हड्डीलाई मजबुती प्रदान गर्नका लागि शरीरमा क्याल्सियमको आवश्यकता पर्छ ।
यसका साथै शारीरिक विकासका लागि पनि क्याल्सियम अत्यधिक महत्वपूर्ण मानिन्छ । यदि बालबालिकामा क्याल्यिमको कमी भए उनीहरुको शारीरिक विकासमा असर पर्न सक्छ । शिशुमा क्याल्सियमको कमी हुनु साधारण हो किनभने शिशु स्तनपानमा मात्रै निर्भर हुन्छन् ।

क्याल्सियमको कमी हुँदा उनीहरुको शारीरिक विकास रोकिने गर्छ । साथै विभिन्न प्रकारको समस्या देखिने गर्छ । शिशुको शरीरमा क्याल्सियमको कमीका कारण र लक्षण कस्ता हुन्छन्, त्यसबारे जानकारी लिऔं ।
शिशुमा क्याल्सियमको कमीका कारणः-थुप्रै शिशुमा जन्मलगत्तै क्याल्सियमको कमी देख्ने गरिन्छ । आखिर यसका के कारण हुनसक्लान्, यसबारे जानकारी लिऔं ।
– जन्मका बेला यदि शिशुलाई अक्सिजनको कमी हुन्छ भने उनीहरुलाई क्याल्सियमको कमी हुनसक्छ । यदि आमा मधुमेहबाट ग्रसित छिन् भने पनि शिशुको शरीरमा क्याल्सियमको कमी हुनसक्छ ।, शिशुमा भिटामिन डीको कमीका कारण पनि क्याल्सियमको स्तर कम हुन्छ ।
– १ वर्षभन्दा कम उमेरका शिशुलाई गाइको दुध दिँदा उनीहरुलाई हाइपोक्याल्सिमियाको समस्या हुनसक्छ किनभने गाईको दुधमा फस्फोरस अत्यधिक मात्रामा पाइन्छ । त्यसैले एक वर्षभन्दा कम उमेरका शिशुलाई गाइको दुध दिनु हुँदैन ।
बालबालिकामा क्याल्सियमको कमी भयो भनेर कसरी थाहा पाउने ?
शिशुमा अत्यधिक चिडचिडापन देखिनु, मांसपेशीमा ऐठनको समस्या, मुटुको गति स्लो हुनसक्छ ,शिशुको रक्तचाप पनि कम हुन्छ, दाँत आउन समय लाग्दा, रातभरी रुने र शरीरबाट अत्यधिक पसिना निस्कने
यो पनि पढ्नुहोस्
काठमाडौं । ललितपुर महानगरपालिभित्रका ६७ वटा ढुंगेधारामध्ये अहिले मुस्किलले १५ वटा जतिमा पानी आउँछ । पानी आउने धारामा पनि मुस्किलले ६ महिनामात्रै पानी खस्छन् ।
अधिकांश पोखरी पनि सुकेका छन् । ढुंगेधारा र पोखरीहरु सुकेसँगै अतिक्रमणको चपेटामा परेका छन् । पानी सोस्ने खुला जमिनको अभावमा इनारहरू सुक्ने अवस्थामा पुगेका छन् । यसको समाधान के होला ?
महानगरपालिकाले ढुंगेधारामा पानी झार्ने योजना अनुरूप चालु आर्थिक वर्षमा ७२ लाख रुपैयाँ बजेट विनियोजन गर्यो । ढुंगेधारामा पानी झरेसँगै धेरै अमूर्त सांस्कृतिक सम्पदाले पूर्णता पाउने महानगरपालिकाको विश्वास छ तर कसरी ?
मेयर चिरिबाबु महर्जन ११ वटा धारामा पानी झार्ने प्रयास भइरहेको बताउँछन् । उनका अनुसार, चालु आर्थिक वर्षभित्र पहिलो चरणमा तीन वटा र दोस्रो चरणमा आठ गरी कुल ११ वटा ढुंगेधारामा पानी ल्याउने लक्ष्यसहित प्रयागलाल जोशीको टिमले काम गरिरहेको छ । जोशी काठमाडौं उपत्यकाको प्राचीन ढुंगेधारासम्बन्धी विज्ञ हुन् ।
गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन ललितपुरको टीकाभैरव १ नं राजकुलोको पानी लगनखेलको सैनिक ब्यारेक छेउको पोखरीमा खसाले पाटन क्षेत्रका ढुंगेधारामा बाह्रै महिना पानी आउने दाबी गर्छन् ।
ढोलाहिटीबाट नखिपोटपट्टि जाने राजकुलो अवरुद्ध भएर खुमलटारतिर गएकोले पाटनको अधिकांश धारामा अहिले पानी नझरेको उनी बताउँछन् । सो राजकुलो ढोलाहिटीसम्म मर्मत पनि गरिएको छ ।
राजकुला मर्मतको योजना
२०७३ सालमा स्थानीय तहको चुनावी माहोल सुरु भइरहेको थियो । अरूले विकास र समृद्धिको नारा लिएर चुनावमा होमिँदै थिए । नगरलाई आधुनिकीकरण गर्नेदेखि प्रविधिको विकास जस्ता मुद्दामा सबै केन्द्रित थिए । त्यही बीचमा महर्जनको एउटा फरक एजेण्डा थियो टीकाभैरव १ नं राजकुलोमा पानी ल्याउने ।
गोदावरी नगरपालिकामा रहेका ३० वटा पोखरीमध्ये झण्डै एक चौथाइ पोखरी सुकिसकेका थिए । सुकेसँगै सरकारी पोखरीप्रति अतिक्रमणकारीहरूको आँखा पनि लागिसकेको थियो । ढुंगेधारामा पानी आउन कम भइरहेको थियो भने ६० हजार हेक्टरमा सिँचाइ सुविधा दिने राजकुलो नहुँदा किसानहरुलाई समेत सिँचाइको असुविधा बढिरहेको थियो । त्यसैलाई पुनर्जीवन दिनको लागि उनले यो एजेण्डा चुनावमा प्रस्तुत गरेको अनलाइनखबरलाई बताए ।
महर्जनले चुनाव जिते, नगरप्रमुख भइसकेपछि उनले सबैभन्दा पहिले आफ्नो पूर्वयोजना अनुरूप राजकुलो सञ्चालनमा ल्याउनको लागि ३० लाख रुपैयाँ बजेट छुट्याए । ‘म किसानको छोरो, मेरो पहिलो प्राथमिकतामा यो कुलो ब्युँताउनु थियो जुन आज सफल भएको छ’ गजेन्द्र भन्छन् ‘यो गोदावरी नगरपालिकाको मात्रै नभएर ललितपुर महानगरको समेत चासोको राजकुलो हो, हामीले आफ्नोतर्फबाट काम सम्पन्न गर्यौं, पाटनको ढुंगेधारामा पानी झार्ने हो भने अब महानगरपालिकाले चासो दिनुपर्छ ।’
नगरपालिकाले राजकुलो सफा गर्नको लागि पछिल्लो ३ वर्ष ३०/३० लाखको दरमा बजेट विनियोजन गरेको छ । यसमा अहिले वाग्मती प्रदेश र ललितपुर महानगरपालिकाले समेत चासो देखाउन थालेको छ । नगरपालिकाले यसको हेरचाह र सरसफाइकोे लागि ८ जना ढलपा नियुक्त गरिसकेको छ । जबकि सिँचाइ मन्त्रालयले ढलपाको दरबन्दी काटेर मन्त्रालयमा कर्मचारी तानेसँगै यो राजकुलोमा दुर्गतिको शृंखला सुरु भएको थियो ।
यो साल १७ वर्षपछि टीकाभैरव १ नं राजकुलोमा हिउँदमा पनि पानी बगेको देख्न पाइएको ललितपुर ठेचोका मचाकाजी महर्जन बताउँछन् । ‘२०६०÷६१ सालतिरसम्म हिउँदमा पनि यो कुलोमा पानी आउने गथ्र्याे । सफा गर्ने मान्छे कोही भएनन् ।’ महर्जन भन्छन् ‘बिस्तारै बर्खामा ढलसँगै बालुवा र गेगर आउन थाल्यो, कुलो भरिँदै गयो र पानी सुक्दै भयो । अहिले पुरानो राजकुलो ब्युँतिएकोमा खुसी लागेको छ ।’
यकिन प्रमाण नपाइए पनि यो राजकुलो लिच्छवि राजा जयदेव द्वितीयको पालामा बनेको विश्वास गरिन्छ । यो राजकुलो पहिले चापागाउँसम्मको मात्रै थियो । मल्लकालमा चापागाउँबाट पाटनसम्म ल्याइएको विश्वास गरिन्छ । तर मल्लकालमा कसैले सिद्धीनरसिंह मल्लको समयमा राजकुलो विस्तार गरिएको भन्छन् भने कसैले यक्षमल्लको निधनसँगै राज्य विभाजित भएपछि तत्कालीन राजाले यसको विस्तार गरेको बताउँछन् । स्थानीय किंवदन्ती अनुसार भक्तपुरका राजाले तान्त्रिक विधिबाट ललितपुरका सबै मुहानहरू सुकाइदिएपछि ललितपुरवासीलाई पानी पिलाउनकै लागि चापागाउँसम्म आइपुगेको राजकुलो पाटनसम्म विस्तार गरिएको भन्ने छ ।
राजकुलोलाई अहिलेको अवस्थामा ल्याउनको लागि चरणबद्ध कामहरु भए । अहिले राजकुलो २०२२ सालतिर भएको पुनर्निर्माणको अवस्थामा पुगेको छ । हाल गठन गरिएको उपभोक्ता समितिले गत जेठमा राजकुलो सफा गर्यो । एक महिनामा साढे ९ किलोमिटर राजकुलो सफा गर्नको लागि ७०० जनाले श्रमदान गरे भने पारिश्रमिक लिएर ४ हजारभन्दा बढीले सो राजकुलोमा काम गरेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए।
अहिले लेलेदेखि सुनाकोठीसम्मको राजकुलो निर्माण गर्ने जिम्मा स्थानीय श्यामबहादुर महर्जनको नेतृत्वमा रहेको उपभोक्ता समितिलाई दिएको छ । सो समितिले राजकुलोलाई प्राचीन स्वरूपमा ढाल्ने भन्दै बीचमा राखिएका सबै ह्युम पाइप हटाउन लगाएको छ ।