सहकारीले सिकायो उद्यमी बन्न : अनुदानले उत्पेरित गर्यो !

गुल्मी । ग्रामीण क्षेत्रका महिलाहरुलाई समुहमा आबद्ध गरेर सामुहिक आलु खेती गर्न प्रोत्साहित गर्दै आईरहेको लक्ष्मी नारायण महिला कृषि सहकारी संस्था मुसिकोट ७ वामीटक्सार गुल्मीले आलु कृषकलाई अनुदान वितरण गरेको छ ।

मुसिकोट नगरपालिकाको वडा नं ८ मा सहकारी मार्फत गठित अमृतपुर आलु तथा अलैची उत्पादक कृषक समुहमा आबद्ध ३६ जना कृषकहरुलाई सहकारीले एक कार्यक्रमकाबीच बिउमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो ।२०६६ सालदेखि व्यवसायिक रुपमा आलु खेती गर्दै आईरहेका कृषकहरुलाई सहकारीले आफैले बिउ उपलब्ध गराउनुका साथै प्राविधिक ज्ञान र उत्पादित सामाग्रीको बजारीकरणमा समेत सहयोग गरेको थियो ।

उक्त समुहमा आबद्ध आलु कृषकहरुले ६५ क्विन्टल आलु लगाएका थिए । उक्त आलु जेठमा उत्पादन भएको थियो । वडा नं ८ को मैदान, सन्क्यौल, रुक्से र आगोपारेका महिलाहरु मिलेर गठन गरेको समुहलाई सहकारीले कृषि ज्ञान केन्द्र गुल्मीको सहयोगमा अनुदान उपलब्ध गराएको हो ।

अनुदान वितरण कार्यक्रममा सहकारीकी अध्यक्ष यमुना घिमिरेले आलु खेतीबाट महिलालाई आत्मनिर्भर बनाई कृषि प्रति प्रोत्साहित गर्न र महिला उद्यमी सिर्जना गर्न उक्त समुह मार्फत आलु मिसन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले १ सय रोपनी क्षेत्रफलमा ढोरपाटनको आलुको बिउ ल्याएर सहकारीले आफैले समुहलाई उपलब्ध गराएको र यसवर्ष आलु खेती राम्रो उत्पादन भएको बताउनुभयो । घिमिरेले महिलाहरुलाई आर्थिक र व्यवसायिक सशक्तिकरणमा अगाडी बढाउन कृषिसगं जोडेर सहकारीले अन्य थुप्रै कार्यक्रमहरु सञ्चालन गरेको समेत जानकारी दिनुभयो । मुसिकोट नगरपालिकालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्धेश्य समेत सहकारीले राखेको बताउनुभयो ।

कार्यक्रममा अमृतपुर आलु तथा अलैँची उत्पादक समुहकी सचिव दिलमाया रानाले सहकारीले आफुहरुलाई बिउ, उत्पादन र बजारीकरण हरेक क्षेत्रमा सहयोग गरेकाले खेती गर्न सजिलो भएको बताउनुभएको थियो । उहाँले समुहमा आबद्ध भएर आलुखेती गर्दा प्राविधिक तथा अन्य आवश्यक ज्ञान प्राप्त गर्न समेत सहज भएको धारणा राख्नुभएको थियो ।

त्यस्तै समुहकी अध्यक्ष कुमारी सिजांलीले सहकारीले अनुदान उपलब्ध गराएर अझै धेरै खेती गर्न उत्प्रेरित गरेको बताउनुभयो । उहाँले महिलाहरुलाई आत्मनिर्भर बनाउन समेत सहकारीले निकै ठुलो भुमिका खेलेको बताउनुभएको थियो ।

सहकारीको काम नमुना -मुसिकोट नगरपालिकाका कृषि प्राविधिक टोप बहादुर ओलीले महिलाहरुलाई समुहमा आबद्ध गराई आलु खेतीमा प्रोत्साहित गर्ने सहकारीको कार्य सह्रानीय रहेको बताउनुभयो । उहाँले कृषकहरुको उत्पादित सामाग्रीको बजार सुनिश्चितताकालागि नगरपालिकाले कार्यक्रम ल्याउन लागेको भन्दै त्यसमा सहकारीको समेत सहयोग रहनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सोही अवसरमा मुसिकोट नगरपालिका वडा न.८ का वडाध्यक्ष रमेश विश्वकर्माले महिलाहरुलाई आत्मनिर्भर मात्रै नभई नेतृत्व विकासमा समेत सहकारीले नमुना काम गरेको बताउनुभयो । उहाँले आलु खेतीसगैं अन्य कृषि र तरकारीको क्षेत्रमा पनि लाग्न कृषकहरुलाई सुझाउनुभएको थियो ।

त्यस्तै वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटाले कृषकहरुलाई मलको अभाव हुन नदिन कृषि सहकारीले मलका लागि सहजीकरण गर्नुपर्ने बताउनुभएको थियो । उहाँले लक्ष्मी नारायण महिला कृषि सहकारीले आलु खेती मात्रै नभएर मौरी पालन,बमौसमी मकै खेती पनि सञ्चालन गर्दै आईरहेकाले कृषि सहकारीको वास्तविक मर्म अनुसार काम गरेको बताउनुभयो ।

५ लाखको मकै विक्री –लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थाले आलु खेतीसगैं अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्दै आईरहेको छ । गतवर्ष मुसिकोट नगरपालिका वडा नं ७ को सुदी फाँटमा २० रोपनी क्षेत्रफलमा रामपुर १० जातको बेमौसमी मकै खेती परिक्षणको रुपमा लगाईएको थियो ।

उक्त मकै राम्रो उत्पादन भएकाले झण्डै ५ लाख बराबरको मकैका घोँडा बिक्री समेत गरिएको सहकारीकी अध्यक्ष घिमिरेले बताउनुभयो । यो वर्ष पनि कृषकहरुले सोही जातको बेमौसमी मकै लगाउने तैयारी गरेको उहाँको भनाई छ । सहकारी र कृषि ज्ञान केन्द्रले ७५ प्रतिशत अनुदानमा मकैको बिउ उपलब्ध गराएको थियो ।

नियमित बचत देखि कृषि कर्मसम्म – उक्त सहकारीमा हाल ५ सय जना सदस्य आबद्ध छन् । सहकारीले महिलाहरुलाई कृषि पेशामा प्रोत्साहितसगैं मासिक बचत गर्न समेत सिकाउँदै आएको छ । मासिक रुपमा सहकारी सदस्य तथा समुहका महिलाहरुबाट बचत उठाउँदै आएको सहकारीले जनाएको छ । त्यस्तै ऋण समेत उपलब्ध गराउँदै आएको सहकारीकी प्रबन्धक कृष्णा गुरुङले जानकारी दिनुभयो । सहकारीले पहिलो कृषि हाटबजारसमेत सञ्चालन गरेको थियो भने मौरी पालन सम्बन्धी कार्यक्रम पनि गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय