महानगरको टिकट बाँड्ने कांग्रेसको संसदीय बोर्ड, यस्तो छ सम्भावित सूची

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चैत ११ गते शुक्रवार बस्दै छ । बैठकमा संसदीय समिति गठनको एजेण्डासमेत रहेको छ ।

कांग्रेस विधानले विभिन्न तहका निर्वाचनमा पार्टीको तर्फबाट बन्ने उम्मेदवार चयनका लागि तहगत रूपमा संसदीय समितिको व्यवस्था गरेको । कांग्रेसवृत्तमा ‘संसदीय बोर्ड’ का रूपमा परिचित यो समितिलाई निर्वाचनमा ‘टिकट बाँड्ने’ समितिका रूपमा पनि चिनिन्छ ।

कांग्रेस विधानको दफा ३१ ले केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा क्षेत्रमा संसदीय समिति रहने व्यवस्था गरेको छ । प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले आफ्नो क्षेत्रभित्रको गाउँपालिका वा नगरपालिकाको वडा तहका उम्मेदवारहरूको टुंगो लगाउने प्रावधान रहेको छ । प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले गाउँ÷ नगर वडाका अध्यक्ष र सदस्यहरूको टुंगो लगाउनेछ ।

त्यस्तै जिल्ला सभापतिको नेतृत्वमा रहने जिल्ला संसदीय समितिले सम्बन्धित जिल्लाभित्र रहेको गाउँपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवार टुंगो लगाउने अधिकार विधानले प्रत्यायोजन गरेको छ । प्रदेश संसदीय समितिले भने प्रदेशभित्रका नगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार निश्चित गर्नेछ ।

कांग्रेस विधानले महानगरको प्रमुख र उपप्रमुखको उम्मेदवार तय गर्ने अन्तिम अधिकार भने केन्द्रीय संसदीय समितिलाई दिएको छ । सोही समितिले प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यको उम्मेदवारसमेतको टुंगो लगाउनेछ ।

को को हुन्छन् केन्द्रीय संसदीय समितिमा ?

कांग्रेस विधान अनुसार केन्द्रीय संसदीय समितिमा सभापति , उपसभापतिहरू, महामन्त्रीहरू र पदाधिकारीहरू स्वतः रहनेछन् । त्यस्तै केन्द्रीय सदस्यमध्येबाट सभापतिले प्रस्ताव गरी बढीमा ११ जनालाई केन्द्रीय संसदीय समितिमा राख्न सक्नेछन् ।

कांग्रेसमा विगतमा विधानले व्यवस्था गरेबाहेक शीर्ष वरियताका नेताहरूलाई संसदीय समितिमा ल्याउने प्रचलन रही आएको छ । संसदीय समिति बनाउँदा समावेशी सिद्धान्तलाई पनि ध्यान दिनुपर्ने कांग्रेस विधानमा उल्लेख छ ।

यस्तो छ सम्भावित संसदीय समिति

कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको शुक्रबारको बैठकबाट संसदीय समिति गठन गर्दैछन् । समितिमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा स्वतः रहनेछन् ।

विधानअनुसार नै सहमहामन्त्रीहरु फर्मुल्लाह मन्सुर, उमाकान्त चौधरी, डिना उपाध्याय, भीष्मराज आङदाम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, ब्रदी पाण्डे र जीवन परियार संसदीय समितिमा रहनेछन् । सभापति देउवाले कोषाध्यक्ष मनोनीत गरिसकेका छैनन् । मनोनीत भएको अवस्थामा कोषाध्यक्ष पनि संसदीय समितिमा रहनेछन् ।

त्यसबाहेक सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, १४ औँ महाधिवेशनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइराला, निवर्तमान उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, निवर्तमान महामन्त्री डा.शशांक कोइराला, पूर्व उपसभापति गोपालमान श्रेष्ठ , पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलापनि संसदीय समितिमा समेटिनेछन् ।

पदाधिकारी बैठकमा पदेन रहने गरेका प्रवक्ता डा. प्रकाशशरण महत पनि संसदीय समितिमा रहने बताइन्छ । त्यसबाहेक पूर्व सहमहामन्त्री सुनीलबहादुर थापा पनि संसदीय समितिमा पर्नसक्ने बताइन्छ । चित्रलेखा यादव, बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेतालाई पनि संसदीय समितिमा समेट्नुपर्ने दबाब देउवालाई रहेको छ ।

कांग्रेसको सम्भावित केन्द्रीय संसदीय समिति

सभापति – शेरबहादुर देउवा

उपसभापतिहरू – पूर्णबहादुर खड्का र धनराज गुरुङ

महामन्त्रीहरू – गगन थापा र विश्वप्रकाश शर्मा

सहमहामन्त्रीहरु – फर्मुल्लाह मन्सुर, उमाकान्त चौधरी, डिना उपाध्याय, भीष्मराज आङदाम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, ब्रदी पाण्डे र जीवन परियार

कोषाध्यक्ष – मनोनीत हुन बाँकी ।

प्रवक्ता – डा. प्रकाशशरण महत

सदस्यहरू– रामचन्द्र पौडेल, डा. शेखर कोइराला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, सुनीलबहादुर थापा, चित्रलेखा यादव र बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्की ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय