शुल्क लिन नपाउने भएपछि बैंकहरुले एटीएम बुथमा पैसा हाल्न छाडे, बढ्यो गुनासो

सेवाग्राहीलाई चाहिएको बेला रकम झिक्न सजिलो होस् भनेर बैंक तथा वित्तीय संस्थाहरुले ठाउँठाउँमा एटीएम बुथ राखेका हुन्छन् । तर, सोही एटीएम बुथको सेवा प्रभावकारी हुन नसक्दा पछिल्लो समय सेवाग्राहीले सास्ती भोग्नुपरेको गुनासो आउन थालेको छ । एटीएममा पैसा झिक्न जाँदा कहिले पैसा हुँदैन त कहिले बिग्रेको अवस्थामा भेटिन्छ । बिग्रेको एटीएम पनि लामो समयसम्म बनेको पाइँदैन । अन्तरबैंकिङ एटीएम कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था भएसँगै बैंकहरुले एमीएमबाट दिने सुविध पनि प्रभावकारी नबनाएका हुन् ।

जुनसुकै एटीएम बुथबाट जुनसुकै बैंकको एटीएम कार्ड राखेर पैसा निकाल्दा शुल्क नलाग्ने भएपछि केही बैंकहरुका एटीएमको सेवा प्रवाहमा समस्या भएको हो । राष्ट्र बैंकको नयाँ व्यवस्था सँगै बैंकहरुले समेत एटिएएम सेवा प्रवाहमा सुस्तता देखाएका हुन् ।

ललितपुरको बालकुमारीस्थित नबिल बैंकको एटीएम बिग्रेको लामो समय भयो तर अझै बन्न सकेन । यस्तै बालाजुको नेपालटारमा रहेको प्राइम बैंकको एटीएम बुथको हालत पनि उस्तै छ । नेपालटारको प्राइम बैंकको सो बुथ आक्कलझुक्कल मात्रै चल्छ भने अधिकांश समय सेवा अवरुद्ध नै हुन्छ । यसैगरी नेपालटारकै सिद्धार्थ बैंकको एटीएम बुथ पनि बिग्रेको भन्दै बन्द गरिएको लामो समय भइसक्यो । यता सामाखुसीको एक बैंकको एटीएम बुथमा रकम निकाल्न जाँदा कहिल्यै पैसा निस्कँदैन ।

यी त प्रतिनिधि उदाहरणमात्रै हुन्, पछिल्लो समय एटीएम बुथबाट पाइने सुविधा टिठलाग्दो छ । कोरोना महामारीबाट सचेत रहन अपनाइनुपर्ने सामान्य मापदण्ड समेत एटीएममा देखिदैन् । उपत्यका भन्दा बाहिरका एटीएम बुथमा यस्तो समस्या झनै बढी रहेको बताइएको छ ।

केही बैंकर्सहरुबाट त अरुको बैंकको पैसा झिक्न किन एटीएममा पैसा हालिरहनु र किन बनाइरहुन भन्नेसम्मका अभिव्यक्तिहरु सुनिन थालेको छ । एटीएमबाट सास्ती भएपछि एटीएम प्रयोगकर्ताले राष्ट्र बैंकका समेत गुनासो गर्न थालेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बताउँछन् । पछिल्लो समय एटीएम प्रयोगकर्ताहरुको गुनासो राष्ट्र बैंकसम्म आउने क्रम बढ्दै गएको भट्टको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय