गुल्मी मुसिकोट,
असोज १ बुधवार,
गुल्मीको मुसिकोट नगरपालिकाको महत्वपूर्ण सडक रातडाडा-मुसिकोट – गंगरे सडकको पेंगा खण्डमा कालोपत्रेको काम चलिरहेको छ |
मुसिकोट नगरपालिकाको पेंगा-धरमपानी-देउराली खण्डमा २ किलोमिटर कालोपत्रे गर्ने गरी शुभलक्ष्मी, सुर्योदय र सिंह जेभीले संयुक्त रुपमा निर्माणको जिम्मा पाएर हाल काम गरिरहेको इन्जिनियर दिपक बिकले जानकारी दिनुभयो ।
गत बैशाख २१ गते सम्झौता भएर असार मसान्तसम्म सम्पन्न गर्ने गरी काम सुरु गरिएपनि वर्षातको कारण तोकिएको समयमा काम सम्पन्न नभएपछि ६ महिना म्याद थप गरी कालोपत्रेको काम चलिरहेको इन्जिनियर बिकले बताउनुभयो ।
सडकको धरमपानी खण्ड ५०० मिटर र बांकी पेंगा र देउराली खण्डमा कालोपत्रे गरिने निर्माण व्यवसायी तुल्सी रायमाझीले बताउनुभयो । सडक डिभिजन कार्यालय पाल्पाले ३ करोड ८२ लाखमा टेण्डर आह्वान गरेपनि भ्याटसहित ३ करोड उनान्चालिस लाखमा निर्माण सम्झौता भएको व्यवसायी रायमाझीले बताउनुभयो
निर्माणको ५० प्रतिशत भौतिक र ३३ प्रतिशत आर्थिक प्रगति भएको बताइएको छ ।सोही सडकखण्ड अन्तरगत मानवबस्ती लक्षित कालोपत्रे गर्ने कार्यक्रम भएकोले अन्य खण्ड भने अहिले कालोपत्रेको काम नहुने व्यवसायी रायमाझीको भनाइ छ ।
सडक कालोपत्रे भएपछि सुरक्षित यात्राको अवसर प्राप्त हुने भएकोले निस्ती भन्ज्याङ्ग, राक्से, पौँदी अमराइ सडकखण्ड अन्तरगत १ किलोमिटर १४० मिटर सडक कालोपत्रे गरिसकिएको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले बताउनुभयो ।
सङ्घीय सरकार र मुसिकोट नगरपालिकाको साझेदारीमा यसै आर्थिक वर्षमा निर्माण गर्ने गरी सोही खण्डमा ६ किलोमिटर कालोपत्रेको लागि पहल गरिएको उहँले बताउनुभयो ।
यस वर्ष मुसिकोट नगरपालिकाको प्रत्येक वडाका असजिला ठाउँहरुमा ढलानका काम गरी यात्रालाइ सहज बनाउने गरी सर्वेको काम अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । यसै वर्ष वामीटक्सार बजार आसपासका महत्वपुर्ण सडकहरु कालोपत्रे र ढलानको प्रकृयामा रहेको बताइएको छ ।



