महिनावारी को समयमा रगत निस्कियो भन्ने आधारमा छुवाछुत गर्न मिल्छ ?

महिनावारी महिलाको जीवनकालमा देखापर्ने एकदमै महत्वपूर्ण प्राकृतिक अवस्था हो। महिनावारी शारीरिक परिवर्तन मध्येको एक परिवर्तन हो। यो करिब १२ वर्षदेखि १५ वर्षबाट सुरु भएर करिब ५० वर्षको उमेर आसपास पुगेपछि अन्त्य हुने गर्दछ। महिनावारीको अन्तर लगभग २८ दिनको रहन्छ ।

महिनावारी २१ दिन वा ३५ दिनमा भए पनि त्यसलाई सामान्य नै मान्न सकिन्छ । महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने संकेत हो । हरेक महिना परिपक्व डिम्ब (ova) डिम्बाशयबाट निस्केर डिम्बबाहिनी नली हुदँै पाठेघरसम्म आउँछ । उक्त समयमा कुनै सुरक्षाबिना यौन सम्पर्क भएमा र योनिभित्र नै वीर्य खसालेमा डिम्बलाई शुक्रकीटले निषेधित गर्न सक्छ र महिला गर्भवती हुन्छिन् ।

यदि डिम्बको शुक्रकीटसँग मिलन भएन भने बच्चा हुर्काउनका लागि पाठेघरमा बन्दै गइरहेको उपयुक्त वातावरण प्रक्रिया आवश्यक पर्ने हर्मोनमा परिवर्तन आउँछ । जसका कारणले पाठेघरको भित्तामा बनिरहेको रगतको तह रोकिन्छ र नियमित महिनावारी प्रक्रिया सुरु हुन्छ ।

महिनावारी बिना परिवारमा सन्तानको जन्म अनि सम्पूर्ण संसारमा मावन जातिको उत्पतिको परिकल्पना असम्भव छ। यति सुन्दर अनि महत्वपूर्ण कुरालाई हाम्रो हिन्दु समाजमा एक पापको रुपमा लिइन्छ । महिनावारी भएका महिलालाई अछुतको व्यवहार गरिन्छ ।

महिनवारीप्रतिको धारणा सामाज भूगोल, जात, धर्म आदिका आधारमा फरक–फरक पाइन्छ ।

नेपाली समाजमा महिनावारीलाई अपवित्र, दूषित, फोहोरी अवस्थाको रुपमा हेरिन्छ। यो समयमा महिलाले लाज, निषेध, दुव्र्यवहार, हिंसा, विभेद, अवहेलना, अपहेलना आदि भोग्नु परिरहेको हुन्छ। अझ नेपालको सुदूर पश्चिमतिर त महिनावारीका बेला घरबाट छुट्टै छाप्रा तथा छाउगोठहरुमा राखिने प्रचलन कायमै छ ।

यसरी छाउगोठमा बस्नुपर्दा महिलाहरु बलात्कारको शिकार हुनेदेखि विभिन्न कारणले ज्यान गुमाएका प्रशस्तै उदारण छन् । यो समयमा महिलाहरु पोषिलो खानाबाट बञ्चित भइरहेका हुन्छन् । छातीको संक्रमण हुनेदेखि मानसिक रुपमा समेत विक्षिप्त भइरहेका हुन्छन् ।

शरीको जुन भागबाट निस्कए पनि रगत एउटै म मेडिकल साइन्सका केही कुराहरु जोड्न चाहन्छु । महिलाको शरीरको बनावट हेर्दा अगाडि योनीद्वार र पछाडि मलद्वार हुन्छ । यदि शरीरबाट रगत बाहिर निस्केको ठाँउको आधारमा छुवाछुत गरिएको हो भने, मलद्वारबाट निस्केको रगत अशुद्ध नहुने तर योनीबाट निस्केको रगत कसरी अशुद्ध भयो ? अझ मलद्वार त मानव शरीरको झन् धेरै फोहोर विसर्जन गर्ने ठाउँ हो ।

शरीरबाट रगत बाहिर निस्किएकै आधारमा मान्छेलाई अछुत मान्नुपर्ने कुनै वैज्ञानिक र तर्क संगत आधार छैन । महिनावारी महिलाहरुको प्राकृतिप्रदत्त स्वभाविक कर्म हो अनि सहज महिनावारी महिलाहरुको मानव अधिकार पनि हो ।

डिसेम्बेर ८, २०२० लाई मर्यादित महिनावारी दिवसको रुपमा मनाइयो । नेपालको संविधानमा महिनावारी भएको बेला मर्यादापूर्वक बाँच्न पाउने अधिकारको सुनिस्चित गरिएको छ।

महिनावारी भएका बेला कसैले हिंसा गरेमा तीन महिनासम्म जेल सजायँ र तीन हजर रुपैया जरिवानाको व्यवस्था कानुनमा गरिएको छ। अनि राज्यले मर्यादित महिनावारीका लागि विभिन्न किसिमका कार्यक्रम लागू गर्न थालेको छ। यी सबैका बाबजुद पनि महिलाहरु मर्यादित महिनावारीबाट बन्चित हुनुपरेको छ।

मर्यादित महिनावारीका लागि हामीले स्कूल, पाठशालाबाट नै यौनशिक्षा सम्बन्धि ज्ञान दिन जरुरी छ । यसले गर्दा छात्राहरुलाई स्कूलमा आफ्नो सहपाठीसँग लाजको भावना नहोस्।

साथै छात्राहरुलाई उचित शौचालयको राम्रो व्यवस्था, महिनावारीबा बेला चाहिने प्लाड र सफा पानीको पनि शैक्षिक संस्थामा राम्रो व्यवस्था हुनु जरुरी छ ।

यो समयमा सरसफाइको पनि निकै महत्व हुन्छ। ग्रामिण भेगका थ्रपै महिलाहरुले महिनावारी हुँदा फोहोर कपडाको प्रयोग गर्ने गरेको पाइन्छ । यसले गर्दा गुप्तांगको संक्रमण, पिसाबको संक्रमण अनि भविष्यमा शरीरको प्रजÞनन अंगमा पनि संक्रमण हुनसक्छ।

गरिबी, अज्ञानता जस्ता कारणले धेरै महिलाहरु महिनावारीका बेला प्याड तथा अन्य आवश्यक सामग्रीबाट बञ्चित हुनु परेको छ। त्यसमाथि तिरस्कार, छुवाछुतको पीडा त छँदैछ । यस्तो अवस्थाका महिलाको सहयोगका लागि सरकारी अनि गैरसरकारी सस्थाले अभियान चलाउनु आवश्यक छ। यसमा सरकारी, गैरसरकारी विभिन्न संघ, संस्थाहरुले काम वर्षाैदेखि काम गर्दै पनि आएका छन् । यसको दायरालाई बढाउनु पर्छ ।

कोभिड–१९ को महामारीमा दिनरात खटिएका महिला स्वास्थ्यकर्मीहरुलाई पनि महिनावारीको सामग्रीसहित उपयुक्त शौचालय, सफा पानी अनि राम्रो वातावरण यो समयको आवश्यकता हो । मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी हो। समाजमा विद्यमान विभिन्न कुरीति, अन्धविश्वासले गर्दा महिला अधिकारमा ठूलो ठेस लागेको छ।

महिलाका यौन र प्रजनन अधिकार पनि हनन् भइरहेका छन् । महिला अधिकारका अन्य पक्षको सवाल उठाउँदा मर्यादित महिनावारीको पक्षलाई वेवास्ता गर्नै मिल्दैन ।

लेखक परिचय :
डा. राजन ओलिया
मेडिकल अधिकृत वामी–टक्सार स्वास्थ्य चौकी
मुसिकोट नगरपालिका, गुल्मी
प्रशिक्षक तथा सदस्य, हातेमालो अभियान नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय