अनलाइन दोकान : सामान किन्न सजिलो, चिन्न गाह्रो

नुनुता राई- असोज, काठमाडौं । शंखमूलकी सुजाता बास्तोलाले एक वर्षअघि साथीलाई उपहार दिन भन्दै एक कस्मेटिक ब्राण्डको फाउन्डेसन खोजिरहेकी थिइन् । तर, बजारका पसल–पसल चहार्दा पनि पाउन नसकेको उक्त प्रोडक्ट उनले एक अनलाइन शपिङ साइटमा सजिलै भेट्टाइन् ।

‘बजारमा जतिमा पाइन्छ भन्ने सुनेकी थिएँ, त्योभन्दा सस्तो रहेछ’ उनले भनिन्, ‘क्लिक गरेर अर्डर गरेको ८ घण्टामा त घरमै आइपुग्यो ।’त्यसबेलादेखि उनी भेटेसम्म आफूलाई चाहिने र मन परेका सामान ई–कमर्स साइटबाटै अर्डर गर्छिन् । तर, त्यसपछिका सबै अनलाइन शपिङको अनुभव पहिलो पटकको जस्तो ‘सुखद’ रहेनन् । कुनै शपिङ साइटको सेवा उनले औसत अनुभव गरेकी छिन् भने केही निकै गैरजिम्मेवार । कतिपय साइट भने ग्राहकलाई सन्तुष्ट गर्ने पक्षमा निकै संवेदनशील पनि भेटेकी छिन् ।

‘कसैले समयमै डेलिभरी दिन्छन्, कसैले हप्ता दिनमा पनि सामान ल्याउँदैनन्’ उनी भन्छिन्, ‘समग्रमा अनलाइन शपिङ गर्न सजिलो छ, तर कतिपय समयमा बेकार अनलाइनबाट किनें भन्नेसम्म बनाइदिन्छन् ।’

धेरैजसो स्थापित शपिङ साइटबाट सामान किन्दा धेरै समस्या हुँदैनन्, तर फेसबुक लगायत सामाजिक सञ्जालमा देखिने विज्ञापन तथा पोस्टहरूमा भर परेर सामान किन्नेहरू बढी ठगीमा परिरहेका छन् । दराज अनलाइनमा सामान बेचिरहेका बानेश्वरका एक व्यापारी अनलाइनमा सामान किन्न सजिलो तर चिन्न गाह्रो हुने बताउँछन् ।

‘अनलाइनमा सयौं ब्राण्डमा सयौं थरीका उत्पादन हुन्छन्, तर आफ्नो बजेट र आवश्यकता अनुसार कुन सामान उत्तम हो भन्ने ग्राहकलाई ठम्याउन सहज हुँदैन’ उनी भन्छन्, ‘त्यसैले सामान किन्दा भरपर्दो वेबसाइटमा जाने, किन्न लागेको सामान र बिक्रेताबारे पहिले किनिसकेकाहरूले दिएको प्रतिक्रिया र रेटिङ हेर्ने हो भने ठगिने जोखिम कम हुन्छ ।’

अनलाइन साइटमा ग्राहकलाई गुणस्तरबारे जानकारी दिने गरी विभिन्न फिचर्स राखिने गरेको भन्दै उनले त्यसलाई हेरेर शपिङ गर्दा गुनासो गर्ने अवस्था नआउने उनी बताउँछन् । अनलाइन साइटमा विभिन्न बिक्रेतालाई सामान बेच्न अनुमति दिइएको हुनाले साइट आफैंले त्यसको ग्यारेन्टी नदिने ती व्यवसायी बताउँछन् ।

उनका अनुसार प्रविधिले मानिसको जीवन सहज बनाउँदै लैजाँदा बजारमा किनमेलका लागि बजार जाने समय अनलाइन शपिङ साइटले बचाउन मद्दत गरिरहेका छन् । पसल–पसल मोलमोलाइ गर्दै दौडधूप गर्ने झञ्झट पनि हटेको छ ।

हत्केलाभरको मोबाइलबाट अर्डर गर्दा बजारमा पाइने धेरैजसो सामान दैलोमा आइपुग्ने अवस्था बनेको छ । चाहिएको चिज किन्न भीडभाडमा जानु नपर्ने भएकाले धेरै ग्राहक यसमा आकर्षित पनि भएका छन् ।

दूध–दही, तरकारी र किरानादेखि तयारी खानेकुरासम्म अनलाइनबाटै किन्न सकिन्छ । भाँडाकुँडादेखि लत्ताकपडासम्म अनलाइन अर्डरका भरमा दैलोमा आइपुग्छन् ।

सामाजिक सञ्जालदेखि वेबसाइटसम्मका माध्यमबाट चलिरहेका शपिङ साइटहरू सबै एकै खालले सेवा दिइरहेका छैनन् । भविष्यमा राम्रो देखेपछि नेपालमा विश्वस्तरीय कम्पनी अलिबाबा, स्नापडिल लगायतले नेपालको अनलाइन बजारमा लगानी गरेर सेवा दिइरहेका छन् ।

यस्तो कारोबारमा नगद पैसा भुक्तानी गर्न पनि झञ्झट छैन । अनलाइनबाटै पैसा पनि तिर्न सुविधा छ । यसले बजारमै गएर बार्गेनिङ गर्दै हुने खरीददारीको परिपाटी परिवर्तन गर्दैछ । अनलाइन डिस्प्ले गरिएका सामग्रीमध्ये छानी–छानी अर्डर गर्नेहरूको अनुभव पनि फरक–फरक छ ।

कसैले अनलाइन किनमेललाई भरपर्दो मान्दैनन् भने कोही भौतिक बजारका भन्दा बढी सजिलो र विश्वसनीय कारोबार मान्छन् । किनमेल सजिलै हुने भएकाले पछिल्ला वर्षमा अनलाइनमा ग्राहक झुम्मिन थालेका छन् ।

महामारी शुरू भएपछि किनमेलका लागि बाहिर भीडभाडमा जान नचाहनेहरू धेरै भए । लकडाउनमा घरमै बसेर सामान अर्डर गर्ने सुविधा धेरै शहरिया मध्यम तथा उच्च वर्गले प्रयोग गरे ।

घरघरै सामान पु¥याइदिने ई–कमर्स मोडलले यो पटकको दशैंमा अझ राम्रो नतिजा निकाल्ने गरेको छ । बढिरहेको ई–कमर्सलाई भौतिक दूरी कायम गर्नुपर्ने लगायत अवस्थाले थप प्रवद्र्धन गरेको ई–कमर्स साइट सञ्चालक कम्पनीहरू बताउँछन् ।

चाडपर्वको समयमा हुने किनमेलका लागि यसपटक विगतको भन्दा उच्चदरमा ग्राहकले अनलाइन माध्यम प्रयोग गरिरहेको ई–कमर्स साइटहरूको साझा फोरमका संयोजक सागरदेव भट्ट बताउँछन् । ‘पहिलो र दोस्रो लकडाउनमा धेरै ग्राहकले अनलाइन शपिङ रोज्नुभयो, तर पछि सामान्य रूपमा पुरानै बजारमा फर्किनुभयो’ भट्ट भन्छन्, ‘तर, किनमेलको सजिलो अनुभवले नै होला फेरि धेरै ग्राहक अनलाइनमा नै फर्किंदै हुनुहुन्छ ।’

कतिपय शपिङ साइटहरूले आफ्ना सामग्रीहरू बिक्री गर्नका लागि विभिन्न किसिमका आकर्षक अफरहरू समेत दिइरहेका हुन्छन् । अफरको प्रलोभनमा परेर सामग्री किन्दा गुणस्तरहीन तथा मिति गुज्रिन लागेको सामग्री समेत हुने गरेको गुनासो पाइन्छ
ग्राहकको खल्लो अनुभव

सामाजिक सञ्जालमा विज्ञापन गरेर सामान बिक्री गर्ने र योजना विना नै अनलाइन व्यापार थाल्नेहरूका कारण पछिल्लो समयमा अनलाइन बजारमा केही विकृति पनि देखिएका छन् । कतिपय अनलाइन बिक्रेताले ग्राहकको पहिलो अनलाइन किनमेलको अनुभव खल्लो बनाइदिने गर्दा ई–कमर्समाथिको विश्वासमा प्रश्नचिह्न उठ्ने जोखिम पनि छ । यसको मार ग्राहक बढाइरहेका स्थापित शपिङ साइटमाथि परिरहेको हुन्छ ।

भक्तपुरका सागर खड्काको अनलाइन किनमेल अनुभव त्यति राम्रो छैन । एक अनलाइन मार्फत मिडियम साइजको टिसर्ट मगाएका उनले रङ र टिसर्टको गुणस्तर आफूले भने जस्तै पाए पनि टिसर्ट भने ज्यानमा फिट भएन । मगाएको सामान फेरि साट्न पनि मिलेन । घटाएर लगाउन मिल्ने अवस्था पनि भएन । त्यो टिसर्ट अहिले त्यसै राखेका छन् ।

उनी भन्छन्, ‘मिडियम साइजको टिसर्ट लगाउने गरेको भएर त्यही साइजको मगाएँ तर मिडियम नै लेखिएको भए पनि मिडियम लार्ज साइज परेछ । पसलमा भएको भए त साट्न मिल्थ्यो । अनलाइनमा मिलेन ।’ अनलाइनमा खरीद गरेको सामान साट्न गाह्रो हुन्छ । बिक्रेताले पनि साटिदिन गाह्रो मान्ने उनको भनाइ छ ।

अनलाइन बिक्रीका लागि राखिएका सामग्रीहरू आकर्षक तरिकाले राखिएका हुन्छन् । कतिपय सामग्रीको वास्तविक रङ र फोटोमा आउने रङ फरक हुन्छ । फोटोमा देखिएको रङ, बनावट हेरेर सामान माग गर्दा वास्तविक रङ र गुणस्तर फरक हुन जाँदा पनि ग्राहकहरू भड्किएको पाइन्छ । अनलाइन शपिङमा सामग्री फेरबदलको सम्भावना हुने, कतिपय सामग्री टुटफुट हुने गरेको खरीदकर्ताहरूले गुनासो गर्ने गर्छन् ।

कोटेश्वर निवासी विमला श्रेष्ठले गत महीना अनलाइन मार्फत दुई वटा कुर्ता भिन्नाभिन्नै डिजाइन र रङमा मगाइन् । अनलाइन नै पेमेन्ट गरेकी विमलाले आधा घन्टा भित्रै सामान हात पारिन् । तर उनले अनलाइनमा राखिएको जस्तो रङमा पाइनन् । त्यसपछि विमलाले तत्काल फोन गरेर अर्डर गरेको भन्दा फरक रङ परेको जानकारी दिंदा बिक्रेताले त्यस्तै रङमा नहुने बताए । उनी भन्छिन्, ‘फोन गरेर अर्कै रङको परेको जानकारी दिंदा बेच्ने मान्छेले क्यामेरा, लाइटका कारण फोटोमा वास्तविक भन्दा फरक रङ देखिन्छ भन्यो । पैसा तिरिसकेकी थिएँ, मन नलागे पनि त्यही राखें ।’

कतिपय शपिङ साइटहरूले आफ्ना सामग्रीहरू बिक्री गर्नका लागि विभिन्न किसिमका आकर्षक अफरहरू समेत दिइरहेका हुन्छन् । अफरको प्रलोभनमा परेर सामग्री किन्दा गुणस्तरहीन तथा मिति गुज्रिन लागेको सामग्री समेत हुने गरेको गुनासो पाइन्छ । यस्तो सामग्रीहरू फिर्ता गर्न खोज्दा अनलाइन शपिङका साइटहरूले फिर्ता गर्न नमान्ने अथवा आफूले राखेको शर्तलाई आधार बनाउने गर्छन् । शर्त अनुसार गर्दा पनि ढिला गरी फिर्ता अथवा साट्ने गरेको बताउँछन् ।

बानेश्वर निवासी प्रदीप श्रेष्ठ नियमित अनलाइन शपिङ गर्ने व्यक्तिमा पर्छन् । पटक–पटक अनलाइनबाटै किनिरहेका प्रदीपलाई अनलाइन शपिङले समयको बचत, बजारमा पसल–पसल चहार्नुबाट छुटकारा दिलाएको थियो । उनी अघिल्लो वर्षको लकडाउनदेखि कपडा, जुत्ता लगायत व्यक्तिगत प्रयोजनका लागि सामान किन्न बजार नगएको बताउँछन् ।

दुई महीनाअघि त्यसैगरी उनले अनलाइनबाट महँगो दाम लगाएरै जुत्ता अर्डर गरे । अर्डर गरेको जुत्ता एक घण्टाभित्रै आइपुग्यो । सामान लिएर कोठामा गएर हेर्दा भने जस्तै लाग्यो । लगाएर हेर्दा दायाँपट्टिको जुत्ता ‘ड्यामेज’ भएको भेटे । उनले तत्काल पसललाई फोन गरेर खबर गरे । खबर गर्दा साट्नको लागि त्यही साइजको जुत्ता नभएको, त्यही मूल्य बराबरको अर्को जुत्ता लिन सुझाव आयो ।

उक्त शपिङ अनलाइन साइटले देखाएका अन्य जुत्ता मन परेन । त्यसपछि पैसा फिर्ता गर्न नमिल्ने अर्को सामान नै खरीद गर्नुपर्ने साइटले शर्त राख्यो । पैसा फिर्ता दिनै चाहेनन् । त्यसपछि प्रदीपले पनि शर्त अघि सारे त्यही कम्पनी र डिजाइनको अर्को जुत्ता साटिदिनुपर्ने नभए सामाजिक सञ्जालमा साइटले गर्न खोजेको ठगी र जुत्ताको फोटो राखिदिने भनेपछि बल्ल केही दिन कुर्न अनुरोध ग¥यो । त्यसपछि उनले पनि कुरे । तर प्रदीपलाई केही दिन भनिएको करीब एक महीनासम्म पनि प्रतिक्रिया जनाउन छोडेपछि उनले सामाजिक सञ्जालमा नै राखे ।

त्यसपछि मात्रै उक्त अनलाइन साइटले जुत्ता ल्याइदियो । जुत्ता आउन समय लागेकोले माफी माग्दै उक्त पोष्ट हटाउन अनुरोध गरेपछि हटाए । प्रदीप भन्छन्, ‘केही दिन कुर्न भनियो । शुरूको केही दिन त मैले पनि अर्को ल्याउन समय लाग्छ भनेर कुरें तर फोन पनि नउठाउने, उठाउँदा पनि झर्कने अस्वाभाविक हर्कत देखाउन थालेपछि मात्रै फेसबुकमा राखेको थिएँ ।’ उक्त अनलाइनले ठग्नकै लागि ढिलाइ गरेको प्रदीप अनुमान गर्छन् ।

कतिपय अनलाइन शपिङ साइटहरू दर्ता नभई चलेकोले ठग्ने माध्यम पनि बनेका छन् । समस्या धेरै देखिन थालेपछि सरकारले अनलाइन बजारलाई व्यवस्थित गर्ने गरी छुट्टै कानून बनाउन गृहकार्य गरिरहेको छ ।

नियमनको दायरा बाहिर रहेका यस्ता व्यवसायलाई कानूनी रूपमा वैधानिकता दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विधेयकको मस्यौदा तयार गरेको छ । उक्त प्रस्तावित मस्यौदामा अनलाइन मार्फत गरिने व्यवसायमा ग्राहकले चाहे जस्तो वस्तु डेलिभरी नभए फिर्ता गर्न पाउने प्रावधान छ ।

साथै टुटे–फुटेको वा ग्राहकले विद्युतीय प्लेटफर्ममा देखे जस्तो वस्तु डेलिभरी गर्दा दुरुस्त नभए सामान फिर्ता वा साटफेर सुविधा तथा भुक्तानी भएको भए रकम फिर्ता गर्नुपर्नेछ ।

विधेयकको मस्यौदामा ऐन कार्यान्वयनमा आउनुभन्दा अघि सञ्चालनमा आएका व्यवसाय एक वर्षभित्र र नयाँ व्यवसाय ऐनले तोकेको विभागमा अनिवार्य सूचीकरण हुनुपर्ने, वेबसाइट तथा व्यापार सुरक्षित विद्युतीय प्रणाली मार्फत गरिनुपर्ने भनिएको छ । सूचीकरण नभई अनलाइन मार्फत विद्युतीय व्यापार गरे कसूर ठहरिने र जिल्ला अदालत मार्फत मुद्दा चल्ने मस्यौदामा उल्लेख छ ।

ई–कमर्स साइटहरूको साझा फोरमका संयोजक भट्ट अनलाइन शपिङ गर्दा कहींकतै ग्राहकले भोग्ने सास्तीलाई कम गर्न सरकारसँग मिलेर काम गर्न खोजिएको बताउँछन् । यस्ता समस्या समाधान भएपछि अनलाइनमा अझै धेरै ग्राहक आउने र नेपाली ई–कमर्स बजार अझै फैलिने उनको विश्वास छ ।

‘अनलाइन बजारमा ग्राहक र बिक्रेताबीच कुनै मुद्दा उठेमा एक तहमा छलफल गरेर समस्या समाधान गर्नुपर्छ’ ई–कमर्स साइटहरूको साझा फोरमका संयोजक भट्ट भन्छन्, ‘ठगी लगायतका गैरकानूनी रूपमा काम गर्नेलाई दण्डित गर्दै बजारलाई स्वच्छ र ग्राहकमैत्री बनाउनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय