पोखरा – सत्ता साझेदार दलहरुबीच गठबन्धन नतोडिए गण्डकीबाट एमालेको राष्ट्रिय सभामा जाने बाटो बन्द हुने देखिएको छ ।

२७ सांसद र ६९ पालिकासहित २ हजार ५३८ मत भार रहेको एमालेलाई नेपाली कांग्रेस, माओवादीे केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीको मत एकै ठाउँमा जाँदा करिब ६ सय मत अपुग हुन्छ ।

नेपाली कांग्रेससँग मात्रै २ हजार १७८ मत छ भने माओवादी केन्द्रसँग ७९२ मत रहेको छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् ।

सांसदको ४८ र पालिकाको तर्फबाट दिएने मतको भार १८ कायम हुँदा यो अवस्था आएको हो । गण्डकीमा एमालेले २७ सांसद ६९ वटा पालिका रहेको जिकिर गरिरहेको छ ।

कांग्रेससँग १५ सांसद र ८१ पालिका,माओवादी केन्द्रसँग १२ सांसद र त्यति नै पालिका, राष्ट्रिय जनमोर्चासँग २ सांसद र ३ पालिका,एकीकृत समाजवादी र राप्रपासँग १– पालिका र ५ पालिकामा स्वतन्त्र प्रतिनिधि रहेका छन् ।

सत्ता साझेदारी गरिरहेका दीपक मनाङे पनि स्वतन्त्र नै हुन् । उनीसँग ४८ मतभार रहेको छ ।

यद्यपि,एमालेले सत्ता साझेदार दलले उम्मेदवार टुंग्याउनुअघि नै गण्डकीमा आफ्नोतर्फबाट उम्मेदवार घोषणा गरेको छ ।
प्रमुख प्रतिपक्षी दल एमालेले गण्डकीबाट खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ अर्जुनप्रसाद सुनामलाई उठाउने टुंगो लगाएको हो ।

यसअघि दलिततर्फ घोषित गोविन्दबहादुर नेपालीको नाम अन्तिम समयमा सच्याएर सिफारिस नै नभएका सुनामलाई केन्द्रले उम्मेदवार बनाएको छ ।

यता,गण्डकीबाट कांग्रेसले कमला पन्तलाई उम्मेदवार तोकेको छ । उनीनेपाली कांग्रेसको हालै सम्पन्न १४ औं महाधिवेशनमा सहमहामन्त्रीमा पराजित भएकी थिइन् ।

पन्त डा.शेखर कोइरालाको समूहबाट चुनावमा होमिएकी थिइन् । सत्ता साझेदार दलहरुबीच यसअघि जुन दलबाट राष्ट्रिय सभामा प्रतिनिधित्व भएको थियो,त्यो ठाउँबाट सोही दलको उम्मेदवार उठाउने सहमति भएपनि नेकपा एकीकृत समाजवादीले गण्डकीबाट आफ्नो उम्मेदवार घोषणा गरेको छैन ।

उसले आफ्नो भागका सबै ४ उम्मेदवारको घोषणा गरिसकेको छ । यहाँबाट तत्कालीन एमालेबाट सदस्य बनेकी शान्ति यतिबेला नेकपा ९एकीकृत समाजवादीमा रहेकी छन् । नेकपा एसको १८ भोटमात्रै रहेकोले गण्डकीमा उसले दावेदारी छाडेको हो ।

नेकपा एसले गण्डकी दावी नगरेपछि यहाँको बाँकी २ पदमा स्वभाविक रुपले माओवादीको भागमा परेको छ । माओवादीले उम्मेदवार छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई सुम्पेको छ ।

प्रचण्डले मंगलबारमात्रै उम्मेदवार तय गर्ने भएका छन् । राष्ट्रिय जनमोर्चाले यहाँ २ सभासद र ३ स्थानीय तह गरी ५जना प्रतिनिधिमात्रै भएकाले लुम्विनीमा भाग खोज्ने तयारी गरेको छ ।

गण्डकीबाट ३ सहित १९ राष्ट्रिय सभा सदस्यको लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । कांग्रेसले ६ सिट, माओवादी र नेकपा एकीकृत समाजवादीले ५ र ५ सिट, जसपाले २ सिट र राष्ट्रिय जनमोर्चाले एक सिट लिने गरी भागबन्डा गरेका छन् ।

११ सिटमा सत्ता गठबन्धनकै सदस्य छन् भने केन्द्रमा भएको सहमति अनुसार तत्कालीन एमालेले जितेको थियो ।

गण्डकीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दीननाथ शर्मा,खिमबहादुर विक र शान्ति अधिकारीको आउँदो असारमा पदावधि सकिने भएसँगै त्यही सिटको लागि चुनाव हुन लागेको हो ।

दीननाथ र बिक माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै सदस्य बनेका थिए । तत्कालीन एमालेबाट सदस्य बनेकी शान्ति यतिबेला नेकपा९ एकीकृत समाजवादीमा रहेकी छन् । दीननाथ खुला, विक दलित र शान्ति महिलाबाट सांसद बनेका हुन् ।

गोलाप्रथा गर्दा उनीहरुको कार्यकाल ४ वर्षे भएको थियो । जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईले जिल्ला निर्वाचन कार्यालयमा बसेर आउँदो माघ १२ गते राष्ट्रियसभा सदस्यको चुनावको व्यवस्थापन मिलाएका छन् ।

चुनावमा गण्डकीका ६९ जना प्रदेश सांसदसहित ८५ पालिकाका प्रमुख र उपप्रमुखहरुले मतदान गर्नेछन् ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रदेश सांसद बनेका कृष्ण थापा पदमुक्त भएपछि गण्डकीमा सांसदको संख्या ५९ मा झरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय