मुसिकोटमा १० वर्षदेखि सामूहिक आलुखेती हुँदा, स्वादिलो आलुले उपभोक्ता दङ्ग

कमल पौडेल – बागलुङ। गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ८ का किसानहरू आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन्। पहिले परम्परागत खेती गरिरहेका किसानहरू विगत १० वर्ष यता व्यवसायीक आलुखेती गरिरहेका हुन्।

परम्परागत रुपमा खेती गर्दै आउनुभएकी माझखर्ककी लक्ष्मी सापकोटा सामूहिक रुपमा खेती गर्न थालेपछि सजिलो भएको बताउनुहुन्छ। सापकोटाले भन्नुभयो, “तम्घास गएर तालिम लिएपछि १० वर्ष देखि समूहमा आलु खेती गर्दै आएका छौँ, समूहमा गर्दा मल राख्दा, पानी राख्दा, विउकिन्दा निकै सजिलो हुन्छ”। तुल्सी सापकोटा पनि सोही समूहकी सदस्य हुनुहुन्छ, पुरुषहरू गाउँमा भेटिँदैन सापकोटाले भन्नुभयो “समूहमा सबै महिला मात्रै सदस्यहरु छौँ, समूहमा भएकोले काम गर्न सम्भव भएको छ, आलु बेचेर घर खर्च चलाएका छौँ।”

गाउँबाट बस्ती पातलिँदै छ, आमाहरूको मन भने गाउँमै छ, आफै स्वरोजगार पनि बन्नुभएको छ तर बाँदरले चिन्ता थपेको छ। सरस्वती सापकोटाले भन्नुभयो “हामीलाई सरकारले सहयोग गर्ने हो भने बाँदर लखेटिदिए हुन्थ्यो, बाँदरले साह«ै सताउन थाल्यो।”

सन्कोल की पार्वती खरेलले पनि निरन्तर आलुखेती गर्दै आउनुभएको छ, उहाँले आलु वेच्न लागेको १० वर्ष भयो, अहिले पनि व्यक्तिगत रूपमै ५ क्वीन्टल बिउ लगाउनुभएको छ, घरबाटै आलु बेचेर गुजरा चलिरहेको छ।

आलु तथा अलैँची उत्पादक कृषि महिला समूहकी सचिवसमेत रहनुभएकी दिलमाया घर्ती राना ४ वर्ष देखि आलु खेती गरिरहनुभएको छ। उहाँको समूहमा १२ जना सदस्य छन् उहाँहरूले १५ क्वीन्टल बिउ लगाउनुभएको छ तर उत्पादन भएको आलुको बजार भने त्यति राम्रो नभएको गुनासो उहाँको छ। उहाँले भन्नुभयो “६ महिना लगाएर घरवाटै आलु बेचेर सक्छौँ, एकै पटक बेच्न पाउने हो भने आम्दानी देखिने थियो, घर खर्च महिलाहरूले नै आलुवेचेर चलाएका छौँ।”

यसरी आलुको पकेट क्षेत्र बनाएर महिलाहरुलाई उद्यमी बन्न लक्ष्मीनारायण महिला कृषि सहकारीले सघाएको छ। सहकारीले समूह निर्माण गर्नेदेखि तालिम, बिउ र बजार सम्मको लागि सहजीकरण गरिरहेको अध्यक्ष यमुना घिमिरेले बताउनु भयो, उहाँले भन्नुभयो “४० जनाको समूहले आलुखेती गर्दै आएका छौँ, ५ हेक्टर क्षेत्रफलमा आलु लगाउँदा कृषि ज्ञान केन्द्रले पनि सहयोग गरेको छ, यस वर्ष पनि १०० क्वीन्टल आलु लगाइएको छ, ६५ क्वीन्टल बिउँमा सहकारीले पनि सहयोग गरेको छ।”

वडा नं. ८ भित्र ४ वटा प्लटमा अहिले आलुखेति भइरहेको हो। माझखर्क, रुक्से, वाकी र सन् कोललाई आलु पकेटको रुपमा विकास गरी खेती गरिरहेको सहकारीले जनाएको छ। सहकारीका ५ सय २२ जना सदस्य मध्ये अमृतपुर आलु तथा अलैँची उत्पादक कृषि समूहमा ४० जना सदस्य आबद्ध भई सामूहिक आलु खेती गरिरहेका छन्।

जेठमा उत्पादन हुने आलु बेमौसमको भएकोले निकै स्वादिलो हुने उपभोक्ताले बताउँछन्। बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङ का यदुमणि खरेलले भन्नुभयो “आगोपार्नेको आलु निकै स्वादिलो छ, अन्य क्षेत्रको भन्दा सस्तो पनि र स्वादिलो पनि भएकोले सोही आलु उपभोग गर्दै आएका छौँ।”

लक्ष्मीनारायण महिला कृषि सहकारीले आलु मात्रै होइन बेमौसमी मकै खेतीमा पनि काम गर्दै आएको छ। मुसिकोट नगरपालिका वडा नं. ७ को न्वारमा २० रोपनी क्षेत्रफलमा बेमौसमी मकै उत्पादन भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत मकै जोन को सहयोगमा गत वर्षदेखि मकै पर्दशन कार्यक्रम अनुसार मकै खेती गरिएको हो। मकैको बिउँ, मल र प्रविधिमा मकै जोन सँगै सहकारीले पनि सहकार्य गरेको छ। अनुदानमा ५० प्रतिशत मकै जोन र २५ प्रतिशत सहकारीले सहयोग गरेको छ। रामपुर १० नामको मकै उत्पादन गरी बजारमा वितरण समेत भएको छ।

मकै खेती गरिरहनुभएका न्वार सुदीका शेसकान्त अर्यालले भन्नभयो “हामीलाई त पहिलो प्रयोग थियो, हरियो मकै बेच्ने कुरा तर गज्जब हुँदो रहेछ, अघिल्लो वर्षपनि राम्रै बेचियो, यो वर्षपनि हरियो मकै बेच्दा राम्रै भयो।” वडा नं। ७ को न्वारसुदि क्षेत्रमा सात जना कृषकहरूको समूहमा मकै खेती गरिएको छ, नयाँ प्रयोग सहित चैत्र, वैशाख र जेठमा हरियो मकै बजारमा पठाउन पाउँदा सहकारी पनि सफल भएको छ।

अध्यक्ष घिमिरेले भन्नभयो “सुरुमा त फल्ने हो कि होइन भनेर डर लागिरहेको थियो, पछि राम्रो फल्यो, प्रयोग सफल भयो, खुसी छौँ, हरियो मकैवाट किसानले ५ लाख भन्दा बढी आम्दानी गर्नुभएको छ”।

मुसिकोट नगरपालिकाले पनि किसानहरूलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दै आएको छ। बिउँ, प्रविधि र मलमा सहयोग गरिरहेको नगरपालिकाले अव बजारको पनि ग्यारेन्टी गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय