ओलीले प्रचण्डलाई कारबाही गर्ने

अब ओलीले प्रचण्डलाई कारबाही गर्ने, पार्टी एकता भंग गर्ने धृष्टता गरेको आरोप
काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको पत्र आरोप प्रत्यारोप जटिल मोडमा पुगेको छ ।

ओली र प्रचण्डबीच जारी पत्रयुद्धमार्फत एकले अर्कोलाई पत्रमार्फ नंग्याउने क्रम जारी छ । प्रचण्डले कात्तिक २८ गते सोधेको १९ पृष्ठको आरोपको ओलीले शनिबारको सचिवालय बैठकमा ३८ पृष्ठमार्फत दिएका छन् । ५३ बुँदामा प्रचण्डलाई ओलीले निकै संगीन आरोप लगाएका छन् ।

ओलीले आफूलाई बहुमत र अल्पमतका आधारमा कसैले पनि कारबाही गर्न नसक्ने भन्दै आफ्नै सहयोद्धामाथि गम्भीर लाञ्छना र पार्टी एकता भंग गर्ने धृष्टता गरेकोमा कारबाहीका लागि तयार हुन पनि चेतावनी दिएका छन् ।

‘यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ? भन्दै ओलीले गिरिजाप्रसाद कोइरालादेखि माधवकुमार नेपालसम्मलाई धोका दिएको उल्लेख गर्दै शान्ति प्रक्रियादेखिका प्रसंग निकालेका छन् ।

त्यति मात्र होइन, प्रचण्डको दोहोरो शैली भन्दै ओलीले नवौं बुँदामा गम्भीर प्रश्न गरेका छन् । जसमा उनलाई कारबाहीका लागि तयार भएर बस्न पनि भनेका छन् ।

उनले लेखेका छन्, ‘कामरेड प्रचण्ड’, किन यस्तो अपारदर्शिता ? किन यस्तो छलछाम ?’ उनले भनेका छन्, ‘ तपाईंको यो ‘प्रस्ताव’ वस्तुतः कुनै राजनीतिक प्रस्ताव होइन, आफ्नै सहयोद्धा अध्यक्षमाथि लगाइएको ‘अभियोगपत्र’ हो र यसलाई अगाडि सारेर तपाईंले वस्तुतः पार्टी विभाजनको अनौपचारिक घोषणा गर्नुभएको छ ।

पार्टी एकीकरण अगाडिका, त्यस क्रममा भएका र त्यसयताका समग्र समझदारी र सोचविपरीत, आमनिर्वाचनका क्रममा जनतामाझ गरिएका संकल्पका विपरीत, पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन, अन्तरिम विधान, एकीकरणको घोषणाको भावना तथा प्रावधान विपरीत एवं आम पार्टी पङ्क्ति, समर्थक–शुभचिन्तक र राजनीतिक स्थायित्वका पक्षधर आम जनताको चाहनाविपरीतको यस ‘प्रस्ताव’ ले देशैभरि चिन्ता फैलाइदिएको छ ।

राजनीतिक अस्थिरताका पक्षधरहरु हौसिएका छन् । तपाईँको झुठो आरोप– पत्र हात–हातमा बोकेर विपक्षीहरु हिँड्न थालेको देखिसक्नुभएको होला । उनीहरु दंग होलान्– नेकपालाई खुइल्याउन हामीले त केही गर्नै नपर्ने भयो ।

जनता भने पीडामा छन् । यो यति गम्भीर विषय हो, जसलाई यस्तै हो भनेर छाड्न मिल्दैन । तपाईंले पार्टीका नीति या विधानसम्बन्धी प्रश्नमा मात्रै मलाई लाञ्छित गर्नुभएको छैन, मुलुकको संविधान र कानुन आकर्षित हुने फौजदारी प्रकृतिका आरोपसमेत लगाउनु भएको छ ।

यति गम्भीर आरोप लागेको मान्छे ‘आत्मालोचना’ गरेर पनि उम्किन सक्दैन, आरोप पुष्टि हुँदा ऊ राज्यको कानुन र पार्टीको विधानअनुसार कारबाहीको भागीदार बन्नुपर्छ ।

तपाईलाई मेरो चुनौती छ– कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधानअनुसार मलाई कार्बाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भंग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय