मालिकामा गाउँपालिका प्रत्येक वडामा हाटबजार स‍न्चालन्मा

सुमन महतारा, गुल्मी

,गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ घमिरकी बेदकुमारी लम्साललाई आजभोली भ्याईनभ्याई छ । लम्साल पछिल्लो समय खेत र बारीमा मौसम अनुसारका फलफूल साथै तरकारी उत्पादन गर्न बिहानदेखि बेलुकासम्म व्यस्त हुन्छिन् । उनले बारी विभिन्न जातका तरकारी र फलफूल उत्पादन गरेकी छन् । त्यस्तै मालिका गाउँपालिका–६ का ढालबहादुर बिष्टको पछिल्लो दैनिकी पनि फेरिएको छ । उनले पनि बारी विभिन्न जातका तरकारीहरु उत्पादन गर्ने गरेका छन् ।

उनीहरुले खेतबारीमा उत्पादन गरेका तरकारी र फलफूललाई बजारीकरणको कुनै समस्या छैन् । उनीहरु आफुले उत्पादन गरेका कृषि उपज गाउँपालिकाले संचालन गरेको हाटबजारमा लगेर विक्री गर्दै आएका छन् । घरमा उत्पादन भएका तरकारी तथा फलफूलको आम्दानीले घर खर्च चलाउन सहज भएको बताउँछन् । कृषक बिष्ट भन्छन् ‘गाउँपालिकाले हाटबजारलाई दिर्घकालीन योजना बनाई निरन्तरता दिन सकेमा बिचौलियाबाट कृषक ठगिन पर्ने थिएन ।’ सबै वडामा हाटबजार संचालन हुँदा मालिकाका कृषक उत्तिकै उत्साहित छन् ।

गाउँपालिकले जिल्लामै पहिलो पटक प्रत्येक वडामा प्रत्येक दिन हाटबजार संचालन गरेको हो । कृषि उपजलाई बजारीकरण तथा कृषकलाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रत्येक वडामा हाटबजार संचालनमा ल्याएको मालिका गाउँपालिकाले जनाएको छ ।

कृषि तथा पशु जन्य उत्पादन वृद्धि गरी उपयुक्त बजार पहुँच सुनिश्चित गर्ने गत मंसिर १४ गतेदेखि गाउँपालिकामा हाटबजार संचालन ल्याएकोे छ । मालिका गाउँपालिकामा आठ वटा वडा रहेका छन् ।

गाउँपालिकाद्धारा संचालन गरिएका हाटबजारमा स्थानीयस्तरमा उत्पादन भएका मुला, सिन्की ,लोकल कुखुरा, बोका, सुन्तला, भकिम्लो, बेसार, खुसार्नी, बन्दागोभी, फुलगोभी, धनियाँ, स्थानीय उत्पादन हसिँया, भुजेरी, चाल्ना लगायतका सामाग्रीहरु हाटबजार स्टलमा कृषकले ल्याउने गरेको मालिका गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ६ का वडाअध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

आफ्नै गाउँमा उत्पादन भएका तरकारी तथा फलफूललाई हाटबजारको माध्यमबाट विक्रीवितरण गर्न पाउँदा उनीहरु उत्साहित छन् । गाउँपालिकाले संचालन गरेको हाटबजारलाई व्यवस्थित गर्न स्थानीय सरकारसंग उनीहरुले माग राखेका छन् । हरेक कृषकले घरघरमा उत्पादन गरेका उपजलाई हाटबजारको माध्यमबाट प्रचारप्रसार गरी कृषकको उत्पादनलाई वृद्धि गर्ने तयारीमा छ मालिका गाउँपालिका ।

गाउँपालिकाले संचालन गरेको हाटबजारमा स्टल राख्ने कृषकलाई दैनिक ५० रुपैयाँ दिने व्यवस्था मिलाएको छ । कृषिमा २० लाख, पशुपालनमा २० लाख गरी ४० लाख रकम बजेट बिनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए । कृषकले उत्पादन गरेका कृषि उपज सहकारीमार्फत तम्घास, बुटवल लगायतका बजारमा बजारीकरण गर्ने तयारीमा गाउँपालिका रहेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय