मुसिकोटले गत आ.व २०७९/०८० को बार्षिक प्रगति समिक्षा सम्पन्न गर्यो

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० को बार्षिक प्रगति समिक्षा तथा चालु आर्थिक वर्ष २०८०/०८१ का लागि बार्षिक कार्य योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ ।

मुसिकोट नगरपालिका वडा नं ४ स्थित ग्वादिकाचौर सभा हलमा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्षमा नगरपालिका मार्फत सञ्चालित कार्यक्रम, योजना, गतिविधि, खर्च विवरण, खर्चको प्रभावकारीता , स्थानीय तहका अवसर चुनौति तथा आगामी दिनको कार्यदिशा समेतमा शाखा/इकाई प्रमुखहरूले आआफ्नो प्रस्तुती राखेका थिए ।

प्रशासन शाखा मार्फत सञ्चालित कार्यक्रमहरुबारे प्रस्तुती दिँदै प्रशासन शाखा प्रमुख मुना ज्ञवालीले हालसम्म ९९ वटा ऐन, नियम कार्यविधि रहेकोमा चालु आर्थिक वर्षमा मात्रै ८ वटा ऐन, नियम र कार्यविधि निर्माण गरिएको बताउनुभयो । जसमध्ये ४ वटा नयाँ कार्यविधि र ४ वटा संसोधन गरिएको उहाँको भनाई छ ।

नगरपालिकामा रिक्त रहेको दरबन्दीमा पदपूर्तिका लागि परदेश लोक सेवा आयोगमा माग गरिएकोमा भदौसम्म कर्मचारी आउने भन्दै उहाँले गतवर्ष नगरपालिकाले आफ्नै लोगो निर्माण गर्ने, नगरप्रहरी भर्ना गर्ने तथा सार्वजनिक पुस्तकालय स्थापना लगायतका महत्वपूणर् कामहरु सम्पन्न गरेको बताउनुभयो ।

योजना शाखा प्रमुख प्रकाश घिमिरेले गतवर्ष नगरपालिकामा ३ सय ७ वटा योजना मध्ये उपभोक्ता समिति मार्फत २ सय ३४ वटा, शीलबन्दी मार्फत १२, बोलपत्र मार्फत २० र सोझो खरिद मार्फत ४१ वटा योजना सञ्चालन भएको जानकारी दिनुभयो । जसमध्ये उपभोक्ता समिति मार्फत सञ्चालित २३४ वटा योजना मध्ये २३३ योजना सम्झौता भई सम्पन्न भएको बताउनुभयो ।

उहाँले समयमै योजना सम्झौता भएपनि समयमै भने २१ वटा योजना मात्रै सम्पन्न भएको भन्दै १ सय ५ वटा योजनाको भुक्तानी असारमा मात्रै भएको बताउनुभयो । असारमा एकैपटक भुक्तानी दिँदा त्यसको अनुगमन तथा गुणस्तरीय प्रभावकारी भयो भएन भन्ने विषयमा समिक्षा गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले चालु आर्थिक वर्षमा योजनाहरुको प्राथमिकीकरण गर्नुपर्ने र बार्षिक कार्ययोजना बनाई काम गर्नुपर्ने सुझाव राख्नुभयो ।

शिक्षा शाखा प्रमुख चुरा बहादुर छन्त्यालले शिक्षा शाखाको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै गत वर्ष २ वटा प्राथमिक विद्यालय समायोजन, मावि तर्फ ८, नि.मावि तर्फ ४ र प्रावितर्फ ४० जना शिक्षकको पदस्थापन गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले २ वटा स्वास्थ्य चौकीको भवन निर्माणाधिन अवस्थामा रहेको भन्दै गतवर्ष वडा नं १ मा पाठेघरको मुखको क्यान्सर जाँच, वडा नं ७ मा निशुल्क आँखा अप्रेशन शिविर सञ्चालन गर्नुका साथै कुर्घा स्वास्थ्य चौकीमा ल्याव जडान र बरदान सामुदायिक स्वास्थ्य ईकाईमा बर्थिङ सेन्टर स्थापना गरिएको जानकारी दिनुभयो ।

मुसिकोट नगरपालिकामा मानसिक स्वास्थ्यसंग सम्बन्धित बिरामीहरुको संख्या डरलाग्दो बन्दै गएको र जसका कारण आत्महत्या गर्नेहरुको संख्या समेत जिल्लामै उच्च रहेकाले मानसिक स्वास्थ्यका विषयमा विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । कर्मचारी अभाव, मापदण्ड अनुसार भवन नहुनु र समयमै बजेट प्राप्त नहुने लगायतका समस्याहरुका रहेको बताउनुभयो ।

कृषि शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कृषि अधिकृत जनक पौडेलले गत वर्षदेखि कृषकहरुको उत्पादनको बजार ग्यारेण्टी गर्ने गरी कृषि उपज बिक्री सुनिश्चितता कार्यक्रम सुरुवात भएको बताउनुभयो । उहाँले नगरभित्रका उत्कृष्ट कृषक, उद्यमी व्यवसायीहरुलाई सम्मान गर्ने तथा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण र विभिन्न बिउपलहरु, औषधीहरु वितरण गरिएको जानकारी दिनुभयो ।

लैगिंक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख सुमन खरेलले नगरपालिकामा ३ सय ५५ वटा व्यवसाय दर्ता भएकोमा गत आर्थिक वर्षमा २९ वटा नयाँ थप र १४ वटा खारेजी भएको बताउनुभयो । त्यस्तै २६ वटा संस्था दर्ता रहेकोमा गत आर्थिक वर्षमा थप ५ वटा संस्था दर्ता भएको जानकारी दिनुभयो । सामाजिक सुरक्षा भत्तालाई तेश्रो चौमासिकबाट टोलटोलमा वितरण गर्न सुरु गर्नुका साथै असहाय र अपांगता भएकाहरुलाई सहायक सामाग्री, जेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको बताउनुभयो ।

रोजगार शाखा प्रमुख डिलाराम पाण्डेले नगरपालिकाले श्रम स्वीकृती र पुन ः श्रम स्वीकृती प्रदान गर्न थालेको बताउनुभयो । सुचना प्रविधि अधिकृत समुन्द्र विक्रम रायमाझीले नगरपालिका भित्र रहेका २ सय ५५ जना भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरिएको र गरिब घर परिवारहरुको लगत संकलन गरि १ हजार ९ सय ९१ जनालाई गरिब परिचयपत्र वितरण गर्ने चरणमा रहेको जानकारी दिनुभयो । उहाँले यस आर्थिक वर्षमा वामीटक्सार बजार लगायत नगरपालिकाका केही मुख्य बजार क्षेत्रमा सिसिटिभि क्यामेरा जडान गरिने बताउनुभयो ।

आर्थिक प्रशासन शाखा प्रमुख बालकृष्ण गौतमले विनियोजित कुल बजेट मध्ये गत वर्ष चालु तर्फ ८७.२३ प्रतिशत र ८१.३ प्रतिशत गरी समग्रमा ८२.९ प्रतिशत वित्तिय प्रगती हासिल भएको बताउनुभयो । समयमै बजेट प्राप्त नहुनु र स्थानीय संघ र प्रदेश सरकाबीच प्रभावकारी समन्वय अभाव जस्ता समस्या रहेको बताउनुभयो । अन्तिम समयमा असारमा योजना सम्पन्न गर्ने र भुक्तानी गर्दा समस्या हुने गरेको उहाँको भनाई थियो ।

पशु विकास शाखा प्रमुख महेन्द्र पन्थीले देशभर महामारीको रुपमा फैलिएको लम्पी स्कीन रोग विरुद्ध भ्याक्सीनेसन तथा पीपीआर विरुद्धको भ्याक्सीन नियमित रुपमा प्रदान गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्रस्तुत भएका विषय माथि जनप्रतिनिधिहरुले आआफ्नो धारणा राखेका थिए । वडा नं १ का वडाध्यक्ष मोहन घिमिरेले १ लाख भन्दा कम लागतका साना योजनाको सम्झौता र कार्यान्वयन वडाबाटै हुनुपर्ने धारणा राख्नुभयो । उहाँले आन्तरिक आम्दानीको दायरा वृद्धि गर्न सकेमा मात्रै समृद्ध नगर बन्ने बताउनुभयो ।

वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटाले समयमै ठेक्का नहुने तथा काम सम्पन्न नहुने प्रवृत्ति रहेकाले यस विषयमा गम्भीर भएर सोँच्नुपर्ने बताउनुभयो । उहाँले घर बहाल कर नतिर्नेलाई कारबाहीको दायरामा ल्याउनेगरी नीति निर्माण गर्नुपर्ने सुझाव राख्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुँवरले नयाँ जनप्रतिनिधि, कर्मचारी फेरबदल लगायतका समस्याका बाबजुद सिकाईकै वर्षको रुपमा भएपनि उत्कृष्ट कार्यसम्पदान भएको धारणा राख्नुभयो । उहाँले कर्मचारीको क्षमता र सिकाईमा सिमितता रहेको भन्दै एउटै वडा सचिवले ३ वटा वडाको काम गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

नगरप्रमुख जीवन खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय