‘सहकारीका सदस्य आफैं सचेत नभए ठगी रोकिन्न’

विमला कोइराला, उपनिर्देशक, महानगर सहकारी विभाग । सहकारीमा आवद्ध हुन सहकारीको सदस्य हुनैपर्छ । सहकारी संस्थाहरूमा सदस्यहरूको महत्वपूर्ण भूमिका हुन्छ ।

ब्याजको लोभ गर्ने बचतकर्ताहरू एकातिर र आकर्षक ब्याज दिन्छु भन्ने तर दिन नसक्ने सञ्चालकहरू अर्कोतिर हुँदा सहकारी क्षेत्रमा निकै ठूलो समस्या देखिएको छ ।सहकारी संस्थाहरूले आफूले लिने र दिने ब्याजदर बीचको अन्तर ६ प्रतिशत भन्दा बढी बनाउन पाउँदैनन् । तर उनीहरूले यो नियम पालना गर्दैनन् ।

लौ बचत राख्नुहोस्, तपाईंलाई २० प्रतिशत दिन्छौं वा यति समयमा दोब्बर बनाइदिन्छौं भनेर आकर्षित गर्छन् । अनि बचत गर्ने मान्छेहरू पनि सहकारीको मूल्य र मान्यताका विषयमा मतलब राख्दैनन् ।

आफूले बचत गरेको संस्थाले वर्षमा एकपटक साधारणसभा गराएको छ कि छैन, सञ्चालक समितिमा कस्ता मान्छे छन् ? आफूले बोलेको कुरा पुर्‍याउँछ कि पुर्‍याउँदैन भनेर निगरानी नगर्ने सदस्यहरूले गर्दा पनि समस्या भएको छ ।

बचतकर्ताले चासो नदिएपछि सहकारीहरूले बद्मासी गर्ने मौका पाउँछन् । सरकारले गरीबी निवारण गर्न सहज होस्, मुलुक समृद्ध बनाउनका लागि सहकारी चाहिन्छ भनेर धेरै नियन्त्रण पनि नगर्ने स्वतस्फूर्त रूपमा राम्रोसँग कारोबार गरुन् भनेर छुट दिएको छ ।

सहकारी सदस्यहरूबाटै स्वनियमन होस् भनेर आदर्श समाजको जस्तो यसको भूमिका होस् भनेर एउटा थिम परिकल्पना गरिएको हो ।

अहिले सहकारीहरूमा देखिएको मनोमानी भनेको सदस्यहरूले आफ्नो भूमिका निर्वाह नगरेका कारण पनि हो । आफ्नो अधिकार के हो भन्ने विषयमा धेरै सहकारीका सदस्यलाई जानकारी हुँदैनतर राज्यले संस्थाहरू स्वनियमनमा चलुन् भनेर दिएको सुविधालाई दुरुपयोग गरेर सहकारीका सञ्चालकहरू आफैंले ऋण लिने र जग्गामा लगानी गर्ने, शेयर कारोबार गर्ने लगायतका काम गर्न थालेपछि समस्या भयो ।

मुलुक संघीयतामा गएपछि सहकारी क्षेत्रको अनुगमन नियमन गर्ने अधिकार स्थानीय तहलाई प्रत्यायोजन गरियो । महानगरमा अधिकार आएको धेरै समय भएको छैन । २०७४ सालमा अधिकार दिने निर्णय भएर राम्रोसँग काम २०७५ सालबाट शुरू भयो ।

अहिले हामीले सहकारी संस्थाहरूले सदस्यलाई समस्यामा नपारुन् भनेर अनुगमन गर्नुका साथै कार्यनीति बनाउने काम पनि गरिरहेका छौं ।

हामीकहाँ धेरै उजुरी पनि आइरहेका छन् । सहकारीमा देखिएका समस्याहरू पुनः नआउन् भनेर हामीले सचेत गराउनुपर्नेछ, सहकारीको प्रलोभनमा नपर्नुस् भनेर बुझाउनुपर्नेछ । सहकारीको साँच्चै सदस्यता लिनुहुन्छ भने त्यहाँ हुने कामकारबाहीबारे चासो पनि राख्नुस् भनेर बुझाउनुपर्नेछ ।

हामी त साधारणसभामा भाग लिनुस् भन्ने कुरा बुझाउन पाठ्यक्रम नै बनाउने तयारीमा छौं । हामी यो विषय बुझाउन तालिमहरू दिने र अर्कोतर्फ अनुगमन पनि बढाउनुपर्ने अवस्था देखिरहेका छौं । उजुरी हिजो पनि आइरहेका थिए अहिले पनि आउने क्रम रोकिएको छैन ।

सहकारी संस्थाहरूले ऋण लगानी गर्ने र त्यो ऋणको हर्जाना (ब्याजको पनि ब्याज) समेत लिने गरेका छन् । जबकि तोकिएको ब्याजदर र १ प्रतिशत सेवा शुल्क भन्दा अतिरिक्त शुल्क सहकारीहरूले लिन पाउँदैनन् । व्यक्तिले पनि पैसा चाहिएपछि नीति–नियम नहेरी जति पनि तिर्छु भनेपछि सहकारीले पनि दिने नै भयो ।

बचतकर्ताको बचत फिर्ता नगरेको मात्रै होइन अरू समस्या पनि आउने गरेका छन् । लिनै नहुने हर्जना पनि लिएका सहकारीहरूबाट हामीले हर्जना फिर्ता पनि गराइदिएका छौं । यस क्षेत्रमा धेरै बेथिति छन्, ती सुधार्न हामी प्रयासरत छौं । अहिले नै हामीले सुधारिसक्यौं भन्न मिल्दैन ।

सदस्य सचेत छैनन्

मुख्य कुरा सहकारीका सदस्यहरू आफैं सचेत हुन जरूरी छ । अहिले सहकारीहरूमा देखिएको मनोमानी भनेको सदस्यहरूले आफ्नो भूमिका निर्वाह नगरेका कारण पनि हो । आफ्नो अधिकार के हो भन्ने विषयमा धेरै सहकारीका सदस्यलाई जानकारी हुँदैन ।

त्यसपछि सीमित सञ्चालकहरूले आफ्नो मनोमानी तरिकाले निर्णय गराउँछन् । सदस्यहरू आफ्नो भूमिकाका विषयमा जिम्मेवार हुने हो भने धेरै सहज हुनेथियो । त्यसैले सदस्यहरू सहकारीमा के भइरहेको छ भन्ने विषयमा अपडेट भइराख्नुपर्छ । यसले ठूलो समस्या नआउँदै समाधान गर्न सहयोग पुग्छ ।

सहकारी संस्थामा पैसा राखिदिने अनि चुपचाप बस्ने गरेको पाइन्छ । यसरी पैसा राख्ने अनि चुप लागेर बस्ने भए त बैंकमा राखे भइहाल्यो नि ! सहकारीमा त चलायमान हुनुपर्‍यो । के–कस्ता नीतिहरू संस्थाले अंगीकार गर्दैछ भन्ने कुरा जानकारी राख्नुपर्‍यो । सहकारी संस्थाको सञ्चालकहरूको विषयमा जानकारी राख्नु पर्‍यो ।

सदस्यहरू आफैं सञ्चालकका लागि उम्मेदवार पनि बन्न पाउनुहुन्छ । त्यो कुरा पनि जानकारीमा हुनुपर्‍यो ।

साधारणसभामा कम्तीमा ५१ प्रतिशत सदस्य अनिवार्य चाहिन्छ । हामीले सकेसम्म शतप्रतिशत उपस्थितिमा साधारणसभा गर्नू भन्छौं । पहिलो कुरा त सञ्चालकहरू आफू अनुकूल निर्णय गराउन साधारणसभाको जानकारी नै नदिने । अर्कोतर्फ सदस्यहरू जानकारी पाए पनि साधारणसभामा नजाने, मतलब नगर्ने गर्नुहुन्छ । संस्थाको कामकारबाहीबारे सदस्यहरू सुसूचित नहुँदा पनि समस्या भएको छ ।

सरकारले पनि सहकारी मार्फत समृद्धि ल्याउने कोशिश गरेको हो भने यसबारे धेरै कुरा बुझाउन आवश्यक छ । यसका लागि विद्यालय तहबाटै पाठ्यक्रममै सहकारी शिक्षा समावेश गरिनुपर्छ । सहकारीको सदस्य कसरी बन्ने ? कुन सहकारीको सदस्य बनेर के-के गर्न सकिन्छ ?

सहकारीको सदस्य बनेपछि कस्तो भूमिका निभाउनुपर्छ ? सहकारीको काम के हो ? भन्ने कुरा पाठ्यक्रममा नै विद्यार्थीले पढ्न पाउने हो भने पनि दीर्घकालीन रूपमा यसको समाधान निकाल्न सकिन्छ । यो आजको आवश्यकता हो ।

(काठमाडौं महानगरपालिका, सहकारी विभागकी उपनिर्देशक कोइरालासँग अनलाइनखबरकर्मी रोयल आचार्यले गरेको कुराकानीमा आधारित ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय