दशैँ नजिकिएसङ्गै मुसिकोट दरबारमा सरसफाइ, समितिद्वारा समयतालिका प्रकाशन

असोज, ४ शनिवार

मुसिकोट गुल्मी,

हिन्दु नेपालीहरुको महान पर्व बडादशैं नजिकिएसङ्गै ऐतिहासिक मुसिकोट दरबार क्षेत्रमा सरसफाइ गरिएको छ ।

देउराली कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडद्वारा संचालित मुसिकोट नगरपालिका वडानम्बर २ दरबार टोलमा रहेको परिवर्तनशिल महिला उधमी समुहका सदस्यहरुद्वारा सरसफाइ गरिएको सहकारीकी व्यवस्थापक साबित्रा विष्ट घिमिरेले जानकारी दिनुभयो ।

ऐतिहासिक दरबार क्षेत्रमा विशेष गरी विजया दशमीको अघिल्लो दिन नवमी तिथिमा भव्य मेला लाग्ने गर्दछ । मेलामा सुर्योदयसङ्गै देवीको दर्शन गर्नाले मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहेको छ । मेलामा बालबालिका युवादेखि वृद्दवृद्दासम्म ४ देखि ५ हजारको संख्यामा दर्शनार्थीहरुको भीड लाग्ने खड्ग देवता पूजा व्यवस्थापन समितिका सह सचिव श्रीराम पोख्रेलले बताउनुभयो ।

दरबारमा खड्गदेविको पूजा गरिन्छ । आस्थावानहरुले आफ्नो शुभ कार्यको लागि तथा अनिष्ट निवारणको लागि घण्टी, ध्वजा, भेटी, खुंडा, खुकुरी सङ्गसङ्गै पशु भाकल गर्ने गर्दछन । नवमीको दिन पाडा, रांगा, बोका, हांस, भेडा, कुभिण्डो, लगायतको भाकल गरेका पशुको बली दिइन्छ । परेवा भने शान्तिको प्रतिकको रुपमा उडाउने गरिन्छ ।

मुसिकोट दरबार तत्कालिन बाइसे चौबिसे राज्य अन्तरगत चौबिसे राज्यमा पर्ने ऐतिहासिक दरबार हो ।हाल सोही दरबारको नामबाट मुसिकोट नगरपालिकाको नामाकरण गरिएको छ ।

यस वर्ष आश्विन ६ गते बिहान ९ बजेर १३ मिनेटमा खड्ग पूजारम्भ दीप प्रज्ज्वलन गरी दुर्गापूजा घटस्थापना गर्ने, १४ गते कालरात्री पूजा गर्ने, १५ गते खड्गयात्रा र बलि महिष संग्राम गर्ने , १६ गते टीका साइत गरी लगाउने र २० गते पूर्णिमा ब्रत बस्ने भनी खड्गदेवता पूजा व्यवस्थापन समितिका सचिव ज्योतिष हरिप्रसाद घिमिरेद्वारा प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय