गुल्मीको रोचक चुनावी भिडन्त : गोकर्ण विष्ट र रामकुमारी झाँक्री , कसको शक्ति कति ?

गुल्मी : युवामाझ लोकप्रिय छवि बनाएका नेतामध्ये पर्छन्, नेकपा एमालेका सचिव गोकर्ण विष्ट र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री ।

गृहजिल्ला गुल्मी भएका दुवै नेता यसअगाडि एउटै पार्टी एमालेमा थिए । शालीन स्वभावका विष्ट र आक्रामक पहिचान बनाएकी झाँक्री आउँदो निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ मा आमनेसमाने हुने सम्भावना बढ्दै गएको छ । विष्ट र झाँक्री आमनेसामने हुने चर्चाले गुल्मीमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । नेकपा एसले गुल्मी– २ मा चुनावी अभियानलाई तीव्ररूपमा अगाडि बढाएको छ ।

शुरूमा झाँक्री काठमाडौं– २ बाट चुनाव लड्न सक्ने चर्चा थियो । तर, झाँक्री आफ्नो गृहजिल्लाबाटै चुनाव लड्ने भन्दै गुल्मीमा सक्रिय भएकी छिन् ।गोकर्ण विष्टको विरासत तोड्ने उद्घोषसहित झाँक्रीले निर्वाचनकेन्द्रित गतिविधि बढाएकी छिन् ।

तीनपटक निर्वाचन जितेका विष्टसँग भूगोलको राजनीति नगरेकी झाँक्रीको भिडन्त त्यति सहज भने छैन । तर, गठबन्धन सहयात्री दलहरूप्रति उनको भरोसा देखिन्छ । त्यसो त सत्ता गठबन्धनमा चुनावी क्षेत्रको भागबण्डा टुंगिसकेको छैन । दुईवटा क्षेत्र रहेको गुल्मीमा कुन क्षेत्र कसले पाउने भन्ने टुंगो लाग्न बाँकी छ ।

संगठनात्मक रूपमा कमजोर भएकाले गुल्मी– २ एसलाई दिन नसकिने कांग्रेसका स्थानीय नेता कार्यकर्ताले बताउने गरेका छन् । तर, निर्णय केन्द्रबाट हुने भएकाले झाँक्री आफ्नो भागमा गुल्मी– २ पर्नेमा विश्वस्त जस्तै देखिन्छिन् ।

अर्कातिर एमालेको संगठन यस क्षेत्रमा निकै बलियो छ, भलै गत स्थानीय निर्वाचनमा गठबन्धनसँग भिड्दा अनुकूल नतिजा नआएको किन नहोस् । गुल्मी– २ मा एमालेबाट गोकर्ण विष्ट नै उम्मेदवारका रूपमा दोहोरिने सम्भावना प्रबल छ । तर, पार्टीका केन्द्रीय सदस्य राजेन्द्र अर्यालले पनि टिकटका लागि लबिङ गरिरहेका छन् ।

एमालेनिकट पत्रकार संगठन प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष अर्याल पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिन्छन् भने शुरूमा माधव नेपाल–झलनाथ खनाल खेमामा रहेका विष्ट पार्टी विभाजनका क्रममा १० बुँदे सहमति गरी एमालेमै बसेका नेता हुन् ।

कसको शक्ति कति ? – विष्ट गुल्मी– २ बाट प्रत्यक्ष निर्वाचित बहालबाला सांसद हुन् । झाँक्रीले भने समानुपातिकतर्फबाट संसद्मा प्रतिनिधित्व गरिरहेकी छिन् । एमाले विभाजनअघि दुवै नेता माधव नेपाल–झलनाथ खनाल समूहमा थिए ।

नेकपा एमाले गुल्मीका सचिव गणेश श्रीपाली गुल्मीमा गोकर्ण विष्टलाई चुनाव जित्न गाह्रो नरहेको दाबी गर्छन् । ‘गोकर्णलाई जित्न सक्ने कांग्रेस क्यान्डिडेट नहुँदा रामकुमारी झाँक्रीप्रति गठबन्धन ‘पोजेटिभ’ देखिएको हो,’ श्रीपालीले लोकान्तरसँग भने, ‘पालिकाको मतको आधारमा हामी पहिलो पार्टी छौं । उहाँको (विष्ट) व्यक्तिगत प्रभाव पनि राम्रो छ । गठबन्धनलाई हराउन एमालेलाई गाह्रो छैन ।’

सचिव श्रीपालीले थपे, ‘गएको पालिका निर्वाचनमा हामीले ‘ओभर कन्फिडेन्ट’ले केही पालिका गुमायौं । मदाने १० मतले, इस्मा १२५ मतले ‘मिस’ गरेका छौं । हामी फरक तरिकाले निर्वाचनमा जुटेका छौं । आउँदो निर्वाचनमा हामीलाई समस्या हुँदैन ।’

स्थानीय निर्वाचन २०७९ को वडाध्यक्षको मतका आधारमा गुल्मी– २ मा एमाले सबैभन्दा ठूलो दल हो । यो निर्वाचन परिणाम एमालेका लागि खासै उत्साहजनक भने हैन ।

गुल्मी– २ मा पर्ने मुसीकोट नगरपालिकामा मात्रै एमाले विजयी भयो । अर्को एउटा गाउँपालिकामा माओवादी केन्द्रलाई जिताउन सहयोग गर्‍यो । २०७४ को निर्वाचनमा विष्टले ३४ हजार ६१८ मत प्राप्त गरेका थिए । कांग्रेसका केसीले २० हजार १५९ मत पाएका थिए । त्यो बेला एमाले र माओवादीको गठबन्धन थियो ।

यसपल्टको स्थानीय निर्वाचनमा वडाध्यक्षको मत केलाउँदा यो क्षेत्रमा एमालेले ३१ हजार २५३ मत पाएको छ ।कांग्रेसले २९ हजार ८२१ र माओवादी केन्द्रले १ हजार ८४१ मत पाएका छन् । एकीकृत समाजवादीले भने जम्मा ६५८ मत पाएको छ ।

पालिका निर्वाचनमा एकीकृत समाजवादीले जम्मा ३ वटा वडामा उम्मेदवारी दिएको थियो । एउटामा कांग्रेस र माओवादीको समेत साथ पाउँदा ६२५ मत प्राप्त गर्‍यो भने अरू दुईमा एक्लै लड्दा २२ र ११ मत पाएको देखिन्छ ।

एक्लाएक्लै लड्दा एमाले बलियो देखिए पनि गठबन्धनसँग पछाडि छ । गठबन्धनको ३२ हजार ३२० मत हुन्छ भने एमालेको ३१ हजार ५२३ मत छ । अन्तर ७९७ को रहेको छ ।

नेकपा एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारीले स्थानीय निर्वाचनको नतिजाका आधारमा पनि गुल्मी– २ मा गठबन्धन बलियो रहेको दाबी गरे । ‘हाम्रो संगठनमा साथीहरू थपिने र छुट्टिने क्रम जारी छ,’ भण्डारीले भने, ‘स्थानीय तहको मत परिणाम हेर्दा गठबन्धन अगाडि छ । गठबन्धनले गुल्मी– २ मा निर्वाचन जित्न सक्छ ।’

गोकर्ण विष्टले २०५६, २०७० र २०७४ मा यस क्षेत्रबाट चुनाव जितेका छन् । २०६४ मा भने उनी माओवादीका चन्द्रबहादुर थापा सागरसँग पराजित भएका थिए । अर्कातर्फ झाँक्रीको भने प्रत्यक्ष चुनाव लडेको अनुभव छैन ।यी दुवै नेता मन्त्री भइसकेका छन् ।

विष्टले पछिल्लोपटक श्रममन्त्री हुँदा सामाजिक सुरक्षा योजना प्रारम्भ तथा कार्यान्वयन, प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरूआत, नेपाली श्रमिकको न्यूनतम तलब ३९ प्रतिशतले वृद्धि, सातै प्रदेशमा श्रम तथा रोजगार कार्यालय स्थापना, प्रदेशबाटै श्रम स्वीकृति र मलेसिया, संयुक्त अरब इमिरेट्स यूएई, मरिसस, जापानलगायतका मुलुकसँग श्रम सम्झौताको तयारीको काम गरेर चर्चा कमाएका थिए ।

झाँक्री पनि छोटो समय शहरी विकास मन्त्री हुँदा नीतिगत सुधारका काम गरेको भन्दै प्रशंसा हुने गरेको छ । यद्यपि मन्त्रीबाट बाहिरिने क्रममा देखाएको व्यवहारको भने आलोचना भएको थियो ।

यो क्षेत्रबाट कांग्रेसका चन्द्र केसी, डा. दामोदर भुसाल, त्रैलोक्यप्रताप सेन पनि प्रतिनिधिसभातर्फ उम्मेदवार बन्न सक्ने चर्चा छ ।अघिल्लोपटक उम्मेदवार बनेर पराजित भएका केसीले यसपटक गुल्मी– १ बाट उम्मेदवारी दिने भन्दै दाबी गरिरहेका छन् ।

गुल्मी– १ मा कांग्रेसका चन्द्र भण्डारी र एमालेका प्रदीप ज्ञवालीबीच लामो समयदेखि प्रतिस्पर्धा हुँदै आएको छ ।यो क्षेत्रमा अहिले माओवादीबाट पूर्व मुख्यसचिव लीलामणि पौड्याल पनि उम्मेदवार बन्न सक्ने चर्चा छ ।

यो खबर लोकान्तरमा प्रकाश आर्चायले लेख्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय