मुसिकोट गुल्मीमा नगर प्रमुख सापकोटाका चुनावी घोषणा के के पुरा भए ? के के भएनन ?

गोविन्द कंडेल, मुसिकोट गुल्मी । २५ असोज २०७८, देशमा संविधनसभाले २०७२ सालको संविधान जारी गरेपछी सोही वमोजिम देशभर ७५३ स्थानिय तहहरु वने सँगै गुल्मी जिल्लामा पनि १० गाउँपालिका र २ नगरपालिका गरी १२ वटा स्थानिय तह वने जस अन्तर्गत मुसिकोट नगरपालिका पनि एक हो । गुल्मीका १२ स्थानिय तह मध्ये भुगोल र जनसंख्या दुवैका हिसावले सवैभन्दा ठुलो पालिका हो मुसिकोट नगरपालिका ।

तत्कालिन समयमा देशभर २ चरणमा गरी स्थानिय तहको निर्वाचन सम्पन्न भयो, यसैविच गुल्मीमा पनि २०७४ असार १४ गते निर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनबाट मुसिकोट नगरपालिकामा तत्कालिन नेकपा एमालेका जिल्ला सचिव समेत रहेका सोमनाथ सापकोटा नगर प्रमुखको रुपमा निर्वाचित भए । उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्णहरी सापकोटा थिए, तेस्रो स्थान भने नेकपा माओवादी केन्द्रका खुम वहादुर थापाले लिए ।

स्थानिय तहको पहिलो निर्वाचन समेत रहेको उक्त निर्वाचनमा मुसिकोट नगरपालिकामा नेकपा एमालेले वहुमत प्राप्त गर्यो । एमालेले नगर प्रमुख,उपप्रमुख सहित २ देखी ८ गरी ७ वटै वडामा सतप्रतिशत जित हाँसिल गर्यो भने वडा नं. १ मा ४ जना वडा सदस्य र वडा नं. ९ मा वडा अध्यक्ष हात पार्यो । त्यसै गरी वडा नं.१ को वडा अध्यक्ष र वडा नं.९ मा ४ जना वडा सदस्य मात्रै नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भए ।

तत्कालिन समयममा समेत गुल्मी जिल्लाकै राम्रो सम्भावना वोकेका युवा नेताको रुपमा हेरिएका सापकोटाले आफ्नो घोषणापत्रमा एक घर एक धारा खानेपानी,खरका छाना विस्थापन देखी ५० शैयाको अस्पताल सम्मका योजनाहरु प्रस्तुत गरेका थिए । घोषणापत्रको पहिलो वुँदामा नै खानेपानी सम्वन्धी लक्ष्यहरु प्रस्तुत गर्दै लेखिएको थियो चालु तथा छनोटमा परेका योजनाहरुलाइ प्राथमिकता दिइनेछ, मुल संरक्षण गरीने छ साथै नगरपालिकाका सवै घरधुरीमा एक घर एक धारा खानेपानी पुर्‍याइने छ ।

घोषणापत्रमा भनिए जस्तै नगरपालिकाले पहिलो आर्थिक वर्ष देखी नै खानेपानीलाइ मुख्य प्राथमिकतामा राखी काम गर्दै आइरहेकोमा हालसम्म नगरपालिकाका ४८०० घरधुरीमा एक घर एक धारा पुगिसकेको छ भने चालु आर्थिक वर्षमा थप ७०० घरधुरीमा एक घर एक धारा खानेपानी पुग्ने गरी काम भइरहेको छ ।

खानेपानी योजना उद्घाटन गर्दै मा‍.सा‌ंसद गोकर्ण विष्ट

दोस्रो प्राथमिकतामा सडक यातायातलाइ राखिएको थियो जसमा प्रत्येक वस्तिमा ग्रामिण सडक सञ्जाललाइ जोडिने र नगरपालिकामा आफ्नै चक्रपथ निर्माण गरीने भनिएको छ तर नगरपालिकाका प्रत्येक टोलमा सडक यातायात पुगेको छ, वामीटक्सार भित्री वजार कालोपत्रे सम्पन्न भइसकेको छ, सँगै वामीटक्सार रुद्रवेणी खण्डको वामी देखी ७ किलोमिटर निर्माणाधिन अवस्थामा छ भने सहरी विकास मन्त्रालय अन्तर्गत अन्य साना सडक पनि क्रमागत योजना अनुसार स्तरोन्नतीको चरणमा रहेका छन तर चक्रपथ निर्माणको काम भने अगाडी वढ्न सकेको छैन ।

वामीटक्सार भित्री सडक कालोपत्रे हुँदै

पुर्वाधार निर्माण अन्तर्गत घोषणापत्रको तेस्रो प्राथमिकतामा पुललाइ राखिएको थियो, जस अन्तर्गत सुदी – वडीगाड वारीपारी पक्की पुल निर्माण प्रक्रियामा अगाडी वढी सकेको छ । मुसिकोट नगरपालिका वडा नं. ४ र ७ जोड्ने झोलुगें पुल निर्माणाधिन अवस्थामा छ , वडा नं. ७ को सरस्वती टोल परुवा जोड्ने झोलुगें पुलको निर्माण कार्य सम्पन्न भएको छ भने घोषणापत्रमा उल्लेखित भुवाचिदी – वडिगाड, नेटा – ग्वालीचौर, मुसिकोट – हस्तिचौर, तल्लाफाँट – वलिथुम र निस्ती वारीपारी लगायतका स्थानमा भने पुल निर्माणको काम अगाडि वढ्न सकेन ।

चौँथो प्राथमिकतामा रहेको युवा लक्षित कार्यक्रम तर्फ ग्वादिकाचौर खेलमैदान, सोही स्थानमा कवर्डहल, विभिन्न वडाहरुमा स-साना खेल मैदान निर्माण लगायतका संरचना निर्माणको चरणमा रहेको पाइएको छ भने युवा स्वरोजगार कार्यक्रम अन्तर्गत सहकारी संस्था सँगको साझेदारीमा विनाव्याजे कर्जाको कार्यक्रम समेत अगाडी वढेको छ ।

युवा लक्षित कार्यक्रम अन्तर्गत विना व्याज कर्जा हस्तान्तरण कार्यक्रम

वालवालिकाको क्षेत्रमा खासै कार्यक्रमहरु अगाडी वढेको नपाइएता पनि महिला लक्षित आयआर्जनका थुप्रै कार्यक्रमहरु भने सञ्चालनमा रहेको पाइएको छ । घोषणापत्रको छैठौँ प्राथमिकतामा विधुतलाइ राखिएको थियो जसमा कार्यपालिका निर्वाचित भएको १०० दिन भित्र नै नगरपालिकालाइ उज्यालो नगरपालिकाको रुपमा घोषणा गरिएको थियो उक्त समयमा लघुजलविद्युतलाइ आधार मानी उज्यालो नगरपालिका घोषणा गरिएको कारण वर्षायाममा विधुत अनियमित हुँदा हुने सास्तीलाइ मध्यनजर गरी केन्द्रिय प्रसारणको विधुत नपुगेका वडाहरुमा केद्रिय विधुत जडान कार्य तिव्रताका साथ अगाडी वढीरहेको छ ।

सञ्चार क्षेत्रमा नगरपालिकाको तर्फबाट आफ्नै छुट्टै कार्यक्रम अगाडी वढेको पाइएन भने पर्यटन पर्वद्धनका लागि वडिगाड नदिमा र्‍याफ्टिङको सफल परिक्षण गरिएको छ । सोही उद्येश्यले छत्रकोट मन्दिर, मुसिकोट दरवार, थुमपार्क, ग्वादिकाचौर खेल मैदान, ढोडेनी वगर सहिद पार्क, मालिका मन्दिर,वामीटक्सार स्मार्ट पार्क, वामीकोट, सालिमे दह लगायतका पर्यटकिय क्षेत्रमा निर्माण तथा पर्वद्भनात्मक कार्यक्रम अगाडी वढेका छन ।

ढाेडेनी वगर सहिद पार्क

वातावरण संरक्षणका लागि वृक्षारोपण, नदी कटान भएका ठाउँमा तटवन्ध लगायतका कार्यहरु अगाडी वढेको पाइएता पनि फोहोर संकलन र प्रसोधनको क्षेत्रमा नगरपालिकाले प्रयास गरेको तर सफल हुन नसकेको देखियो । ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत विभिन्न वडाहरुमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम,ज्येष्ठ नागरिक परिचयपत्र वितरण कार्यक्रम, ८४ वर्ष पुगेका नागरिकहरुलाइ घरघरमै पुगेर निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था लगायतका कार्यक्रमहरु सञ्चालन भएको पाइएको छ ।

जेष्ठ नागरिक विश्राम तथा मनोरञ्जन स्थल मुनपा ७ मा निर्माणको प्रयास गरिएको छ तर घोषणापत्रमा भने जस्तो वृद्धआश्रम निर्माण एवं सञ्चालनको काम अगाडी वढ्न सकेन ।

घोषणापत्रमा स्वास्थ्य, शिक्षा, कृषि र पशुपालन समेतलाइ प्राथमिकताका साथ उल्लेख गरिएको थियो जसमा ५० शैयाको अस्पताल निर्माण भनिएको भएता पनि हाल वामीटक्सारमा १५ शैयाको अस्पताल निर्माणाधिन अवस्थामा रहेको छ ।

विगत २ वर्ष देखी वामीटक्सार स्वास्थ्यचौकीबाट एम.वि.वि.एस.डाक्टर मार्फत निशुल्क स्वास्थ्य परिक्षणको सुविधा प्रदान गर्दै आइएको छ । नगरपालिका भर ७ वटा एम्वुलेन्स सञ्चालनमा रहेका छन, शुन्य होमडेलिभरी गराउने उद्येश्य सहित सुत्केरी महिलालाइ स्वास्थ्यचौकी सम्म आउन र जानको लागि निशुल्क एम्वुलेन्सको व्यवस्था गरिएको छ ।

नवजात शिशु र सुत्केरीको पोषणमा सुधार ल्याउने उद्येश्यले सुत्केरी सँग उपप्रमुख कार्यक्रम लगायतका कार्यक्रम सञ्चालनमा छन । तर घोषणापत्रमा भनिए जस्तो प्रत्येक वडा स्वास्थ्यकेन्द्रहरुबाट एम.वि.वि.एस.डाक्टर सहितको सेवा दिन प्राविधिक हिसावले समस्या देखिएकोले सञ्चालन गर्न नसकिएको नगर प्रमुख सापकोटाको तर्क छ । हाल नगरपालिकाका ९ वटै वडाहरुमा स्वास्थ्यकेन्द्र भने सञ्चालनमा रहेका छन ।

शिक्षा तर्फ २ वटा प्राविधिक विद्यालय सञ्चालनमा छन, पालिका भित्रका धेरैजसो विद्यालयहरुमा भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ, वामीटक्सारमा अवस्थित महेन्द्र आदर्श मा.वि.नमुना विद्यालयको रुपमा स्वीकृत भएको छ, विद्यार्थी संख्याका आधारमा विद्यालय समायोजनको कार्य सम्पन्न भएको छ, दरवन्दी कम भएका तर विद्यार्थी संख्या वढी भएका विद्यालयहरुका नगर शिक्षकको व्यवस्था गरिएको छ तर घोषणापत्रमा भनिए जस्तो नगरपालिका भित्रनै स्नातकोत्तर सम्मको अध्यापन हुने क्याम्पसको व्यवस्था भने हुन सकेन ।

त्यसैगरी कृषि र पशुपालनलाइ व्यवसायिक वनाउँदै रोजगारी सृजना गर्ने प्रयास स्वरुप कृषकहरुलाइ विभिन्न नगद अनुदानका कार्यक्रमका अतिरिक्त ५० देखी ९० प्रतिशत सम्म अनुदानमा कृषि औजार वितरण, प्लाष्टिक टनेल,थोपा सिंचाइ, प्लाष्टिक पोखरी,खाली तथा गोला सहितको मौरीघार,गाइभैसी खरिद अनुदान,भकारो सुधार,करेसाबारी निर्माण,वाख्रा टेवा कार्यक्रम, कुखुरापालक कृषक प्रोत्साहन कार्यक्रम, विउपलका का साथै फलफुल तथा डालेघाँसका विरुवा वितरण लगायतका कार्यक्रमहरु सञ्चालनमा रहेको पाइनुका साथै वजारीकरणको सहजताका लागि वामीटक्सारमा नगरस्तरिय हाटवजार भवनको निर्माण समेत सम्पन्न भएको छ ।

त्यसैगरी कफि लगाउँ आम्दानी वढाउँ कार्यक्रम अन्तर्गत कफी खेतीका लागि करिव २०० रोपनी जग्गा प्राप्ती गरी कफी वगैचा निर्माणका काम अगाडी वढ्नुका अतिरिक्त दायित्व सँगको सहकार्यमा उद्यमीहरु विच प्रतिस्पर्धा गराइ नगरपालिकाले उत्कृष्ट उद्यमी छनोट एवं सम्मान समेत गरिसकेको छ ।

उत्कृष्ट उद्यमी सम्मानित हुँदै

माथिका अतिरिक्त समग्रमा हेर्दा नगरपालिका निर्माणपछीको पहिलो कार्याकाल पुरा गरी जनप्रतिनिधीहरु विदा हुने तयारी गर्दै गर्दा हालसम्म खरका छाना विस्थापन, एक घर एक धारा खानेपानी, उज्यालो नगरपालिका, कफि लगाँउ आम्दानी वढाँउ कार्यक्रम अन्तर्गत कफी खेतीका लागि करिव २०० रोपनी जग्गा प्राप्ती, जन्मभुमी वनाउँ कर्मभुमी अभियान, मुसिकोट गौरवका योजनाहरु (छत्रकोट मन्दिर, मुसिकोट दरवार, थुमपार्क, ग्वादिकाचौर खेल मैदान, ढोडेनी वगर सहिद पार्क,मालिका मन्दिर,वामीटक्सार स्मार्ट पार्क,वामीकोट,सालिमे दह ), निर्माणाधिन अवस्थामा रहेको प्रमुख प्रशासकीय भवन, पशु स्वास्थ्य अस्पताल, आँपचौर प्राविधिक शिक्षालय, विउ स्रोत केन्द्र, कोशेली घर,वामीटक्सार हाटवजार भवन निर्माण, वामीटक्सार भित्रि सडक कालोपत्रे नै सम्झिन लायक कार्यहरुका रुपमा सुचिकृत गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय