गर्भवती महिलाले कस्तो योगासन गर्नु राम्रो ?

काठमाडौं । प्रसव पीडा सहन गाह्रो हुने सोचले पछिल्लो समय शल्यक्रियामार्फत बच्चा जन्माउने महिलाको संख्या बढ्दै गएको छ । धेरैजसो निजी अस्पताल त प्राकृतिक रुपमा भन्दा शल्यक्रियामार्फत नै प्रसूति गराउन सल्लाह दिन्छन् ।

तर विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवती महिलामध्ये १० प्रतिशतलाई मात्र शल्यक्रियाको आवश्यकता हुने गर्छ । शल्यक्रिया विधिले प्रसूति गराउन सहज भए पनि घाउ निको हुन लामो समय लाग्ने र विभिन्न संक्रमणको समेत जोखिम हुने चिकित्सक बताउँछन् । तर केही यस्ता योगाभ्यास छन्, जसले गर्भवती महिलाको शरीरलाई बलियो तथा लचिलो गराउँछन् । यस्ता योग नियमित गरे सामान्य ढंगले नै बच्चा जन्माउन सकिन्छ ।

‘शल्यक्रिया विधिलाई कम गर्न तथा प्राकृतिक रुपमै बच्चा जन्माउन योगाभ्यासले सहयोग गर्छ,’ योग गुरु भानुभक्त दाहाल भन्छन्, ‘गर्भवती महिलाले नियमित योग गरे प्राकृतिक रुपमा प्रसूति हुनसक्ने सम्भावना ९० प्रतिशत हुन्छ ।’ तर अरु व्यक्तिले झैं गर्भवती महिलाले उफ्रिने, पेटमा धक्का लाग्ने खालका अभ्यास भने गर्न हुदैन । नियमित रुपमा योग व्यायाम गर्ने गर्भवती महिलालाई अरुको भन्दा प्रसव पीडा कम हुने तथा शारीरिक र मानसिक स्वास्थ्य पनि राम्रो हुने दाहाल बताउँछन् ।

योगाभ्यास गर्दा शारीरिक अवस्थालाई भने ध्यान दिनुपर्छ । शारीरिक अवस्था कस्तो छ ? गर्भ रहेको कति महिना भयो ? यस्ता कुरालाई भने ख्याल गर्नुपर्ने योगगुरु दाहालको भनाइ छ । शारीरिक अवस्थामा कमजोर भए थकाइ, रिंगटा लाग्ने पनि हुनसक्ने उनी बताउँछन् । गर्भावस्था संवेदनशील अवस्था भएकाले चिकित्सकको सल्लाहबिना योग तथा व्यायाम गर्नु हुँदैन । जथाभावी योग गर्दा उल्टो असर पर्ने दाहाल बताउँछन् ।

कस्तो अवस्थामा गर्न सकिन्छ योग ? – गर्भ रहनुभन्दा पहिल्यैदेखि योग गरिरहेकाहरुले गर्भावस्थामा पनि सजिलैसँग योगाभ्यास गर्न सक्छन् । तर यसबेला सामान्य अवस्थामा गरिने अभ्यास भन्दा फरक प्रकृतिको योगासन गर्नुपर्छ । ‘गर्भ रहेपछि पेट र ढाडलाई प्रभावित गराउने योग गर्नु हुँुदैन,’ दाहाल भन्छन्, ‘तीन महिनासम्म एकदमै जोखिम भएकाले उफ्रिने, पेटलाई प्रभाव गर्ने खालका अभ्यासलाई रोक्नुपर्छ । सात महिना पुगेपछि केही अभ्यास घटाउने, पेट बढ्दै गएपछि आसन गर्न गाह्रो हुने भएकाले आसन परिवर्तन गर्न सकिन्छ ।’ शरीरका जोर्नीहरुलाई चलाउने, त्यसपछि मात्र योगासन गर्न शरीर तयार हुने दाहाल बताउँछन् ।

गर्भवती महिलाले कस्तो योगासन गर्ने ? गर्भवती महिलाले विशेषगरी खुट्टालाई फालेर धेरै निहुरिएर आसन गर्नुहुँदैन । पेट र ढाडमा बल पर्ने आसन उनीहरुका लागि हानिकारिक हुन्छ । योगगुरु दाहालका अनुसार निम्न योगासन गर्दा बच्चा र आमा दुवैलाई फाइदा हुन्छ ।

सूर्य नमस्कार- सूर्य नमस्कार नियमित योग गर्नेलाई भन्दा भर्खरै योग सिकिरहेका महिलालाई अलि गाह्रो हुन्छ । नियमित योगभ्यास गरिरहने गर्भवती महिलाले यो आसन गर्न सक्छन् । सूर्य नमस्कारमा १२ वटा आसन हुन्छ । भुजंग आसन कोल्टे फेरेर गर्नुपर्ने हुँदा यो बेला अलि गाह्रो हुनसक्छ ।

मार्जरी आसन – हात र खुट्टालाई बिरालोको जस्तै बनाएर गरिने योगासन मार्जरी आसन हो । एकचोटि श्वास लिएर माथि आकाशतिर हेर्न पेटलाई तल तान्ने एकचोटि श्वासलाई छाडेर पेटतिर निहुरिने गरेर यो आसन गर्न सकिन्छ ।

पुलती मुद्रा आसन -बोलीचालीको भाषामा यसलाई बटरफ्लाइ आसन भन्ने गरिन्छ । यस आसनले बच्चा जन्मिंदा हुने प्रसव पीडा हुने क्षेत्रलाई सहज बनाउन सहयोग गर्छ । पाठेघरको मुख खुलाउन यो आसनले मद्दत गर्छ । यसलाई पलेंटी कसेर बस्दा जस्तै गरेर बस्ने दुईवटा खुट्टाको पैतालालाई एकापसमा जोड्ने र खुट्टालाई हातले समातेर घुँडालाई तलमाथि हल्लाएर यो योगासन गर्न सकिन्छ ।

कोण आसन – उभिएर खुटलाई अलिकति खुल्ला राख्ने र एउटा हातले टाउको माथि लैजाने, नउठाएको हाततिर श्वास छोड्दै जाने आसन कोण आसन हो । यसले कम्मरको बोसोलाई घटाउने काम गर्छ भने पेटभित्रको बच्चालाई चल्न खेल्न पर्याप्त ठाँउ बनाइदिन्छ ।

त्रिकोण आसन – गर्भवती महिलालाई ढाड दुख्ने समस्या छ भने त्रिकोण आसन गर्न गाह्रो हुन्छ । यो आसन गर्दा धेरै निहुरिएर गर्नुपर्ने हुन्छ । अगाडितिर झुकेर हात दायाँबायाँ फैलाउने, विपरीततिरको खुट्टातिर एउटा हात लैजाने र अर्को हात माथि उठाउने, श्वास बाहिर फाल्ने गर्दै यो आसन गर्न सकिन्छ । अरु आसन गरिसकेपछि यो आसन गर्दा लाभदायक हुन्छ ।

सरल भुजाङ आसन – गर्भवती महिलाले पेटलाई थिचेर सुत्न गाह्रो हुन्छ । यो आसन पनि धेरै सावधानी अपनाएर गर्नुपर्ने हुन्छ । चार हातखुट्टाले टेक्ने श्वास लिएर माथि हेर्ने कम्मर भन्दा माथिको भागलाई तन्काउने गर्नुपर्छ । यसले शरीरलाई लचिलो बनाउन मद्दत पुर्‍याउँछ ।

अनुलोम विलोलम प्राणायाम -पलेंटी कसेर बस्ने, एउटा हातले नाकको एक प्वालबाट श्वास तान्ने र अर्को प्वाल बन्द गर्ने गरेर यो प्राणायाम गरिन्छ । यो प्राणायाम औसत पाँच मिनेटसम्म गर्नु राम्रो हुन्छ । यो प्राणायामले मस्तिष्कलाई शान्त बनाउन मद्दत गर्छ ।

ब्रह्मरी प्रणायाम – मुख र आँखा बन्द गरेर निधारको बीचमा मन अड्याउने, भमराको जस्तो आवाज निकालेर गरिने प्राणायाम ब्रह्मरी प्राणायाम हो । यसले मस्तिष्कलाई ठण्डा बनाउने, रिस उठ्ने बानीलाई कम गर्न सहयोग पुर्‍याउँछ ।

प्राकृतिक रुपमा प्रसूति गराउन योगाभ्यास कति सहयोगी ? – योगले तनमन र मस्तिष्कलाई स्वस्थ बनाउन मद्दत गर्ने भएकाले गर्भवती महिलाका लागि पनि यो फाइदाजनक हुन्छ । तर योग नै गरेको भरमा भने प्राकृतिक रुपमा बच्चा जन्माउन सकिन्छ भन्ने ठोकुवा गर्न नसकिने स्त्रीरोग विशेषज्ञ डा. कुमकुम झा बताउँछिन् ।

‘बच्चा पाठेघरमा कसरी बसेको छ, बच्चाको बसाइ उल्टो छ भने त्यस्तो अवस्थामा शल्यक्रिया विधि नै गर्नुपर्छ,’ उनी भन्छिन्, ‘योगले शरीरलाई बलियो रहन ऊर्जा दिन्छ । तौललाई नियन्त्रण गर्छ तर यसले प्रसूतिको प्रक्रिया निर्धारण गर्न भने सक्दैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय