Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the nepse domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/nabakhab/public_html/wp-includes/functions.php on line 6114
राजेन्द्र र रवीन्द्रको नयाँ पार्टी : राप्रपा साझा वा साझा राप्रपा ! | Naba Khabar
राजेन्द्र र रवीन्द्रको नयाँ पार्टी : राप्रपा साझा वा साझा राप्रपा !

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा समान विचारधारा भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीबीच एकताको तयारी तीव्र बनेको छ । पछिल्लो केही सातायता दुई पक्षबीच वार्ताको क्रम बाक्लिएको छ ।

राप्रपा उच्च स्रोतका अनुसार छिट्टै एकता घोषणा गर्ने गरी दुई पक्षीय छलफल अघि बढेको छ । जसअनुसार राप्रपाले अन्य पार्टीसँग एकताका लागि बनाएको वार्ता टोलीका संयोजक तथा महामन्त्री डा. धवल शमशेर राणाले विवेकशील साझाका नेताहरूसँग विभिन्न चरणको छलफलमार्फत एकताको मोडालिटीमा मोटामोटी सहमति जुटाइसकेका छन् । यस्तै अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रबीचसमेतको वार्ताले पनि एकतालाई मूर्तरूप दिएको नेताहरूको भनाइ छ ।

दुई पार्टीबीच एजेण्डाको हिसाबले मतभिन्नता नरहेकाले नेतृत्व र संगठनात्मक विषय मिलाएर एकता गर्ने मोटामोटी सहमति भएको छ । पार्टीको नामबारे भने अन्तिम रूप दिन बाँकी रहेको छ । राप्रपा पक्षले अहिलेकै नाम स्वीकारेर एकतामा आउन मिश्रलाई प्रस्ताव गरेको छ । तर, मिश्रले आफूहरूको अपनत्व रहने गरी पार्टी एकता हुनुपर्ने भन्दै राप्रपा साझा वा साझा राप्रपा नाम हुनुपर्ने प्रस्ताव गरेका छन् । तर, चुनाव चिन्ह भने हलो नै स्वीकार्न मिश्र राजी भएका छन् । मिश्रले पार्टीको झण्डामा चाहिँ तराजु हुनुपर्ने माग राखेका छन् । नेतृत्वको विषयमा लिङ्देन मूल अध्यक्ष रहने भए पनि मिश्रको कसरी व्यवस्थापन हुने भन्नेबारे छलफल भइरहेको छ ।

राप्रपाका महामन्त्री भुवन पाठकले दुई पार्टीबीच एकताका लागि छलफल चलिरहेको पुष्टि गरे । उनले पार्टीले बनाएको वार्ता टोली र नेतृत्व तहबीच नै चरणबद्ध रूपमा छलफल भइरहेकाले छिट्टै नतिजा निस्कने रातोपाटीलाई बताए । ‘एकताका लागि वार्ता भइरहेको छ । अहिले यति भनौँ, सकारात्मक छलफल अघि बढिरहेको छ’, पाठकले भने, ‘प्राविधिक विषय मिलाएर हामी छिट्टै अन्तिम रूप दिन्छौँ ।’

वैकल्पिक राजनीतिको लक्ष्यसहित तत्कालीन साझा पार्टी रवीन्द्र मिश्रको नेतृत्वमा उदय भएको थियो । पछि विवेकशील नेपाली दलसँग एकतापछि विवेकशील साझा पार्टीका रूपमा मिश्रको पार्टी सक्रिय रहेको छ ।

यही बीचमा मिश्रले ‘विचारभन्दा माथि देश’ एजेण्डा अघि सारेपछि पार्टीमा विवाद उत्पन्न भएको थियो । मिश्रको ल्याएको सो प्रस्ताव अहिले पार्टीमा लागू भएको छ । गत कात्तिकमा बसेको विवेकशील साझा पार्टीको केन्द्रीय कमिटी बैठकले मिश्रको दस्ताबेज ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ लाई अङ्गीकार गर्ने निर्णय गरेको थियो ।

जसअनुसार स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग गरिएको छ । सोही बैठकले नै पार्टीलाई बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने निर्णय पनि गरेको थियो । राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने गरी मिश्रले निर्णय गराएका थिए ।

मिश्रको दस्ताबेज पार्टीमा लागू भएपछि पार्टी संयोजक मिलन पाण्डेले विद्रोह गर्दै दुई लाइन संघर्ष चलाएका थिए । एक पक्षले अर्कालाई स्पष्टीकरण सोध्नेसम्मको तहमा पुगेको दुई लाइन संघर्ष हाल पनि कायम छ । तर, बहुमतको बलमा मिश्रले पाण्डेलाई केही महिनापहिले नै साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरिसकेका छन् भने अघिल्लो सातामात्रै थप २६ जना केन्द्रीय सदस्यलाई बर्खास्त गरेका थिए । बर्खास्तीमा पर्नेमा बागमती प्रदेश सभा सदस्यसमेत रहेका पार्टीका नेता रमेश पौड्याल समेत रहेका छन् ।

सो पार्टीको जानकारी अनुसार पार्टीका कुनै पनि कार्यक्रममा सरिक नहुने, केन्द्रीय समिति बैठकमा लगातार अनुपस्थित हुने र कतिपयले समानान्तर गतिविधि र लेबीसमेत नतिरेकोले हटाइएको दाबी गरेको छ। यसरी पदमुक्त हुनेमा प्रदेश सांसद रमेश पौड्यालसहितथ केशव दाहाल, अनुषा थापा, आशुतोष तिवारी, पुकार बम, हरिशप्रसाद भट्ट, रविना अम्गाईं, सुरेश भट्ट र सुदन मानन्धर रहेका छन् ।

यस्तै नेताहरू सुरेश अर्याल, सिर्जना खड्का, सरोज गौतम, शिशिर बन्जारा, विमल तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, कमलेश्वर पाठक, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री, भरतराज पन्त, धर्म मानन्धर, मनिष खनाल, मुना अधिकारी, भुपदेव शाह पनि बर्खास्तीमा परेका छन् ।

बर्खास्तीमा पर्नेहरू गणतन्त्र पक्षधर हुन् भने अधिकांश पूर्व विवेकशील पृष्ठभूमिका हुन् । यस्तै पार्टीभित्र अन्तर्विरोध चर्किँदा चर्चित नेतृ रञ्जु दर्शनाले पार्टी परित्यागको घोषणा गरेकी थिइन् ।

हाल पार्टीमा रवीन्द्र मिश्र निकटस्थहरू मात्र बाँकी रहेको सो पार्टीले अन्ततः राप्रपासँग चुनावअघि एकता गर्ने गरी तयारी गरेको हो । यस विषयमा मिश्रको प्रतिक्रिया लिन सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । केही दिनअघि सञ्चारमाध्यममा मिश्र राप्रपा प्रवेश गर्ने समाचार आएको थियो । जसलाई उनले खण्डन गरेका थिए । वैकल्पिक राजनीति गर्ने उद्घोषका साथ सञ्चारकर्मबाट राजनीति कर्ममा होमिएका उनी विभिन्न उतारचढाव झेल्दै अहिलेको ठाउँमा आइपुगेका हुन् ।

यता गत फागुनमा महाधिवेशन गरेको राप्रपा पार्टीबाट कमल थापा बाहिरिएसँगै मिश्रलाई पार्टीमा भित्र्याउँदै त्यसको क्षतिपूर्ति गर्ने रणनीतिमा छ । महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै कमल थापाले पार्टी परित्याग गरेर हाल राप्रपा नेपाल बनाएका छन् । कतिपय नेता कार्यकर्ता कमल थापाको पछि लागेसँगै अध्यक्ष राजेन्द्र लिङ्देन जनमत आफूतिरै कायम राख्न प्रयासरत रहेका छन् । त्यसैले लिङ्देनले समानविचारधारा भएका दल तथा संघसंस्थासँग एकता गर्ने नीति नै लिएका छन् भने पार्टीको पहिलो केन्द्रीय समिति बैठकबाट महामन्त्री राणाको संयोजकत्वमा वार्ता समिति बनाएका थिए । सोही समितिले भ्रष्टाचार विरोधी छवि बनाएका ज्ञानेन्द्र शाहीलगायतलाई पार्टीमा भित्र्याएको थियो ।

गत पुस १६ मै राप्रपा र विवेकशील साझा पार्टीबीच औपचारिक रूपमा एकता वार्ताको थालनी भएको थियो । त्यतिबेला अध्यक्ष लिङ्देनलगायतका नेताहरू मिश्रलाई भेट्न उनकै निवासमा पुगेका थिए । त्यतिबेला दुवै नेता थप छलफल गरेर अघि बढ्ने विषयमा सहमत भएका थिए ।

पछिल्लो पटक भने दुई पक्षबीच गत आइतबार वार्ता भएको थियो । सोही वार्ताबाट दुवै पक्ष एकता नजिक पुगेका हुन् । अब केही प्राविधिक विषय टुङ्ग्याएर एकता हुने बताइएको छ । ‘दुई पार्टीबीच एकता छिट्टै हुन्छ । स्थानीय तहको चुनावमा दुई पार्टी एउटै पार्टी भएर चुनावमा जाने निश्चित जस्तै छ’, राप्रपाका एक नेताले भने ।

सबल र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ राप्रपाले सनातन हिन्दुराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र आर्थिक उदारवादलाई मुख्य एजेण्डा बनाउँदै आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर