असोज,२८ मंगलबार
गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ५ आँपचौर हात्तिगौँडा निवासी घरबारबिहिन झिल्के दाई भनेर चिनिने शिवलाल बिकको परिवारलाई सामाजिक अभियान्ताहरुद्वारा सहयोग रकम जुटाएर सोही वडाको देउरालीमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।
गत बुधबार नवनिर्मित घरको परिसरमा एक कार्यक्रमकाबिच हस्तान्तरण गरिएको अभियान्ता तथा नेपाली काङ्ग्रेस गुल्मी काठमाडौं सम्पर्क समितिका सभापति कृष्णप्रसाद खरेलले जानकारी दिनुभयो ।
यसअघि बिक परिवार छिमेकिको घरमा आश्रय लिएर बसेको थियो । घरमुली शिवलाल बिककै मृत्यु भएर अरुको घरमा काजकिरिया गर्न समस्या भएपछि खाली खुल्ला ठाउँमा त्रिपाल टाँगेर बारबन्देज गरी किरिया कर्म सम्पन्न गरिएको थियो ।
सामाजिक दायित्व सम्झेर बिमल खरेल (बैदार), सुमन खरेल (द्वारे) रामु खरेल (मणिरत्न) जीवन खरेल(चौर) अर्जुन खरेल (मुख्खे) राजु अर्याल ( सराङ्ग) खगेश्वर अर्याल ( चिउरारुखे ),लिलामणी खरेल ( चौर), विजय खरेल (बिजु), सविन घिमिरे(जापान) लगायतले घर निर्माण अभियानमा विशेष सहयोग गरेको खरेलको भनाइ छ ।
घर निर्माण अभियानमा भौतिक रुपमै निरन्तर साथ दिने सित्तलनगर युवा क्लवमा आवद्द सबैलाइ सहयोगिहरुले धन्यवाद दिँदै क्लवलाइ रचनात्मक कामको लागि सधैँ तत्पर रहन आग्रह गरेका छन ।
खरेलले घरनिर्माण कार्यमा खटिने डकर्मी र सिकर्मीहरुलाइ खादा ओढाएर सम्मान गर्दै बिकलाइ घरको स्वामित्व प्रदान गर्नुभएको थियो ।
झण्डै ४ लाखको लागतमा निर्माण सम्पन्न भएर हस्तान्तरण गरिएको घरमा ६ जनाको परिवार बस्नेछ । बिकको घर निर्माण गर्नको लागि झिल्के दाइको घर निर्माण अभियान नै सन्चालन गरिएको थियो ।
अभियान्ताहरुद्वारा निर्माण गरि हस्तान्तरण गरिएको घरमा राज्यकोषबाट जस्तापाता बापतको खर्च भने बिल र भरपाइको आधारमा भुक्तानी दिइने सोही वडाका वडाध्यक्ष ऋषिश्वर अर्यालले बताउनुभयो ।



