महिलाको योगदान र मानव अधिकार

छन्दबहादुर पहराई मगर

पौराणिक कथन अनुसार सृष्टिकर्ता भगवान ब्रह्माजीले पहिला तेत्तिस  कोटी देवताको सृजना गरे तर कसैले पनि थप सृष्टिलाई अगाडी बढाउन सकेनन त्यसपछि पुनः तेत्तिस कोटी देवीहरुको उत्पत्ति भयो र एक आपसमा प्रजनन प्रक्रियामा सहभागी भई बल्ल संसार थामियो । चाल्स डार्बिनको क्रमिक विकासमा आधारित सिदान्त अनुसार आवश्यकता र समयले क्रमिकरुपमा महिला र पुरुषको जन्म भयो अर्थात् निर्माण भयो । भौतिकवादको सिदान्त अनुसार पनि दुई विपरीत तत्वहरुको एकताको नियम अनुसार महिला पुरुष एक अर्कामा जरुरी हुन गयो । त्यसैले नर र नारी एक रथका दुई पांग्रा हुन् एक नभई अर्कोको अस्तित्व समाप्त हुन्छ । यति हुँदाहुँदै पनि समाजमा महिलाले पुर्‍याएको योगदानको चर्चा पुरुषको तुलनामा मधुरो भएको छ । साच्चै भन्ने हो भने महिलाहरुले समाजमा पुर्‍याएको योगदान उल्लेखनीय छ ।

महिलाहरुले घरमा पुर्‍याएको योगदान, समुदायमा गरेको योगदान, जागिरेको रुपमा, आमाको रुपमा, दिदीबहिनीको रुपमा, छोरी, कामदार, नेता र एक नागरिकको रुपमा प्रदान गरेको योगदान एउटा उत्सवको रुपमा मान्न सकिन्छ । अहिले आएर विस्तारै हरेक स्थानका महिलाहरु कमसेकम एक ठाउँमा भेला हुने अवसर र अधिकार प्राप्त गरेका छन् । समाज रुपान्तरण गर्नका लागि महिलाहरुले साना साना कामबाट पनि भुमिका निभाइरहेको देखिन्छ । जकार्ता र इन्डोनेसियाका महिलाहरु आफ्ना–आफ्ना गाउँमा नियमित भेला भएर पोषण, परिवार नियोजन र बच्चा स्याहारसुसार बारे छलफल गर्थे ।

हाम्रो समाजमा पनि महिला स्वास्थ्य स्वयं सेविकाहरुले स्वास्थ्यमा पुर्‍याएको योगदान कम महत्वपूर्ण ठान्न हुँदैन । साउथ अफ्रिकाका महिलाहरुले रंगभेदको अन्त्य गर्नका लागि दिएको योगदान, भारत र बंगलादेश देशका महिलाहरुले गाई र रिक्सा खरिद गर्नका लागि साना साना ऋण लिएर आफ्नो जीविका चलाउने योगदान पनि उल्लेखनीय मानिन्छ । महिलाहरुको योगदानको मूल्यांकन चाहे अर्थशास्त्री होउन वा इतिहासकार वा संस्कृतिविद वा नेता सबैले यो बुझ्न जरुरी छ कि जन्म दिने, हुर्काउने, खाना पकाउने, कपडा धुने, घर सफा गर्ने, पाहुनालाई सत्कार गर्ने, श्रीमानको सहयोगी बन्ने, कृषि कर्म गर्नेदेखि कम्पनी र देश चलाउने सम्मको योगदान समाज विकासमा अतुलनीय सहयोग प्रदान छ भनेर भुल्न हुन्न ।

कुनै पनि पुरुषको उच्च सफलतामा महिलाको योगदान रहेको हुन्छ । माक्र्सलाई संसारको माक्र्स भनेर चिनाउने कुरामा सहयोग गर्ने उनकै श्रीमती जेनी माक्र्स हुन्, माओत्सेतुङलाई सहयोग गर्ने पनि उनकै श्रीमती चिमलिङ हुन् । हाम्रै देशमा पनि विपी कोइराला, गणेशमान सिंह, पुष्पलाल जस्ता नेताहरुलाई अहोरात्र खटेर श्रीमतीले सहयोग गरको इतिहाहस विर्सन हँुदैन । पुरुषहरु विदेशमा एकसरो कमाइ गर्न गएका हुन्छन् भने महिलाहरुले घरको रेखदेख र हेरचाह गर्ने कुरा कम मूल्यवान छैनन् । महिलाहरुलाई सुत्केरी हुँदा महिला नै सहयोगी भएर पु¥याएको सेवा, नर्स भएर अस्पतालमा विरामीलाई पु¥याएको सेवा, बालविकासमा बाल शिक्षा सहयोगीको रुपमा प्रदान गरेको सेवा होस कि हेल्थपोस्टमा ग्रामिण स्वास्थ्य कार्यकर्ता भएर पुर्‍याएको सेवा कमसल मान्न सकिदैन ।

महिलाहरु धर्म संस्कार, रितिरिवाज र सामाजिक मूल्य मान्यतालाई जोगाउन निरन्तरता दिनेदेखि पुरुषको अस्तित्व जोगाइदिने योगदान महिलाबाटै भएको हुन्छ । यति धेरै लेखेरै नसकिने, भनेर नसकिने, गनेरै नसकिने जस्ता तमाम योगदान छन तर पनि महिलालाई अहिले सम्म पनि किन दोस्रो दर्जाको नागरिकमा हेर्ने गरिन्छ यो चिन्ताको विषय बनेको छ ।

मानव अधिकार उल्लङ्घनका सिकारमा महिला
मान्छे जन्मेर स्वतन्त्र र भय मुक्त, भोक मुक्त, शोक मुक्त वातावरणमा सम्मान साथ बाच्न पाउनुपर्ने हो तर हाम्रो समाजमा अझै पनि महिलाहरुलाई त्यो वातावरण तयार हुन सकिरहेको छैन । पुरुषको तुलनामा महिलाहरु रोगले मरिरहेका हुन्छन् भने आफैले जन्माएको बच्चा कुपोषणले ग्रस्त भएको आफ्नै आँखाले हेर्न बाध्य हुन्छन् । महिलाहरु पुरुषको तुलनामा शिक्षित हुन नसक्नु आफ्नै बाबुआमा र दाजुभाईबाट स्कूल जान लामो समयसम्म बन्चित हुँदै आए । उनीहरुलाई अनेक प्रलोभन देखाएर वेश्यावृत्ति गर्न बाध्य पारिन्छ ।

धेरै समयसम्म संसारभरीका देशहरुले महिलाहरुलाई मतदान गर्नबाट रोक लगाउने काम भयो । अहिले पनि विकट दुर्गम गाउँमा गृहिणी महिलाहरुले डाक्टरको मुखसम्म देख्न पाएका छैनन भने उनीहरुको उपचार गर्ने कि नगर्ने भन्ने बारे पुरुषको इच्छामा भर पर्नु पर्ने अवस्था अझै जीवितै छ । विवाहमा दाइजो कम ल्याएको भनेर कुटाई खानु पर्ने, घरबाट हेला हुनुपर्ने नातागोतामा अपमानित हुनु पर्ने, मट्टीतेल खन्याएर श्रीमतीलाई मार्ने यस्ता मानवाधिकार उल्लङ्घनका जघन्य उदाहरण हुन् । आफ्नै समाजका दाजुभाईबाट बलात्कृत हुने हजारौं महिलाहरु छन् । अझ दुःखद् कुरा के हो भने आफ्नै बाबु र दाजुभाईबाटै यौन हिंसाका सिकार भएका समाचार सुन्नमा आउनु दुर्भाग्य हो ।

विश्वभरी १४ वर्ष देखि ४४ वर्ष सम्मका महिलाहरु हिंसाको सिकार हुन बाध्य छन् । महिलाहरु घरेलु हिंसाको कारण घरमै मृत्यु हुने र आत्महत्या गर्न बाध्य हुने यो उनीहरु प्रतिको चरम मानव अधिकार उल्लङ्घन हो । हाम्रो समाजमा छोरी जन्माएको कारण महिला भोकै बस्नुपर्ने र पुरुषको कुटाइबाट अंगभंग हुनुपर्ने र बाँझोपन भएको कारण घरमा हेला हुनुपर्ने समाजहरु अझैपनि भेटिन्छ । प्रजनन प्रक्रियाको लागि अत्यन्त आवश्यक महिलाहरुको हुने महिनावारीलाई छाउपडी प्रथाको रुपमा कायम रहनु पनि दुःखद् कुरा हो । सबैभन्दा डरलाग्दो कुरा महिला भएको नाताले यौन हिंसा र बलात्कार हुनुपर्ने तर अपराधीलाई उपयुक्त सजाय नुहने कारणले महिलाहरुको विविध पक्षमा यति धेरै मानव अधिकार उल्लङ्घन भएका छन् कि यस लेखमा वर्णन गरेरै साध्य छैन ।

समाधानका प्रयासहरु
महिलाहरुलाई अगाडि बढाउनका लागि महिला सशक्तीकरणका कार्यकम संचालन गरिदै आएको छ । लघु वित्त कार्यक्रम, सहकारी, उपभोक्ता समिति, महिला बचत समूह जस्ता कार्यक्रम मार्फत पनि महिलाको नेतृत्व विकासमा सहयोग पुगिरहेको छ । हरेक टोलमा गठन गरिएको आमा समूहको नियमित मिटिङले पनि महिला समुदायलाई चेतना र सहयोग आदान प्रदानमा बल पुगेको पाइन्छ । नेपालको संविधान अनुसार ३३५ महिला तल्लो तहदेखि सदनसम्मको व्यवस्थाले महिलाको भूमिका निकै बढाएको छ । विभिन्न राजनैतिक दलहरुले आफ्नो आफ्नो पकड जमाउनका लागि भएपनि महिला समुदायमा पु¥याएको प्रभाव तथा विभिन्न पदीय दावित्व प्रदान गरेको कारण पनि महिला सशक्तीकरणलाई मदत गरेको छ ।

नेपालको मुलुकी ऐनले घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाहको कल्पना नगरेको र कसैले बहुविवाह गरेमा कडा सजायको साथ साथै विवाह समेत बदर हुने कानुनले पनि महिलाको मानवाधिकारमा संरक्षण गरेको छ । हाल आएर छोरा सरह छोरीलाई पनि स्कूल पठाउने प्रचलन बढनु हाम्रो समाजको लागि सुखद् कुरा हो । महिलाहरुलाई अगाडी बढाउने र घरेलु हिंसा अन्त्य गर्ने प्रयासहरु भएता पनि हरेक पुरुषले समाजमा महिलाको महत्व बुझ्न जरुरी छ भने महिलाले महिलालाई दमन गर्ने अपराधिक क्रियाकलापको अन्त्य गर्नुपर्छ ।

निचोड स् मनु स्मृतिमा भनिएको छ कि “यत्र रमन्ते नारी रमन्ते तत्र देवता’’ जुन घरमा नारी रमाउछन् वा खुशी हुन्छन् त्यस घरमा देवताहरु पनि खुशी हुन्छन् अर्थात् देवताको वास हुन्छ भनिएको कथन सबैले अनिवार्य मनन गर्नुपर्छ । महिलाहरुलाई स्वतन्त्र पूर्वक बोल्ने, लेख्ने र सुन्ने अधिकार पुरुष समाज र राज्य पुरुषले प्रदान गर्नुपर्छ । हरेक महिलाहरु स्वास्थ्य र शिक्षित भए भने परिवार तथा समाज बलियो हुन्छ । महिलाहरुलाई हिंसाको सिकारबाट बचाउन सकियो भने, पुरुष सरह भएर महिलाहरुलाई कमाउने अवसर प्रदान गरेमा उसको परिवार अवश्य राम्रो हुने छ । सबैभन्दा दुःख लाग्दो कुरा भनेको बराबर काम गरेर पनि महिलाहरुलाई पुरुषको भन्दा कम ज्याला हुनु अन्याय हो यसलाई हटाएर जानुपर्छ । महिला सृष्टिको वरदान हो र महिला माथि अन्याय भयो भने आफ्नो जन्म दिने आमा माथिको अन्याय हो भन्ने बिर्सनु हुँदैन ।

लेखक नेपाली काँग्रेसका केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय