विवाहपछि एक्ली बनेकी ३९ वर्षीया सरस्वती मजदूरी गर्दै राजविराज आईन् । भवन निर्माणको ज्याला मजदूरीको काम दैनिक रूपमा नपाएपछि उनी स्थायी कामको खोजीमा थिईन् ।

यस काममा दासले सघाउनु भयो र उनलाई पनि होटलमा सँगै काम दिलाईन् । बिहान ७ बजे होटल जाने गरेका उनीहरूले राति साढे ९ बजे छुट्टी पाउँछन् । दुबै जनाले महिनाको सात÷सात हजार रुपैयाँ पाउँछन् । खर्च बचतका हिसाबले दुबै जनासँगै एउटा कोठामा बस्न थालेका हुन् ।

उनीहरू काम गर्दै आएको होटल कोभिड–१९ रोकथामका लागि भएको लगातारको बन्दाबन्दीका कारण अहिले बन्द छ । बन्दाबन्दी खुल्ने अनिश्चित भएसँगै होटल खुल्ने पनि अनिश्चित बनेपछि होटल सञ्चालकले उनीहरूलाई छुट्टी दिएका छन् ।

न्यून तलबमा जसोतसो गुजारा चलाइरहेका उनीहरूलाई अहिले हातमुख कसरी जोर्ने भन्ने चिन्ता छ । उनीहरूलाई कोभिड–१९ को सन्त्रासभन्दा पनि भोकभोकै मरिन्छ कि भन्ने चिन्ताले सताउन थालेको छ ।

छोरी जन्मिदा र हुर्कदा माइतीको सहयोग भए पनि हाल सहयोग नभएको दासले बताईन् । लकडाउनका बेला माइत जाँदा भाइ बुहारीले कोरोनाका बेला नआउन भनेको उनले सुनाईन् । बन्दाबन्दीले होटल बन्द भई काम गर्न नपाउँदा आफूहरूलाई घरखर्च चलाउन निकै समस्या परेको उनीहरूको भनाई छ ।

बन्दाबन्दी भएको १७ दिन पुगेको छ । उनीहरूसँग भएको पैसा पनि सकिएको छ । उहाँहरूसँग नत पैसा छ, नत एक छाक गाँसको व्यवस्था गर्ने अन्य उपाय नै छ । पोषणयुक्त खाना खाने कुरा त परै जाओस् घरमा साँझ, बिहानको छाक कसरी टार्ने भन्ने उनीहरूलाई चिन्ता छ ।

चौधरीको श्रीमानको मृत्यु भइसकेको छ भने दासको श्रीमान सम्पर्कमा छैनन् । चौधरीको एक मात्र छोरीको विवाह भइसकेको छ भने दासको एउटी छोरी नाबालिका छिन् । होटलमा काम गर्दै आएका उनीहरूले कोभिड–१९ रोकथामका लागि सुरु भएको बन्दाबन्दीका कारण काम गर्न पाएका छैनन् ।

बन्दाबन्दीका कारण काम गर्न नपाएपछि उनीहरूलाई दैनिक छाक टार्न समेत मुस्किल परेको छ । काम गर्ने होटलमा नै दुई छाक खान पाइरहेका उनीहरूको होटल बन्द भएपछि खाने समस्या भएको हो । त्यसै माथि १२ वर्षीया छोरी भोकाउँदा झनै पिडा थपिने गरेको दासले बताईन् । आँखाभरि आँसु लिदै दासले भनिन्, “आफ्नो भोकभन्दा पनि छोरीलाई भोकले तडपिएको देख्दा निकै गाह्रो हुन्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय