रेसुङ्गा बहुमुखी क्याम्पसमा आर्थिक संकटकाल घोषणा

अनिल खत्री, गुल्मी । गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसलाई सञ्चालक समितिले आर्थिक संकटकाल घोषणा गरेको छ ।

साउन अन्तिम साता संचालक समितिले क्याम्पसलाई आर्थिक संकटकाल घोषणा गरेको हो । आर्थिक अभावले क्याम्पस सञ्चालन गर्न कठिनाइ भएको भन्दै साउन ३० गते सञ्चालक समितिले आर्थिक संकटकालको निर्णय गरेको हो । क्याम्पसमा अध्यापनरत प्रध्यापक एवम् कर्मचारीको सेवा-सुविधासमेत कटौती गर्दै संकटकाल घोषणा गरिएको छ । क्याम्पसमा आर्थिक संकट घोषणा भएलगत्तै पछिल्लो समय चौतर्फी आलोचना भइरहेको छ ।

क्याम्पसका प्रध्यापक एवम् कर्मचारीहरूले ८ महिनादेखिको तलब पाएका छैनन् । आर्थिक संकट व्यहोरिरहेको क्याम्पसले ०७८ चैत महिनादेखि ०७९ असार मसान्तसम्मको तलब भत्तावापत एक करोड ३५ लाख रुपैयाँ दिन बाँकी रहेको छ ।

क्याम्पसमा आर्थिक संकट घोषणाले विद्यार्थीको भविष्य नै अन्योलमा परेको छ । पछिल्लो समय क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएको र प्राविधिक शिक्षाको अभावले आर्थिक संकटको अवस्था सिर्जना भएको पूर्वविद्यार्थी झबिन्द्र पाण्डे बताउँछन् ।

क्याम्पसको नियमित आम्दानी रोकिएको र ग्रामीण भेगमा क्याम्पसहरू सञ्चालनमा आएपछि विद्यार्थी संख्या घट्दा थप संकट भएको छ । क्याम्पसले एकाएक गरेको आर्थिक संकटकालको घोषणाले सिङ्गो समाजलाई नै निरासा छाएको पूर्वप्राध्यापक दिन पन्थीको भनाइ छ ।

आर्थिक जोहो गरेर छिटो क्याम्पस नियमित सञ्चालन गरि इमानदारिता र योग्यताको कदर गर्दै विद्यार्थीको भविष्यमा खेलवाड गर्न नहुने पूर्वप्राध्यापक पन्थीको सुझाव छ । विभिन्न राजनीतिक दल, भातृ संघ-संगठनका साथै शिक्षाविद्ले समेत क्याम्पस र सञ्चालक समितिको निर्णयप्रति आपत्ति जनाउँदै आएका छन् । यता क्याम्पस प्रमुख हरिबहादुर केसीले भने कोभिड-१९ महामारीका कारण शैक्षिक सत्र लम्बिएको, विद्यार्थी संख्या कम भएको लगायतका कारण आर्थिक संकट व्यहोर्नु परेको बताएका छन् ।

गुल्मीको शैक्षिक धरोहर भनिएको क्याम्पस आर्थिक संकटमा परेपछि अहिले सहयोग जुटाउन थालिएको छ । रेसुङ्गा नगरपालिकाले क्याम्पसलाई एक करोड सहयोगको घोषणा गरेको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले गुल्मीको भाग्य र भविष्यसँग जोडिएको क्याम्पसमा आर्थिक दायित्व बढेकोले आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए ।

क्याम्पसलाई पुरानै लयमा फर्काएर नयाँ ढंगबाट जोगाउनका लागि नगरपालिकाले आगामी दिनमा पनि सहयोग गर्ने नगरपालिका प्रमुख पन्थीले बताए । आर्थिक समस्याको निरुपणको लागि संचालक समितिले स्रोत व्यावस्थापन गरिरहेको क्याम्पस प्रमुख केसीले बताए । क्याम्पसको पठनपाठनलाई अवरुद्ध नगरी नियमित रुपमा सञ्चालन हुने क्याम्पसले जनाएको छ ।

क्याम्पसलाई सहयोगको लागि प्रध्यापक तथा कर्मचारीलाई आग्रह गर्ने, विभाग र संकाय प्रमुखहरुको अतिरिक्त सुविधा कटौती गर्ने एवम् उपदान र उपचार खर्च संकटकाल अवधिभर स्थगित गर्ने निर्णय गरिएको छ ।

समस्या समाधानका उपाय खोज्दै संचालनको लागि सहयोग संकलन भइरहेको र भदौ अन्तिमसम्म स्वयत पत्र जारी गरेर अगाडि बढ्ने संचालक समितिले तयारी गरेको क्याम्पस सञ्चालन समिति अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।

संकटकाल अवधिभर प्रध्यापक एवम् कर्मचारी संचित बिदा बस्न नपाउने, बिदा बसे पनि सुविधा नपाउने, त्रिभुवन विश्वविद्यालय अन्तरगत संचालन हुने परीक्षाको सुविधा सहयोग माग्ने गरेको संचालक समितिको भनाइ छ । २०३९ सालमा स्थापना भएको क्याम्पसले विगत ४० वर्षदेखि उच्च शिक्षा प्रदान गर्दै आएको छ ।

हाल क्याम्पसमा ४१ जना प्राध्यापक कर्मचारी रहेका छन् । ७ वटा भवन रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको ६५ रोपनी जग्गा रहेको छ ।- अनलाईनखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय