एमालेभित्र ‘हाई कमान्ड’ निर्देशन : केपी ओलीकै जिल्लामा विवाद, फरक धारका नेताहरू ट्वा !

काठमाडौं – नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनको नेतृत्व चयनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा स्थानीय तहदेखि सबै कमिटीमा अध्यक्ष केपी शर्मा ओली गुटको केन्द्रीयता हावी भएको छ ।

पार्टी हाई कमान्डले सकेसम्म सबैतिर सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न निर्देशन दिएको र मातहतका कमिटीले पनि त्यसैलाई कार्यान्वयन गर्दा केन्द्रीयता हावी भएको छ । पार्टी संकटमा रहेको र एमालेभित्र एकता कायमै रहेको देखाउनुपर्ने बाध्यतालाई ध्यान दिँदै हाई कमान्डले प्रतिनिधि छनोटका लागि सर्वसम्मत तरिका अपनाउन निर्देशन दिएको छ ।

सबैभन्दा लोकतान्त्रिक विधि नै सर्वसम्मत विधि भएकाले पनि प्रतिनिधि छनोटमा यसलाई अपनाइएको एमाले नेताहरुले जनाएका छन् । शनिबार अबेर रातिसम्म सबै जिल्ला र कमिटीहरुलाई सर्वसम्मत प्रतिनिधि छनोट गर्न बाध्य पारिएको जिल्ला नेताहरुले जनाएका छन् ।

शनिवार सर्वसम्मत नभएका स्थानमा भने आईतवारसम्म सर्वसम्मत रुपमै छनोट गरी केन्द्रमा प्रतिनिधिको नाम पठाउन समेत निर्देशन दिइएको छ ।

‘सबै स्थानमा सर्वसम्मत गराउने निर्देशन छ, त्यहीअनुसार सबै कमिटीमा प्रतिनिधि छनोटको प्रक्रिया सर्वसम्मत हुन्छ,’ निर्वाचन प्रक्रियामा रहेका एक नेताले भनेका छन् ।

एमालेले करीब ८ लाख संगठित सदस्यबाट १ हजार ९९९ जना महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश छनोट गर्ने कार्यलाई सर्वसम्मत बनाएको छ । एमालेले देशका सबै भौगोलिक, गैरभौगोलिक कमिटी, जनसंगठन र प्रवासमा शनिवार एकैदिन प्रतिनिधि छनोट सुरू गरेको थियो ।

केही जिल्लाले बिहीवार र शुक्रवार नै सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिसकेका छन् । आगामी मंसिर १०–१२ गते चितवनमा हुने दशौं महाधिवेशनमा यसरी छनोट भएका १ हजार ९९९ प्रतिनिधिले पार्टीको मूल नेतृत्वसहित केन्द्रीय कमिटी सदस्यहरु निर्वाचित गर्ने जनाइएको छ ।

केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बिहीवार साँझबाट सुरू भएको प्रतिनिधि छनोट प्रक्रिया शनिवारसम्म आइपुग्दा अधिकांश स्थानमा सर्वसम्मत ढंगले चयन भइसकेको बताएका छन् ।

निर्वाचनका लागि बिहीवारबाटै बहुसंख्यक जिल्लामा मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, फिर्ता लगायतको प्रक्रिया सुरू भएको भए पनि सर्वसम्मत ढंगले प्रतिनिधि छनोटको प्रक्रिया अघि बढाउन केन्द्रको निर्देशन छ ।

प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीहरुमा महाधिवेशन प्रतिनिधिका आकांक्षी धेरै भए पनि केन्द्रले दबाब दिएपछि निर्वाचन प्रक्रिया नबढाई सर्वसम्मतिको प्रक्रिया अवलम्बन गरिएको नेताहरुको भनाइ रहेको छ

तर झापा, तेह्रथुम, उदयपुर, सोलुखुम्बु, प्रदेश १ सम्पर्क कमिटीलगायत स्थानमा राति अबेरसम्म सर्वसम्मत प्रतिनिधि छनोट हुन सकेका छैनन् ।

२ नम्बर प्रदेशको महोत्तरी र सप्तरीमा शनिवार सहमति जुटेको छैन, जहाँ आइतवार मात्रै प्रतिनिधि छनोट हुनेछन् । धनुषा र सिरहामा सोमवार मात्रै प्रतिनिधि छनोट हुने भएका छन् ।

सुदूरपश्चिमका अधिकांश जिल्लामा प्रतिनिधि छनोटमा सहमति जुटेको छैन । शनिवार प्रतिनिधि छनोटका लागि ३ दिनअघिदेखि नै सर्वसम्मतिको प्रयास गरिएको थियो ।

आकांक्षीहरुको संख्या एकपछि अर्को गर्दै बढेपछि धेरैजसो जिल्लामा सर्वसम्मतिका लागि सकस भएको जनाइएको छ । तैपनि पार्टी केन्द्रको निर्देशन कार्यान्वयनका लागि सम्बन्धित कमिटीका नेताहरु सर्वसम्मतिको प्रयासमा निरन्तर जुटिरहेका छन् ।

केन्द्रीय सदस्य बन्न चाहने र सम्भावना भएका नेताहरुलाई सकेसम्म सर्वसम्मत गर्ने प्रयास गरिएको छ तर केही आकांक्षीले आफूहरुको अवसरमा नेताहरु सधैं बाधक रहेको गुनासो गरेर चुनावी प्रक्रियामा जान दबाब दिएका छन् ।

एमालेले यसअघि वडा र पालिका स्तरका सबै अधिवेशन सर्वसम्मत गराउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार सर्वसम्मत नेतृत्व चयन भएको छ । त्यहीअनुसार अहिले प्रतिनिधि छनोटलाई पनि सर्वसम्मत गर्न निर्देशन दिएबमोजिम सबै तह यसको कार्यान्वयनमा जुटेका छन् ।

‘अहिले पार्टीलाई संकट परेको छ भनेर सबै तहमा सर्वसम्मत नेतृत्व छनोट गर्न पार्टीले निर्देशन दियो । हामीले त्यही पालना गरेका छौं,’ कानूनी पृष्ठभूमिका एक नेताले भने, ‘तर महाधिवेशन प्रतिनिधि पनि सकेसम्म सर्वसम्मत भन्दै निर्देशन दिने काम भएको छ । यसले गर्दा भोलि केन्द्रमा पनि सर्वसम्मत गर्ने सोच होला ।’

एमालेले अंगीकार गरेको जनवादी केन्द्रीयतामा जनवाद हराएर केन्द्रीयता मात्रै कायम हुन पुगेको ती नेताले बताएका छन् ।

महाधिवेशन प्रतिनिधिका आकांक्षीहरुले जनताको बहुदलीय जनवादलाई सिद्धान्त र कार्यदिशा मानेको पार्टीमा नेतृत्वले चुन्ने र चुनिने सार्वभौम अधिकारलाई वञ्चित गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् तर कार्यालय सचिव तामाङले सर्वसम्मत नै सबैभन्दा उपयुक्त र लोकतान्त्रिक विधि भएको जिकिर गरेका छन् ।

‘अहिलेको विधिले सबैलाई समेट्नेछ, लोकतन्त्रको सुन्दर पक्ष सर्वसम्मत नेतृत्व चयन पनि हो,’ तामाङले भने ।

कार्यालय सचिव तामाङका अनुसार एमालेले १६५ निर्वाचन क्षेत्र र गैरभौगोलिक विशेष प्रदेश अन्तर्गतका क्षेत्रबाट १ हजार २०० संगठित सदस्यबराबर हरेक निर्वाचन क्षेत्रबाट १ महिलासहित ३ जना प्रतिनिधि छनोट गरेको छ । १ हजार २०० भन्दा बढी सदस्य रहेको क्षेत्रमा ८०० सदस्य बराबर १ पुरुष र १ महिला प्रतिनिधि छनोट गर्ने एमालेको मापदण्ड बनाएको छ ।

प्रदेश वा सो सरहका कमिटीका पदाधिकारी र सदस्यमध्येबाट कम्तीमा २ महिलासहित ५ जना, जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्यमध्येबाट १ जना प्रतिनिधि छनोटको मापदण्ड बनाएको छ ।

दलित सदस्य संख्या ५०० भन्दा माथि भए १ जना महिला अनिवार्य र सोपछि प्रत्येक ५०० सदस्यमा महिलाको एकतिहाइ हुने गरी १/१ जनाको दरले छनोटको मापदण्ड रहेको छ ।

भूगोलका प्रदेश अन्तर्गतका मजदुर पार्टी सदस्य मध्येबाट कम्तीमा ३ महिलासहित ७ जनाका दरले प्रतिनिधि र प्रवासबाट ३० तथा २२ जनवर्गीय संगठनमध्ये हरेकबाट २ महिलासहित ५ जना प्रतिनिधि छनोटको मापदण्ड रहेको छ ।

केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यबाट २ महिलासहित ५ र केन्द्रीय सल्लाहकार कमिटीबाट १५ जना तथा १९६ जना केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने भएका छन् ।

आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।- मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय