रातो रंग मन परेन

श्यामलाल गौतम प्रधानाध्यापक श्री उदय मा वि

रातो रंग नै मेरो प्राण रहेछ
तर
मेरो प्राण मलाई मन पर्न छाडेको धेरै भयो।

पाठशाला जाँदा दश बाटैमा बज्ने डर
तापै तापले टाप कस्दा
ठेंस लागी घोप्टो मुख लोट्दा
बाटै भरि रातै थोपाहरु तपतप चुहे
अनि मलाई रातो रंग मन परेन।

उटपटय्याङको उमेरमा
ढुंगाको छेलो
झुक्किएर जव मेरै हात माथि बज्रियो
म रगताम्मे भै रुँदै
घर पुगेर ढाँटे लोटेर काटेको भनेर
अनि मलाई रातो रंग मन परेन।

मैले जब घाँस काटेर आफ्नो डोको आफै भर्ने भएँ
बा आमालाई बारीको काममा गाउँ पठाएँ
आधा डोको घाँस नकाट्दै हात काटियो
हातको दुखाई भन्दा भैंसी भोकै हुने चिन्ता
बाटो भरि धारो चुहाउँदै लेकको गोठबाट
गाउँको घर सम्म पुग्दा
आमाले आँशु झार्नु भयो
अनि मलाई रातो रंग मन परेन।

आमाको ओछ्यानमा जबजब राता टाटाहरु टल्किन्थे
आमाले घर पछाडि कुटिरो पारी झुंड्याइएका
राता थाँङ्ने लुगा लगाई अलग्गै बस्नुहुन्थ्यो
तीन दिनसम्म आमाको हातको खानाबाट बञ्चित
अनि मलाई रातो रंग मन परेन।

चैते दशैंमा जिद्दी गरी गरी
आमासंगबाट तीन सुका प्राप्त गरी
बुरुक्क गर्दै फुरुक परी कोटको मेलामा
पहिलो चोटि पुग्दा त्यहाँ त काटमार मात्र
अन्जान पशुहरुको चित्कार मात्र
रगतको पोखरीमा मान्छेहरु आहाल खेलेको देखें
बेलुकी घर फर्किंदा बाटोमा लडाईं
नसाको झोकमा रातो मुल फुटाउँदै
कृष्णे दाइले शेरे दाइको टुप्पी उखेलेको देखें
अनि मलाई रातो रंग पटक्कै मन परेन।

बनसन्नीलाई दिने बासेको भाले
देवी थानमा पुजा गर्ने
प्वाँख उम्रँदैका परेवा
माईंको थान र बाईको थानमा चढाउने
एक रंगको पाठी
पानीको मुल र शिद्धथानमा भोग दिने
एक वर्णको पाठो
यी सबैका शीर चटक्क छिनाएको दृश्य देखें
अनि मलाई रातो रंग मन परेन।

सत्चालीस देखि बाउन्न
बहुदलको उन्माद
मिदी र हुग्दीको दोभानमा
दल दलको भिडन्त
दलदल नै रातो देखें

तिहारमा सप्तरंगी लगाई पिङ खेल्न जाँदा
पिङ्को आडैको पोखरी भाइभाइको लडाईँले
रंग फेरी रातो बनेको देखें
अनि मलाई रातो रंग मन परेन।

बाउन्न देखि बैसट्ठी त झन् रगताम्मे
जवरजस्तिका राता वर्षहरु
राता नदी र खोलाहरुले सजाइएका
मुल फुटाउने गोलीहरु वर्सिएका वर्षहरु
गौरवमय भनिएका बलिदानीबाट सातो उड्यो
अनि मलाई रातो रंग मन परेन।

लाली गुराँस र सिम्रिकको नाममा
निर्दोष नागरिक रातो पोखरीमा डुबे
रातो लाल्टिनको सपनामा
कदम चालेकाहरु कैयौंका ढाल बने
जवानी जिन्निन नपाउँदै

हजारौं युवाहरु आफ्नै रगतको आहाल बने
अनि मलाई रातो रंग मन परेन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय