निजी विद्यालय नभएको देश शैक्षिक सूचकमा सर्वोच्‍च स्थानमा

चेतना, बुध्दि, ज्ञान, सीप र क्षमता प्राप्ति तथा अभिवृध्दि गर्ने औजार हो भने सिकाइ तिनै चेतना, बुध्दि, ज्ञान, सीप र क्षमता प्राप्ति र अभिवृध्दि गर्ने प्रक्रिया हो । शिक्षा मात्र एउटा यस्तो तत्व हो जसले कुनै पनि प्राणीको प्रकृति प्रदत्त स्वभाव पनि परिवर्तन गर्न सम्भव बनाउँछ । यसले सोचाइको दायरा फराकिलो बनाउँछ, व्यवसायी बनाउँछ, कुशल जीवन जिउने कला सिकाउँछ, सामाजिक बनाउँछ, वास्तविक मान्छे बनाउँछ ।

नेपालमा हामीलाई औपचारिक शिक्षा सामान्यतया पूर्वस्कुल वा किन्डरगार्टन, प्राथमिक विद्यालय, माध्यमिक विद्यालय, कलेज, विश्वविद्यालयमा धेरै अंक भएको प्रमाणपत्र जम्मा गर्नुलाई मात्र शिक्षा भन्‍ने बुझाइयो तर, वास्तविक शिक्षा केवल औपचारिक शिक्षालयमा र शिक्षालयका गुरुहरूबाट पढे-पढाएर मात्र प्राप्त हुन्छ भन्‍ने हुँदैन । आमाको गर्भमा आएबाट सुरु भई चेतना रहुन्जेल चलिरहने जीवनोपयोगी तत्वको प्राप्ति र प्रक्रिया हो भन्‍ने तथ्य बुझाइएन । अथवा भनौँ यो ब्रह्माण्डमा यत्ति धेरै ज्ञान छ कि जसले गर्दा एउटा विद्यार्थीको लागि शिक्षाको कुनै सीमा नै हुँदैन ।

प्रारम्भ काललाई हेरौँ अक्षर निरक्षरहरूले बनाएका हुन् भने शब्द नहुनेले भाषा बनाएका हुन् । प्रमाणपत्रधारी मात्र शिक्षित हुन्छन् भन्‍ने सत्य होइन । हो, वास्तवमा शिक्षा असीमित हुन्छ । यो असीमित शिक्षा कि त पढेर कि परेर प्राप्त गर्न सकिन्छ, परेर जानेको शिक्षा नै दिगो र बढी प्रभावकारी हुन्छ । शिक्षा अक्सर शिक्षकहरूको मार्गनिर्देशन बमोजिम विद्यार्थीहरू शिक्षित हुन्छन् तर वास्तविक विद्यार्थी अथवा सिकारुहरू गुरुहरूका मार्गदर्शन अलावा हरेक पाइलापाइलाका अनुभवका आधारमा आफैँले आफैँलाई पनि जीवन शिक्षाको ज्योतिले प्रदीप्त गर्न सफल हुन्छन् भन्‍ने तथ्य न त हामीले बुझ्यौँ न हाम्रा कुनै विद्यार्थीहरूलाई नै बुझायौँ ।

शिक्षा क्षेत्रका वरिष्ठ अनुसन्धानकर्ता बेन जोन्सनले बृहत् अनुसन्धान गरेर पत्ता लगाए कि ‘असल शिक्षक त्यो हो, जसले पढाउँदैन ।’ हो, असल शिक्षकले पढाउँदैन- घोकाउँदैन- सीमित ज्ञान दिँदैन । उसले विद्यार्थीलाई अधिकभन्दा अधिक प्रभावकारी र व्यावहारिक शिक्षा ग्रहण गर्ने भोक जगाउँछ, वातावरण मिलाउँछ, उचित निर्देशन दिन्छ, समान अवसर दिन्छ ।

विगत एक दशकबाटको विशिष्ट शिक्षा प्रणाली भएका मुलुकहरूको सूचकांकमा विश्वको पहिलो नम्बरमा रहन सफल मुलुक फिनल्यान्डमा रहेको शिक्षा प्रणालीमा भएका विशेषताहरू के कस्ता छन् र त्यस्तो असल शिक्षा प्रणालीबाट हामीले के सिक्न सक्छौँ ? भन्‍ने तथ्यलाई निम्न बमोजिम केलाऔँ ।

परीक्षाको मापदण्डरहित (नो स्ट्यान्डराइज्ड टेस्ट) सीमित पाठ्यक्रमका बनिबनाउ, प्रश्न अनि परीक्षामा पास हुन र धेरै अंक ल्याउन पढ्ने घोक्ने चलन फिनल्यान्डमा छैन । हरेक दिनको विभिन्न क्रियाकलाप, अभ्यास र प्रस्तुतिहरू मार्फत विद्यार्थीका समग्र प्रगतिको ट्यांक गरिन्छ । उच्च माध्यमिकको अन्त्यमा अन्तर्राष्ट्रिय स्तरको स्वेच्छिक मेट्रिकुलेसन परीक्षा हुन्छ नत्र कुनै परीक्षाको पनि निश्चित मापदण्ड तोकिएको छैन ।

उत्तरदायित्व होइन, दायित्व
यहाँको मान्यता नै हो, रेस्पोन्सिबिलिटी, नो एकाउन्टिबिलिटी । फिनल्यान्डमा शिक्षकले उत्तरदायित्व होइन, दायित्व वहन गर्नुपर्छ । कुनै पनि शिक्षक हुन कम्तीमा स्नातकोत्तर हुनु अनिवार्य छ भने बाल मनोविज्ञान बुझ्न सक्ने र सिकाइ तरिका राम्रो बुझेको हुनुपर्छ । विद्यार्थी कहिल्यै फेल हुँदैन, फेल त शिक्षक हुन्छ । हो, विद्यार्थी त सिकारु हो, ऊ कहिल्यै फेल हुँदैन यदि विद्यार्थीमा कुनै कमी-कमजोरी भयो भने शिक्षक फेल हुन्छ । त्यसैले शिक्षक कोहीसँग उत्तरदायी हुनुपर्दैन केवल आफ्नो विद्यार्थीलाई संसारकै विशिष्ट बनाउने दायित्व वहन गर्नुपर्छ ।

प्रतिस्पर्धा होइन, सहयोग
कोओपरेसन, नो कम्पिटिसन । फिनल्यान्डको सिकाइ पध्दतिले पहिचान गरेको तथ्य ‘वास्तविक विजेतासँग कसैको पनि प्रतिस्पर्धा हुँदैन ।’ जसरी संसारमा पृथक् पृथक् असीमित जान्नु सिक्नुपर्ने विषयवस्तु र विधाहरू हुन्छन्, त्यसैगरी मानिसको विशेषता र क्षमता पनि पृथक्पृथक् असीमित नै हुन्छन् । त्यसैले विद्यार्थीलाई कहिल्यै एउटा दुइटा वा सीमित विषयवस्तुमा प्रतिस्पर्धा गराउनु हुँदैन । फिनल्यान्डमा विद्यार्थीलाई कसरी खुसी, स्वास्थ्य, सामञ्जस्य र सिर्जनात्मक बनाउन सकिन्छ जस्ले उसको मौलिक क्षमता उजागर होस् भन्‍ने ध्येय रहेको हुन्छ ।

सिकाइको वातावरण
फिनल्यान्डको स्कुलमा के-कति पढाइयो भन्दा पनि के-कसरी पढाइयो भन्‍ने कुरालाई मुख्य ध्यान दिइन्छ । बच्चालाई कमभन्दा कम तनाव, बीचबीचमा प्रशस्त ब्रेक, बढीभन्दा बढी रिल्याक्स वातावरण, कसरी हुन्छ सहज वातावरण सिर्जना गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय