रामचन्द्र र शशांकले छोडे सभापतिको दौड, प्रकाशमान र शेखरले टेरेनन

काठमाडौं । कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा साझा उम्मेदवार बनाउने कुरामा वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूह सहमति नजिक पुगेको छ।

साझा उम्मेदवार तय गरेर सहमति जुटाएको कांग्रेसको संस्थापन इतर समूहको केन्द्रीय समिति सदस्यहरुसहितको चाक्सीबारीमा बसिरहेको बैठक साझा उम्मेदवारका लागि सहमति नजिक पुगेको हो। यो समूहका युवा नेताहरु र केन्द्रीय सदस्यहरुले समेत दबाब दिएपछि सभापतिका दाबेदार चार नेताहरु सहमतिको खाका निर्माणमा अघि बढेका हुन्।

मंगलबार दिउँसोदेखि प्रकाशमान सिंह निवासमा जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला सभापतिको दाबेदारी छाड्न लचक भएका छन्।

उनीहरुले दाबेदारी छाडेपछि अब कांग्रेसको इतर समूहबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता शेखर कोइरालामध्ये एकजना सभापतिमा उठ्ने खाका बनेको छ।

बैठकमा सहभागी एकजना केन्द्रीय सदस्यले नेपालखबरलाई दिएको जानकारी अनुसार अब सभापतिका लागि नेता सिंह र कोइरालाबीच कुरा मिलाउन बाँकी रहेको छ। ‘यो बैठकमा युवा नेतासहित केन्द्रीय सदस्यहरुले पनि सहमतिका लागि दबाब बढाएका छौँ।

अब प्रकाशमान सिंह र शेखर कोइरालामा कुरा अड्किएको छ’, सहभागी एक केन्द्रीय सदस्यले भने, ‘रामचन्द्र पौडेल र शशांक कोइराला सभापतिको दाबी छाड्न तयार हुनु भएको छ।’

बैठकमा प्रकाशमा र शेखर दुईजनाबीच आपसी सल्लाह गरेर एकले अर्कोलाई स्वीकार्न सुझाव पनि नेताहरुले दिएका छन्। यसैबीच इतर समूहका नेतालाई सभापतिको साझा उम्मेदवार नटुंग्याउँदासम्म बैठकबाट नउठ्न कार्यकर्ताले दबाब दिइरहेका छन्। चाक्सीबारीमा भेला भएका नेता कार्यकर्ता हरुले बुधबार बिहानसम्म जसरी पनि कुरो मिलाउन युवा नेताहरूबाट दबाब गएको कांग्रेस नेता गुरुराज घिमिरेले बताए।

‘जवाफमा पौडेल (रामचन्द्र) ले भोलि होइन, आजै रातभर बसेर भए पनि टुंग्याउछौँ भन्नुभयो’ घिमिरेले भने, ‘त्यही अनुसार बैठक साझा उम्मेदवार नटुंगाएसम्म चल्ने भन्ने भएको छ।’ बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता शेखर कोइराला, डा. मिनेन्द्र रिजाल, कोषाध्यक्ष सीतादेवी यादवलगायत उपस्थित छन्।

संस्थापनइतरबाट साझा उम्मेद्वार बनाउन युवा नेताले दिए अल्टिमेटन, नभए छुट्टै प्यानल बनाउने – नेपाली काँग्रेसका युवा नेताहरुले संस्थापनइतर समूहबाट सभापतिमा चुनाव लड्ने दाबी गरिरहेका नेताहरुलाई चाँडै सहमति खोज्न अल्टिमेटम दिएका छन् ।

हाल संस्थापनइतरबाट रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालाले सभापतिमा दावी गरिरहेका छन् । आफूलाई नै साझा उम्मेद्वार बनाउन निरन्तर छलफल गरिरहेपनि उनीहरुले सहमति बनाउन सकेका छैनन् ।

तर युवा नेताहरुले मंसिर २३ गतेसम्मको अल्टिमेटम दिदै एक जना साझा दाबेदार खोज्न भनेका छन् । संस्थापन इत्तर पक्षबाट २३ गते बेलुकासम्म साझा उम्मेदवारी तय नगरिए युवाहरुले आफै प्यानल घोषणा गर्ने युवा नेताहरुले बताएका हुन् ।

‘हामीले प्रशस्त गृहकार्य गरिरहेका छौं । नेतृत्व परिवर्तन हुनुपर्छ, त्यसर्थ तलबाट आउने साथीहरुको मत नबाँडियोस् भन्ने हामी चाहन्छौं,’ सोमबार डा. शेखर कोइरालाले आयोजना गरेको सम्पादकहरूसँगको छलफलमा सहभागी

युवा नेता गगन थापाले भने, ‘२४ गते महाधिवेशन उद्घाटन हुँदैछ, २३ गते भन्दा उता हामी पर्खन सक्दैनौं । महाधिवेशन उद्घाटनका बेलामा हामी ठोस निर्णय गरेर त्यहाँ जानुपर्छ ।’

डा. शेखर कोइरालासँगै कार्यक्रममा उपस्थित अर्का नेता चन्द्र भण्डारीले देश नै डुब्न लागेका कारण आफूहरुले काँग्रेसमा नेतृत्व परिवर्तन चाहेको बताए । उनले भने, ‘पार्टीमा धेरै कुराहरु खस्किँदै गएको छ । महाभारतको पात्र द्रौपदीजस्तो भएको छ मेरो देश । कुनै पार्टीको मात्रै कुरा रहेन, समग्रमा नेपालको पोलिटिक्स नै बिग्रियो । त्यसकारण हाम्रो अभियान हो पार्टी सुधार्ने । पार्टी सुध्रियो भने राजनीति सुध्रिन्छ । राजनीति सुध्रियो भने देश सुध्रिन्छ भन्ने हाम्रो भनाइ हो । तर, लिडरसीप नभइकन हुँदोरहेनछ ।’

त्यसैगरी कार्यक्रममा सहभागी अर्का युवा नेता धनराज गुरुङले संस्थापन इत्तर पक्षबाट सभापतिमा दाबी गरिरहेका रामचन्द्र पौडेल, डा। शेखर कोइराला, प्रकाशमान सिंह र डा. शशांक कोइरालालाई २३ गतेभित्र मिल्न सुझाव दिए । मिल्न नसक्ने भए आफ्नो पक्षका जिल्ला सभापतिहरूलाई गोप्य मतदान गर्न लगाएर उम्मेदवार छाने पनि हुने गुरुङले बताए ।

संस्थापन इत्तर पक्षका युवा नेता गुरुङले भने, ‘अहिले हामी जिल्ला सभापतिहरूकै टाउको गनिराखेका छौं भने आफ्नो पक्षका जिल्ला सभापतिहरू बसेर गोप्य मतदान गरौं, जसको बढी आउँछ, उही उम्मेदवार बनौं ।’नेता गुरुङले थपे, ‘यो पनि उहाँहरुले गर्न सक्नुभएन भने चन्द्रजी र गगनजीले भनेजस्तै हामी टिम बनाउँछौं, उपसभापति दुईटा, महामन्त्री दुईवटा, सहमहामन्त्री आठवटा । त्यसपछि सदस्यहरुको टिम बनाएर सभापतिमा हामीलाई यो मान्छे चाहिन्छ भनेर जानुपर्ने बाध्यात्मक परिस्थितिमा हामी पुग्न सक्छौं । यो अन्तिम विकल्प हो, २३ गतेभन्दा उता जान सक्ने परिस्थिति छैन ।’

डा. शेखर कोइरालाको कार्यक्रममा सहभागी पूर्वसांसद सरिता प्रसाईले काँग्रेस बिग्रियो भन्नेहरुले पनि पुरानै नेतृत्वलाई भोट हाल्ने गरेको गुनासो गर्दै परिवर्तन चाहने हो भने नयाँ नेतृत्व चुन्नुपर्ने बताइन् । अर्का युवा नेता बद्री पाण्डेले सुदुर पश्चिममा संस्थापन इत्तर पक्षको पोजिसन राम्रो देखिएको बताए । साथै उनले प्रदेशको अधिवेशन र जिल्ला सभापतिहरूको गणितलाई मात्रै हेरेर महाधिवेशनको मत अडकल गर्न नसकिने बताए । अर्का नेता दीपक गिरीले देउवा पक्षबाट मतदाता नामावलीमै धाँधली भइरहेको गुनासो गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय