एमाले महाधिवेशनमा देखिएको रोचक दृश्यः उम्मेदवारका आ–आफ्नै अचम्मका शैली

बुटवल,  -नेकपा एमालेका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरी पार्टीको दशौं महाधिवेशनको दौरानमा धेरै पटक बुटवल-काठमाडौं ओहोरदोहोर गरे ।

रुपन्देही तिलोत्तमा नगरपालिका निवासी उनी पार्टीको केन्द्रीय कमिटी बैठकमा भाग लिन काठमाडौं जानु बाध्यता हो । तर, उनी अरु नेताजस्तै निजी गाडी वा विमानमा होइन, सार्वजनिक गाडीमा हिंड्छन् र काठमाडौंमा पुगेर खुमलटारस्थित एक गेष्ट हाउसमा सय रुपैयाँको खाना खान्छन् र दुई सय रुपैयाँको बेडमा रात बिताउँछन् ।

नार्कको कृषि अनुसन्धान परिषद्को उक्त गेष्टहाउसबाट पार्टीको बैठकमा जाँदा कहिल्यै गाडी रिजर्ब गरेनन् । उक्त गेष्ट हाउस परिषद्को भए पनि व्यक्तिले सञ्चालन गरिरहेका छन् ।

त्यहाँबाट कहिले सार्वजनिक बस त कहिले पठाओको सवारीसाधन बोलाए र बैठकस्थल पुग्छन् । उनको यो क्रम अहिले पनि जारी छ । सरल र सादगी नेताको परिचय बनाएका गिरी फेरि केन्द्रीय सदस्यमा दोहोरिने तयारीमा छन् ।

‘म फेरि केन्द्रीय सदस्यमा उठ्छु, अझै एक कार्यकाल पार्टीको केन्द्रीय कमिटीमा रहेर काम गर्ने इच्छा छ,’ उनी भन्छन् । उनी हरेकपल्टको बैठकमा काठमाडौं जाँदा त्यही दुई रुपैयाँ पर्ने होटलमा बास बस्ने गरेको र टुटल, पठाओमा यात्रा गर्ने गरेको सुनाउँछन् ।

‘नेतामा सरलता र सादगी जीवनशैली भएन भने जनताले विश्वास गर्दैनन्,’ उनको भनाइ छ ।

गिरीले कतिपय महाधिवेशन प्रतिनिधिलाई भेटेर र कतिपयलाई फोन गरेर आफूलाई सहयोग गर्न आग्रह गरिसकेका छन् ।

भेट्न नपाएकाहरूलाई महाधिवेशनस्थलमै कुरा गरेर आफ्नो उम्मेदवारीबारे जानकारी गराउने उनको तयारी छ । ‘केन्द्रीय सदस्यमा मलाई सबैले विश्वास गर्छन् भन्ने विश्वास छ,’ उनी भन्छन् ।

गिरी लुम्बिनी प्रदेश सभा सदस्य पनि हुन् । शंकर पोखरेल नेतृत्वको सरकारमा गिरी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री थिए । २०७४ सालमा रुपन्देही-२ को प्रदेश सभा १ बाट उम्मेदवार हुँदा पनि उनको बेग्लै शैली थियो ।

बिहान, बेलुका घरमा गाई दुहुने र डेरीमा लैजाने र दिनभर चुनावमा खटिने उनको दिनचर्या थियो । २०६४ सालको संविधान सभा चुनावमा उनी रुपन्देही-३ बाट कांग्रेस नेता बालकृष्ण खाँणसँग पराजित भएका थिए ।

सरल नेताका रुपमा चिनिएका गिरीको शैलीलाई सबैले अनुशरण गर्नुपर्ने एमाले महाधिवेशन प्रतिनिधि मोहन चापागाई बताउँछन् । ‘यस्तो सादगीपन कमै मात्र नेतामा पाइन्छ, स्वच्छ छवीका नेताहरूलाई नै महाधिवेशनले चुन्ने हाम्रो विश्वास छ,’ उनी भन्छन् ।

सरल जीवनशैलीलाई अंगाल्ने र सुविधाप्रति कुनै मोह नभएका दधिराम न्यौपानेले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछन् । तत्कालीन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य उनी नेकपा विभाजनसँगै एमाले रोजेका थिए ।

त्यसपछि माओवादीले कारवाही गर्दा न्यौपानेको प्रदेश सांसद पद गुमेको थियो । लुम्बिनी प्रदेशको अर्थ तथा पर्यटन समितिका तत्कालीन सभापति हुँदा उनलाई गाडीलगायत राम्रै सुविधा थियो । तर, उनले त्यसको परवाह नगरी एमाले रोजे र सांसद पद त्यागे ।

‘मेरा लागि पैसा कमाउनु ठूलो कुरा होइन, सेवा गर्नु मुख्य कुरा हो,’ उनी भन्छन् ।

मजदूर आन्दाेलनबाट उदाएका कमल गौतम पनि सरल नेताको रुपमा चिनिन्छन् । रुपन्देहीबाट मजदुर कोटामा महाधिवेशन प्रतिनिधि रहेका गौतमले पनि केन्द्रीय सदस्यमा लड्ने घोषणा गरेका छन् । उनी हाल जिफन्टको केन्द्रीय उपाध्यक्ष छन् ।

सादा जीवनशैलीलाई अंगाल्ने र तल्लो वर्गको श्रमजिवी मजदुरसँग हातेमालो गर्ने भएकाले सबै प्रतिनिधिले विश्वास गर्ने गौतमको अपेक्षा छ ।

विकासका दृष्टिले मुलुक कै नमूना कहलिएको र नेपाल नगरपालिका संघबाट पुरस्कार हात पारेको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिँदैछन् । ‘

धेरै प्रतिनिधिहरूको चाहनाअनुसार मैले उम्मेदवारी दिने सोंच बनाएको छु,’ उनले भने । उनले तिलोत्तमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरेर अर्बैं रकम जुटाएका थिए । सोही लगानी सम्मेलनको फलस्वरुप ४० अर्ब लागतमा दुग्ध प्रशोधन उद्योग तिलोत्तमामा स्थापना हुँदैछ ।

आफू जनताको विश्वास जितेर काम गर्न केन्द्रीय कमिटीमा जान चाहेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय