काठमाडौं । कक्षा-५ मा पढ्ने छोरालाई होमवर्क सिकाउँदै गर्दा एक दिन छोराले रिजनालाई सोधे, ‘ममी, तपाइँले कति पढ्नुभएको छ ?’ उनले जवाफ दिइन्, ‘एसएलसी ।’

‘११/१२ पढ्नु भएन ?,’ छोराले फेरि सोधे । जवाफमा रिजनाले टाउको मात्र हल्लाइन् । छोराले फेरि सोधे, ‘किन एसएलसी मात्रै ममी ? अझै पढ्नु न ।’ ‘जब तिमी एसएलसी दिने हुन्छौ, म पनि दिन्छु अनि तिमी र मसँगै कलेज जाने ल,’ उनले छोरालाई थुम्थुम्याउन जवाफ दिइन् । किनकि, १० कक्षासम्म पढेर छोड्नुका कारणहरू त रिजनासँग धेरै थिए, तर ११ वर्षीय बालकलाई दिने जवाफ अरू थिएन ।

रिजनाले त्यति बेला छोरासँग गरेको कुराकानी केवल एक नाबालखको जिज्ञासा मेट्ने जवाफ मात्र नभई बचन नै बन्यो । छोरासँगै एसईई दिने बचन यही वर्ष पूरा गरिन्, रिजनाले । ३९ वर्षको उमेरमा २.१५ जीपीए ल्याएर एसईई उत्तीर्ण भइन्, रिजना तुलाधर श्रेष्ठ । सँगै उनका छोरा रिनाफ २.७५ ल्याएर उत्तीर्ण भए ।

तीनपटक असफल

ललितपुरको गोदावरी नगरपालिका–११, चपागाउँकी स्थानीय रिजनाले स्थानीय वशिष्ठ माध्यमिक विद्यालयबाट पहिलोपटक ०५७ सालमा एसएलसी परीक्षा दिइन् । विज्ञान विषयमा अनुत्तीर्ण भएपछि पूरक परीक्षा दिइन् । त्यसमा पनि अनुत्तीर्ण नै भएको नतिजा आयो ।

हिम्मत हारेकी थिइनन् । ०५८ सालमा फेरि नियमित तर्फबाट एसएलसी परीक्षा दिइन् । विज्ञान र गणित दुई विषयमा अनुत्तीर्ण भइन् । “त्यसपछि जोस नै हरायो । अब पास गर्न नसकिने रहेछ भन्ने लागेर पढ्नै छोडिदिएँ,” रिजना भन्छिन् । उनलाई उद्घोषण र सामाजिक काममा रुचि थियो । त्यतैतिर ध्यान दिन थालिन् । यसबीचमा उनको विवाह, घरपरिवारमा समय व्यतीत हुँदै गयो ।

बुनाइ र हस्तकलाको सीप भएकी उनी घरमै बसेर ती काम गर्थिन् । सँगै विभिन्न सामाजिक संघ–संस्था र महिला समूहमा पनि जोडिइन् । छोरा हुर्किएसँगै एसईई पास गर्ने संकल्प पनि बलियो हुँदै गएको थियो, रिजनाको । परिवारका सदस्यले पनि एसईईमा सहभागी हुन उनलाई प्रेरित गरी नै रहे । “आफू एसएलसी पास हुन नसके पनि उनको सक्रियता, मिहिनेत देखेर पढून्, उच्च शिक्षासम्म पुगून् भन्ने मेरो भित्री इच्छा छ,” उनका श्रीमान् नरेश तुलाधर भन्छन् ।

परिचय नै अपुरो बनाएको महसुस

रिजना विभिन्न सामाजिक संघ–संस्थासँग आबद्ध भएर काम गर्दै थिइन् । ०७४ सालपछि भने नयाँ किरण नेपाल नामक आफ्नै संस्थाको नेतृत्व गर्दै विभिन्न कार्यक्रमहरूमा पुग्न थालिन् । विभिन्न तालिमहरूमा सहभागी हुने मौका जुर्‍यो । यसरी सामाजिक काममा बाहिर हिँड्दा उनलाई आफ्नो परिचय नै अपुरो भएको महसुुस हुन थाल्यो ।

एकपटक पढाइ छोडे पनि फेरि प्रयास गरेको भए अहिले धेरै अगाडि बढिन्थ्यो होला भन्ने मनमा भइरह्यो । शुभचिन्तकहरूले हौसला दिइरहे । गोदावरीमै रहेको नवज्योति माध्यमिक विद्यालयबाट एसईई दिने निष्कर्षमा पुगिन् । एसईईको टुंगो लागेपछि नवज्योतिका शिक्षहरूसँग निरन्तर परामर्शमा रहिन् । केही समय ट्युसन कक्षा पनि लिइन् । प्राक्टिस बुक हेरेर पढ्न थालिन् । छोरालाई पढाउँदाको अनुभव छँदैथ्यो ।

एसईईको पहिलो दिन सबैभन्दा पछि ! रिजनाजस्तै धेरै समय ‘ग्याप’ भएर एसईई दिनेमा गोदावरीकै उनकी एक साथी पनि थिइन् । गोदावरीस्थित लालीगुराँस इंग्लिस सेकेन्डरी स्कुलमा रहेको परीक्षा केन्द्रमा यी दुई साथी अरूभन्दा धेरै ढिलो मात्र पुगे । छोराको पनि त्यही स्कुलमा केन्द्र परेको थियो ।

“साना–साना भाइबहिनीहरू थिए, लाइन बस्नु नपरोस् भनेर हामी अलि वरै बसेका थियौँ । पछि सबै छिरिसकेपछि गयौँ । पहिलो दिनमा त केही भाइबहिनीहरू हाँसे पनि । तर, भोलिपल्टदेखि त्यस्तो भएन । सबैजना साथीजस्तै भयौँ । जति पछि हुँदै गयो, त्यति सजिलो भयो,” रिजना आफ्नो परीक्षा अनुभव सुनाउँछिन् ।

उच्च शिक्षा हासिल गर्ने धोको
एसईईमा सफल भएसँगै आफूले एसईई उत्तीर्ण गरेकै विद्यालयबाट प्लस टु पढ्ने योजना बनाएकी छिन्, रिजनाले । चापागाउँस्थित एम्राइल्ड इंग्लिस स्कुलबाट एसईई उत्तीर्ण गरेका छोरा रिनोफ भने नजिकैको बज्रबाराही उच्च माविमा व्यवस्थापन विषय लिएर पढ्ने सोचमा छन् ।

“अहिलेलाई नवज्योतिबाट नै आर्ट्स लिएर प्लस टु पढ्ने विचार गरेकी छु । त्यसपछि सफल हुँदै गए मास्टर्ससम्मै पढ्ने धोको छ । हेरौँ, कस्तो हुन्छ,” रिजनाले आफ्नो इच्छा सुनाइन् । आफूले हिम्मत गरेर धैर्यता राखी अघि बढे कुनै पनि काममा असफल हुनु नपर्ने रिजनाको विश्वास छ । बाह्रखरी

सेयर गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here