माघेसंक्रान्तिमा कुण्ड स्नान गर्नेको भिड

दाङ । माघेसंक्रान्तिमा मेला तथा महोत्सव लगाउन प्रशासनले रोक लगाएपनि मन्दिर तथा कुण्डहरुमा भिड लागेको छ ।

आज माघेसंक्रान्तीमा लमही नगरपालिका–९ रिहार स्थित तप्तकुण्डमा स्नान र मन्दिरमा पुजाआजा गर्न भक्तजनहरु विहानैदेखि बाक्लो संख्यामा आइपुगेका छन् ।यसअघि रिहारमा औपचारीक रुपमा मेला–महोत्सव आयोजना गरिन्थ्यो ।

तर, यस पटक कोभिड–१९ ले गर्दा औपचारीक रुपमा मेला महोत्सव आयोजना गर्न प्रशासनले रोक लगाएको छ । यद्यपी, दर्शनार्थीहरु भने रोकिएका छैनन् ।

दर्शनका लागी छिमेकी देश भारतको उत्तरप्रदेशका विभिन्न जिल्लाबाट हिजो राती देखिनै आउने क्रम सुरु भएको थियो ।

‘राती ९ बजे आईपुगेका हौं । योसँंगै तीन पटक भयो रिहार आउन थालेको,’ भारत बहराईच घर भएका राज सेवनले भने,‘यस पटक त मेला लागेको रहेनछ । पुजा सकियो अव घर फर्किन्छौं ।’

पारिवारिक सुःख र पशु चौपायालाई रोगव्याधीले नसताउने धार्मिक विश्वासका साथ यहाँ पूजा आरधनाको साथै स्नान गर्न आउने गर्छन् ।

रिहारमा आउने भक्तजनको विशेष आकर्षण भौरी (ढुंगा) बोकेर मन्दिर परिक्रमा गर्नुमा रहेको छ । को बलियो भन्ने मान्यताका साथ ढुंगा बोकेर मन्दिर परिक्रमा गर्ने कार्य पहिलेदेखि नै चलिआएको छ ।

द्वापर युुगमा ऋषिमुनिहरुले बिहार गरेको स्थलको रुपमा रिहार परिचित छ । बगारबाबासहित भैने पर्शुु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिर जस्ता तीर्थाटन पर्यटकहरुको लागि धार्मिक संरचना रहेका छन् ।

यो धामको इतिहास पाँच हजार वर्ष पुरानो मानिन्छ । द्वापर युुगमा ग्वालाहरुले गाई चराउने र गाईले बगारबाबालाई दूध चढाउने गरेको धार्मिक विश्वास छ ।

राजमार्गको दायाँ बाँयामा फैलिएको रिहार धाम एकसय हेक्टर क्षेत्रफलमा रहेको छ । रिहारमा तीर्थाटनका पर्यटकहरुले बगारबाबाको पूजा गर्दछन् । बगारबाबा खुशी भएमा सन्तान र धन सम्पत्ति लाभ हुुन विश्वास छ ।

रिहारलाई यदुवंशी अर्थात यादवहरुले आफ्नो पुर्खाको उदगमस्थल मान्दै आएका छन् । जुन कारणले बगारबाबा क्षे त्र यदुवंशीहरुको सांस्कृतिक धरोहरका रुपमा लिने गरेका छन् । अर्काे तर्फ रिहारमा थारु जातीहरुको पनि सस्कृति जोडिएको छ ।

थारु जातीहरुले रिहार क्षेत्रमा परापुर्वकालदेखि नै गाई चराउने, गोठ राख्ने र बगारबावालाई पूजाआजा गर्दै आएका छन् ।

रिहार धाम यादव र थारु जाती दुवैको धरोहर हो । रिहारमा द्वापर युगमा दंगीशरण राजा र यदुवंशीको बीचमा घोडीको विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान रिहार आएको किम्बदन्ती पनि छ ।

विगतका वर्षमा लाग्ने मेला भन्दा यसपटक व्यवस्थापन पक्ष बलियो देखिएको मेला अवलोकन गर्न आएकाहरुले प्रतिकृया दिएका छन् ।

श्रोत लुम्बिनी टामिस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय